+
+

महिला लिगको पहिलो चरण सुर्खेतमा हुने, ७ प्रदेशले प्रतिस्पर्धा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते ९:५९

२२ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा गर्ने भएको छ ।

सोमबार बसेको एन्फाको बैठकले महिला लिग फुटबलको आयोजना बारे योजना बनाउँदै मिति सार्वजनिक गरेको हो ।

एन्फाको नियमित साधारण सभाले पारित गरेको वार्षिक क्यालेन्डर अनुसार एन्फाले दुई चरणमा महिला फुटबल लिग गर्दैछ ।

जसमा पहिलो चरणको खेल २३ चैत देखि कर्णाद्यी प्रदेशको सुर्खेतमा सुरु हुने एन्फाले जनाएको छ ।

एन्फा महासचिव किरण राईले यो लिगको पहिलो चरण रहेको र मुख्य लिगका लागि यो प्रतियोगिता छनोटको रुपमा रहने जानकारी दिए ।

सुर्खेतमा हुने प्रतियोगितामा सात प्रदेशको टिमले भाग लिनेछन् । यो सिंगल राउण्ड रोविनका आधारमा हुने र शीर्ष तीन टोली मुख्य लिगमा छनोट हुने राईले बताए ।

यस बारे विस्तृत विवरण र खेलतालिका केही समयमा सार्वजनिक हुने राईले जानकारी दिए ।

एन्फाले आयोजना गर्ने प्रतियोगितामा कर्णाली प्रदेश फुटबल संघ र सुर्खेत जिल्ला फुटबल संघ सहआयोजकका रुपमा रहनेछन् ।

सोमबार सातै प्रदेश फुटबल एशोसिएसनसँग छलफल गरेपछि एन्फाले प्रतियोगिता गर्ने मिति तय गरेको हो ।

आगामी मे-जुनमा हुने मुख्य लिगमा पहिलो चरणबाट छनोट भएका ३ र तीन विभागीय टोली गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

एन्फाले सहभागी टोलीलाई आवश्यक तयारी र टिम छनोटका लागि नगद एक लाख प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै कर्णाली खेलकुद विकास समितिबाट पनि आर्थिक सहयोग माग्ने निर्णय गरेको छ । कर्णाली खेलकुद विकास परिषद्ले प्रतियोगिताको लागि समन्वय गर्ने एन्फाले जनाएको छ ।

यसैगरी एन्फाले च्यासलमा रहेको च्यासल रंगशालमा महिला युथ इलाइट एकेडेमी स्थापना गर्ने निर्णय पनि गरेको छ । जहाँ महिला यू-१६ टिमका खेलाडी र टिममा नपरेका अन्य खेलाडीहरु छनोट गरेर राखिने एन्फा महासचिव किरण राईले जानकारी दिए । ‘मिसन फिफा वुमन्स विश्वकप २०२७/३१ को तयारी स्वरुप यो एकेडेमी स्थापना गर्न लागिएको हो । यो राष्ट्रिय टिमको ब्याकअफ तयार पार्ने स्थान पनि हुनेछ,’ राईले भने । त्यसमा ३० देखि ४० खेलाडी छनोट गरेर राख्ने राईले जानकारी दिए ।

यस्तै रौतहटमा पनि महिला एकेडेमी सञ्चालन गर्ने त्यसमा यू१४ लेभलको ३० खेलाडी राख्ने एन्फाको योजना छ ।

यस्तै एन्फाले धरान, बुटवल र मकवानपुरको सिस्नेरीस्थित बात्सला देवी सेकेण्डरी स्कुलमा पुरुष फुटबल सञ्चालन गर्ने विषयमा पनि छलफल गरेको छ । हरेक एकेडेमीमा करिब ३० खेलाडी राख्ने एन्फाको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?