+
+

प्रदीप-रविन्द्रको जोडीले तय गरेको ‘जात्रा’देखि ‘महाजात्रा’सम्मको यात्रा

समर्पणश्री समर्पणश्री
२०८० फागुन २४ गते १७:५५

जात्रामा मानिसहरूको घुइँचो त देखिएकै थियो । निर्देशक प्रदीप भट्टराई आफ्नो डेब्यु फिल्ममै ‘जात्रा’ मनाउने दर्शकको घुइँचो देखेपछि भावुक बने ।

‘प्रदीप, बल्ल पो जात्रा भयो,’ त्यो देखेर निर्देशक मनोज पण्डितले धाप मार्दै  भने ।

प्रदीपलाई पहिलो फिल्ममै मीठो स्वाद पर्‍यो । स्वादले दर्शक र उनी दुवै अघाएका थिएनन् । त्यसपछि सहकर्मी  (निर्माता) रविन्द्रसिंह बानियाँसँग मिलेर ‘जात्रैजात्रा’को डिजाइन गरे ।

‘जात्रा’मा हाँसेका दर्शकहरू सिक्वेलमा पनि हाँसे । फिल्म हलबाट निस्किनेको भीडबाट एकसाथ गुञ्जिन थाल्यो- ‘जीवन जात्रा हो । शास्त्रमा लेख्नलाई छुट्या मात्र हो ।’

‘प्रदीपलाई फिल्म फाप्छ,’ फिल्म नगरीमा कहिलेकाहीं शुभचिन्तकको चिन्ता सुनिन्छ । तर प्रदीप भन्छन्, ‘फापेको होइन, जीवन धान्ने काममा संवेदनशील बनेका हौं ।’

उनका कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ पनि यसमा सही थाप्छन् । उसो त प्रदीप-रविन्द्रको फिल्ममा दर्शकहरू हाँस्छन्– कसैलाई नबिझ्ने गरी । उनीहरूले हँसाउने ‘कन्टेन्ट’ले मीठो व्यंग्य गर्छ, कसैलाई नदुखाउने गरी।

‘जात्रा’को कथाक्रम ‘जात्रैजात्रा’मा सकिएको थिएन । त्यसकारण उनीहरूले ‘महाजात्रा’को उद्घोष गरे । अब ‘महाजात्रा’ मनाउने दर्शकहरू हलसम्म आउने दिन धेरै छैन । दिन गन्तीमा बसिरहेका प्रदीप र रविन्द्रलाई एक बिहान हामीले पुराना दिनतर्फ फर्कायौं । ‘जात्रा’देखि ‘महाजात्रा’सम्म कस्सिएर लागिरहेका यो जोडीलाई हामीले सोधेका थियौं- तपाईंहरूको सहकार्य कसरी जुरेको थियो ?

प्रदीपले रविन्द्रलाई पुलुक्क हेरे, र मुसुक्क हाँस्दै भने, ‘पहिला तपाईं नै भन्नुस् ।’

‘जात्रा’मा जोडिनुअघि रविन्द्र र प्रदीप फरक पृष्ठभूमिमा थिए । पृष्ठभूमिको कथाबाट रविन्द्र प्रसंग जोड्छन् । रंगमञ्चमा मञ्चन भइसकेको नाटक ‘टलकजंग भर्सेस टुल्के’लाई अभिनेता खगेन्द्र लामिछानेले फिल्म बनाउने योजना बुने । ‘लुट’ बनाएर उधुम मच्चाइसकेका निर्देशक निश्चल बस्नेतले यो कथा मन पराए ।

रविन्द्र, खगेन्द्र र निश्चलले प्रोड्युसर खोजे । प्रोड्युसर भेटिएर पनि शर्त मिलेन । उनी बाहिरिए । फिल्म त बनाउनु नै थियो । हक्की खगेन्द्रले रविन्द्रलाई भने, ‘ल, म लेखक भएँ। निश्चल निर्देशक । अनि तिमी प्रोड्युसर ।’

‘प्रोड्युसर हुँदा के गर्ने भन्ने पनि थाहा थिएन,’ अचानक निर्माता बनाइएका रविन्द्र त्यो क्षण सम्झन्छन्,’ ‘त्यसपछि घरको लालपूर्जा लिएर झोलामा बोकेर हिंडें ।’

एकजना साथीलाई लालपूर्जा बुझाउँदै रविन्द्रले पैसा मागे, ‘भाइ यो राख । फिल्मबाट पैसा उठ्छ । यदि उठेन भने यो तिम्रो नाममा पास ।’

त्यही समयदेखि अभिनेता रविन्द्रले निर्माताको बाटो पनि रोजे । फिल्म चल्यो, आम्दानी भयो । त्यसपछि खगेन्द्रकै प्रोजेक्ट ‘पशुपतिप्रसाद’मा उनले काम गरे ।

‘त्यसपछि बल्ल मेरो उहाँसँग भेट भयो,’ रविन्द्र प्रदीपतर्फ इशारा गर्दै भन्छन् । ‘त्यही भेट हाम्रो पहिलो चाहिं हैन रहेछ,’ प्रदीप संवादलाई थप रोचक बनाउँदै भन्छन् ।

‘खासमा उहाँले एक सय एक नामको टेलिसिरियल बनाउनुभएको थियो । त्यसमा मलाई खेल्न बोलाउनुभएको थियो । खेलें पनि । तर प्रसारण भएन,’ रविन्द्र थप्छन्।

यो २०६३-६४ सालको कुरा हो । प्रदीप त्यतिबेला महसञ्चारमा महजोडीका ‘खम्बा’ थिए । सुटिङका क्रममा प्रदीपलाई झ्यालभित्र पस्ने चोरको भूमिका गर्ने कलाकार चाहिएको थियो । कलाकार खोजिरहेका बेला एकजनाले सुझाए, ‘मेरो एकजना मान्छे छ, उसले गर्छ ।’

