+
+

मन्त्रालयलाई एन्फाको जवाफ : पदाधिकारी नगएको भए देशको बेइज्जत हुन्थ्यो

नमिता दाहाल नमिता दाहाल
२०८० चैत २३ गते १७:३८

२३ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पदाधिकारी विदेश पठाएकोबारे राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयलाई जवाफ पठाएको छ ।

एन्फाले पदाधिकारी नपठाएको भए देशकै बदनाम र अन्तर्राष्ट्रिय समुदायमा समेत नराम्रो असर पर्ने भन्दै लिखित स्पष्टीकरण राखेप र मन्त्रालयमा बुझाएको हो । एन्फाले चैत २० गते राखेप र खेलकुद मन्त्रालयलाई ३ बुँदे स्पष्टीकरण दिएको थियाे ।

नेपाल र बहराइनको विश्वकप छनोट अन्तर्गतको खेलमा एन्फाबाट ठूलो संख्यामा पदाधिकारी विदेश गएपछि मन्त्रालयको ध्यानाकर्षण भएको थियो । राखेपले खेलकुद ऐन, २०७७ को बुँदा २८ को (ञ) मा टेकेर खेलकुद ऐन विपरीत पदाधिकारी विदेश पठाएको भन्दै एन्फासँग स्पष्टीकरण मागेको थियो ।

सोही विषयमा मन्त्रालयले छानबिन गर्न राखेपलाई आग्रह गर्दै फागुन ३० गते पत्राचार गरेको थियो । जस अनुसार राखेपले पहिलो चरणमा एन्फालाई स्पष्टीकरणको लागि पत्र पठायो । जसको जवाफ झाराटारे आएको भन्दै राखेपले यस विषय उपर कुनै पनि कारबाही गरेन ।

त्यसपश्चात पुनः सोही विषयमा मन्त्रालयबाट चैत १२ गते राखेपलाई स्पष्टीकरण र कानुन बमोजिम कारबाही गर्न पत्राचार भएको थियो ।

जसलाई पछ्याउँदै राखेपले चैत १५ गते ३ दिनको समय सीमा तोकी एन्फासँग स्पष्टीकरण माग गरेको थियो । जसको जवाफ पाँचौं दिनमा एन्फाले ३ बुँदामा लेखेर पठाएको हो ।

जवाफमा एन्फाले लेखेकाे छ- ‘राष्ट्रिय खेलाडीहरूको समूह बाहेक पदाधिकारी बहराइनतर्फ पठाउनुपर्ने बाध्यात्मक अवस्था आइपर्ने र सो प्रतियोगितामा आयोजना र सञ्चालन गर्दा फिफा र एएफसीको मापदण्ड अनुसारको आयोजक राष्ट्रको प्रतिनिधिको उपस्थिति रहनुपर्ने भएको हुँदा संघले सबै पदाधिकारीको जिम्मेवारी तोकी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्‌मा स्वीकृति तथा जानकारीको लागि पत्राचार गरिएकोमा युवा तथा खेलकुद मन्त्रीज्यूको सचिवालयमा भएको छलफल पश्चात संघले सिफारिस गरेका ९ मध्ये १ जना पदाधिकारी हटाइ ८ जना पदाधिकारीलाई जिम्मेवारी सहित मित्र राष्ट्र बहराइन पठाउन परिषद्‌मा समन्वय गरिएको थियो । सबै पदाधिकारीको हवाई भाडा, भिसा र बसोबास लागतको सम्पूर्ण तयारी पूरा भइसकेको परिस्थितिमा स्वयम् आफू आयोजक रहने कुराको जिम्मेवारी बहन गर्नुपर्ने पदाधिकारीलाई त्यसतर्फ नपठाउँदा थप देशकै बदनाम हुने र अन्तर्राष्ट्रिय समुदायमा समेत नराम्रो असर पर्ने भएकाले ८ जना पदाधिकारी बहाराइन पठाइएको हो ।’

चैत ८ देखि बहराइनमा भएको फिफा विश्वकप छनोटको लागि गएको नेपाली टोली मलेसियामा केही दिन अघि पुगेर प्रशिक्षण र १ अभ्यास खेल पनि खेलेको थियो । जसका क्रममा ९ जना एन्फा पदाधिकारी मलेसिया तथा ८ जना पदाधिकारी उतैबाट बहराइन समेत प्रस्थान गरेका थिए ।

मलेसिया भ्रमणमा एन्फाका उपाध्यक्ष दीपक खतिवडा, केन्द्रीय सदस्य महेन्द्र क्षेत्री, प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधर, भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठ र अफिसियलहरू थिए ।

त्यसबाहेक एन्फाले खेलाडीको हकमा भने मलेसियाबाट सिधै बहराइन जाने भएकाले ऐन (झ) अनुरूप स्वीकृति लिन असम्भव रहेको स्पष्टीकरणमा उल्लेख गरेको छ ।

त्यस्तै नेपाल सरकार र संघलाई उक्त पदाधिकारीको आर्थिक भार नपर्ने र मित्र राष्ट्रहरूबाट नै व्यहोर्ने पत्रमा उल्लेख गरिएको छ । स्पष्टीकरणसँगै भविष्यमा संघबाट ऐन तथा कानुन कार्यन्वयनको लागि प्रतिबद्धता समेत व्यक्त भएको छ ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?