+
+
निजामती विधेयक :

कर्मचारीको उमेरहद ६० वर्ष बनाउन प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १८:१७

२१ फागुन, काठमाडौं । सरकारले सरकारी कर्मचारीको उमेरहद ६० वर्ष कायम गर्न प्रस्ताव गरेको छ । संसदमा सोमबार दर्ता भएको निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०मा  निजामती कर्मचारीको उमेर हद बढाउन प्रस्ताव गरिएको हो ।

अहिले कर्मचारी अनिवार्य अवकाशको उमेरहद ५८ वर्ष उमेर हद लागु छ । अब ऐनबाटै ६० वर्षे उमेर हदको व्यवस्था गर्न प्रस्ताव गरिएको हो ।

‘निजामती कर्मचारीले साठी वर्ष उमेर हद पूरा भएपछि अनिवार्य अवकाश पाउनेछ,’  प्रस्तावित विधेयकमा भनिएको छ । तर, ऐन प्रारम्भ भएको आर्थिक वर्षभरि निजामती कर्मचारीको उमेर हद ५८ वर्ष नै कायम रहने विधेयकमा प्रस्ताव छ ।

अब स्वास्थ्य सेवामा पनि यही उमेर हद लागु हुनेछ । यसअघि स्वास्थ्य सेवा बाहेकमा मात्रै ६० वर्षे उमेर हद प्रस्ताव भएको थियो ।

ऐन अनुसार कर्मचारीको निवृत्तिभरण पाउने अवस्था र उमेरको हद ५५ वर्ष पुरा भएका कर्मचारीहरुले स्वेच्छिक अवकाश लिन पाउनेछन् । ६० वर्ष नानाघ्ने गरी बढीमा ५ वर्षसम्मको सेवा अवधि थप गरी निवृत्तिभरण्का लागि जम्मा सेवा अवधि कायम गर्ने प्रस्ताव विधेयकमा गरिएको छ ।

विधेयकमा उपदानको लागि पाँच वर्ष वा सोभन्दा बढी सेवा गरेको तर निवृत्तिभरण पाउने अवधि नपुगेको निजामती कर्मचारीले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी पदबाट हटाइएमा विभिन्न दरमा उपदान पाउने उल्लेख छ ।

२० वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेको निजामती कर्मचारीले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी पदबाट हटाइएमा मासिक निवृत्तिभरण आजीवन पाउने विधेयकमा प्रस्ताव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?