ती कलाकार रवlन्द्र थिए । महसञ्चारमा काम गर्न पाउनु उनको लागि खुसीको कुरा थियो । ‘उहाँले त्यो रोल क्या मज्जाले गर्नुभएको थियो । तर मैले रवlन्द्र सिंह बानियाँ भनेर चाहिं चिनेको थिइनँ,’ प्रदीप भन्छन् ।

वर्षहरू बित्दै गए । ‘टलकजंग भर्सेस टुल्के’बाट प्रदीपले रविन्द्रलाई फलो गरिरहेका थिए । ‘टुल्के’ बनाउने प्रोड्युसरका रुपमा रवीन्द्रलाई चिन्थे प्रदीपले ।

प्रदीपले ‘जात्रा’ बनाउने भए । उनलाई २७/२८ वर्षको डाक्टर पढेको जस्तो देखिने पात्र चाहियो । रविन्द्रको मामाले प्रदीपलाई त्यो क्यारेक्टका लागि भाञ्जा सिफारिस गरे । ‘त्यही बेला मलाई थाहा भयो, प्रोड्युसर रविन्द्र र मेरो टेलिसिरिलयमा चोरको भूमिका गर्ने मान्छे एकै रहेछन्,’ प्रदीप हाँस्दै सुनाउँछन् ।

त्यसदिनदेखि ‘जात्रा’मा रविन्द्रले निर्माताका रुपमा सहकार्य सुरु गरे ।

****

‘जात्रा’को कथा पहिलो स्क्रिप्टमा अर्कै थियो । निर्देशक मनोज पण्डितसँग भेट भएपछि त्यो स्क्रिप्ट फाल्नुपर्‍यो उनीहरूले । ‘प्रदीपले हामीलाई स्क्रिप्ट सुनाउनुभयो । हामी खुबै हाँस्यौं । अहिले बुझ्दा त्यो रमाइलै रमाइलो मात्र रहेछ,’ रविन्द्र सुनाउँछन् ।

कलाकार सबै फाइनल थिए । सुटिङमा जान केही दिन मात्र बाँकी थियो । ‘जानुअघि यो स्क्रिप्ट मनोज पण्डितलाई देखाउन मन लाग्यो,’ रविन्द्र भन्छन् । स्क्रिप्ट पढेर प्रतिक्रिया दिनका लागि मनोजले उनीहरूलाई घरमा निम्त्याए । प्रदीपलाई लागेको थियो, ‘यतिको स्क्रिप्ट खत्रै भन्लान् ।’

तर अपेक्षा विपरीत भयो । मनोजले कठोर समीक्षा गरे, ‘यो स्क्रिप्ट साह्रै कमजोर भयो । डाइलगभन्दा केही छैन । ट्रिटमेन्ट केही छैन । तपाईंबाट यस्तो अपेक्षा थिएन ।’

प्रदीप रिसले रातोपिरो भए । ‘बल्लबल्ल एउटा प्रोड्युसर पाएको । त्यो पनि भाँडिने भयो, कस्तो मान्छेलाई स्क्रिप्ट देखाइएछ,’ प्रदीपलाई औडाहा भयो ।

एक बिन्दुमा पुगेपछि प्रदीप मनोजको कुराबाट ‘कन्भिन्स्ड’ भए । मनोजले कागजमा ८-१० वटा प्रश्न लेखेर दिंदै भने, ‘मलाई फिल्मबाट यी प्रश्नको उत्तर दिने कोसिस गर्नुस् ।’

प्रश्नको जवाफ खोज्ने क्रममा उनीहरूले कथालाई विभिन्न तरिकाले सोचे । नयाँ आइडिया लगेर मनोजलाई सुनाउँथे तर मनोज भन्थे- ‘यसमा जात्रा भएन।’

निकै पटकको प्रयत्नपछि एकदिन डराइडराइ तीन जना पसल गर्ने पात्रको आइडिया लिएर गए । प्रदीप सम्झिन्छन्, ‘झमझम पानी परिरहेको थियो । त्यो पनि मन पराउँछन् भनेर सुनाएको हैन । सुनाइदिऊँ न भनेर डराइडराइ वानलाइन आइडिया भनें । त्यसपछि उहाँले खुसी हुँदै भन्नुभयो- अब बल्ल जात्रा हुने भयो ।’

नयाँ कथा उनीहरूले १५ दिनमै लेखेर सिध्याए । तोकिएको सुटिङलाई उनीहरूले सारे । बाँकी प्रोड्युरहरूले ‘बेइज्जत हुन्छ’ भन्दै नसार्न अनुरोध गरे । ‘भोलि फिल्म झुर बनाएर सबैको अघि बेइज्जत हुनु भन्दा १०-१५ जनाको अगाडि बेइज्जत हुनु ठीक,’ प्रदीपले सम्झाए ।

कलाकारमा पनि विपिन कार्कीबाहेक धेरै बदलिए । यसरी ‘जात्रा’ हलमा जात्रामय बन्यो । फिल्मले ‘इमोस्नल सिचुएसन’मा ब्ल्याक कमेडीमार्फत आम मान्छेको कथा भन्यो ।

त्यसपछि प्रदीप-रविन्द्रले ‘जात्रैजात्रा’ र ‘महापुरुष’ हुँदै ‘महाजात्रा’को बाटो तय गरे । ‘यो यात्रा अब टुंगिनेवाला चाहिं छैन है,’ प्रदीप मुसुक्क हाँस्दै रविन्द्रतर्फ हेर्छन् । रविन्द्र पनि सहमतिको भावमा मुस्कुराउँदै टाउको हल्लाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?