+
+

परराष्ट्रमन्त्री नहुँदा रुसी विदेशमन्त्रीसँगको टेलिफोन वार्ता अन्योलमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते २०:२८

२२ फागुन, काठमाडौं । रुसी विदेशमन्त्री सर्गेइ लावरोभसँग परराष्ट्रमन्त्री तहमा आगामी बिहीबार हुने तय भएको टेलिफोन वार्ता अन्यौलमा परेको छ । रुसी सेनामा भर्ती भएका नेपाली, युक्रेन युद्धमा मारिएका नेपालीहरूको शव फिर्ता र क्षतिपूर्तिलगायत विषयमा छलफल गर्न तय भएको टेलिफोन वार्ता सत्ता गठबन्धन परिवर्तन भएसँगै अन्यौलमा परेको हो ।

परराष्ट्र मन्त्रालयले यस विषयमा गृहकार्य भइरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव अमृतबहादुर राईले यस विषयमा प्रधानमन्त्री कार्यालयलाई जानकारी गराइसकेको र पूर्वनिर्धारित समयअनुसार वार्ताको तयारी गरिरहेको बताए ।

‘हाम्रा मन्त्री र रुसी समकक्षीबीच टेलिफोन संवादका लागि समय मिलाइ सकिएको छ । यस विषयमा प्रधानमन्त्री कार्यालयसँग छलफल गरेर गृहकार्य भइरहेको छ,’ प्रवक्ता राईले भने ।

परराष्ट्र मन्त्रालय र मस्कोस्थित नेपाली दूतावासको लामो प्रयासपछि रुसी विदेशमन्त्री सर्गेइले नेपाली समकक्षीसँग ७ मार्च अर्थात २४ फागुनमा मा टेलिफोन वार्ता गर्ने तय भएको थियो । यस विषयमा छलफल गर्न आफैं रुस जाने इच्छा देखाएका परराष्ट्रमन्त्री एनपी साउदले समकक्षी सर्गेइसँग लामो समयदेखि संवादको प्रयास गरिरहेका थिए ।

त्यसका लागि उनले नेपालमा रहेको रुसी दूतावास र मस्कोमा रहेको नेपाली दूतावासमार्फत समेत प्रक्रिया अगाडि बढाएका थिए । तर रुसले उनलाई स्वागत गर्न तयार भएको थिएन भने अन्तिम समयमा टेलिफोन वार्ताका लागि तयार भएको थियो ।

टेलिफोन वार्ताका लागि समय तय भइसकेपछि गठबन्धन परिवर्तन भएका कारण मन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्टमन्त्री साउदलाई बर्खास्त गरेपछि वार्ता अन्यौलमा परेको हो ।

रुसी सेनामा रहेका नेपालीहरुलाई सकुशल फिर्ता, घाइतेको उपचार, ज्यान गुमाएका परिवारका सदस्यलाई राहत र भर्ना रोक्ने लगायत विषयमा द्विपक्षीय टेलिफोन वार्ताका लागि केही दिनअघि समय निर्धारण भएको थियो ।

नेपालले आफ्ना नागरिकलाई सेनामा भर्ती नलिन, भर्ती भएकालाई फिर्ता पठाउन, मृत्यु भएकाको शव नेपाल पठाइदिन र अंगभंग भएकाको विवरणका साथै क्षतिपूर्ति समेत उपलब्ध गराउन अनुरोध गर्दै आएको छ । तर अहिलेसम्म रुससँग नेपालले प्रत्यक्ष संवाद गर्न सकिरहेको छैन ।

परराष्ट्रमन्त्री साउदले युगान्डा भ्रमणका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग यस विषयमा अनुरोध गरेका थिए भने नेपालस्थित रुसी राजदूतलाई पनि बोलाएर आग्रह गरेका थिए ।

नेपाल सरकारलाई रुसी रक्षा मन्त्रालयले पठाएको विवरणअनुसार अहिलेसम्म रुसी सेनामा कार्यरत १२ जनाको ज्यान गएको छ । त्यस बाहेक बाँकी कति संख्यामा नेपालीहरू रुसी सेनामा कार्यरत छन् र उनीहरूको अवस्था के छ भन्ने बारेमा जानकारी नेपालसँग छैन ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर विभागमा भने २०० भन्दा बढीका परिवारले उद्धारका लागि आग्रह गर्दै निवेदन दिएका छन् ।

साथै, केही समयअघि मात्रै रुसले युक्रेनसँगको युद्धमा मारिएका नेपालीका परिवारलाई दिने क्षतिपूर्ति दूतावासमार्फत उपलब्ध गराउन तयार भएको थियो । मृतकका परिवारका सदस्य रुस पुगेरै क्षतिपूर्ति लिनुपर्ने बताइरहँदा परराष्ट्र मन्त्रालयको पहलपछि रुस दूतावासमार्फत क्षतिपूर्ति दिन तयार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?