+
+
फिल्म :

महाजात्रा : विकृत राजनीतिको विम्ब

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०८० चैत १५ गते १९:५५

२०४५ सालतिर म काठमाडौं झरेको हुँ कलेज पढ्न । फिल्मको बहुत सौखिन । मैतिदेवीमा कविता, कस्तुरी, कमल, कान्ति दिदीहरु, केविन, किशोर भाइ र अरु धेरै साथीहरुसँग फुर्सद मिल्यो कि फिल्म हेर्न सिनेमा हलतिर दौडिहाल्ने ।

कुमारी, विश्वज्योति, रञ्जना, जयनेपाल चल्तीका सिनेमा हल थिए त्यतिबेला । पछि गोपीकृष्ण हल बन्यो । एउटै भवनमा दुईवटा सिनेमाघर– गोपी र कृष्ण । त्यसैताका बनेपामा मयूर सिनेमा हल खुल्यो । राजेश हमालको पहिलो फिल्म ‘युगदेखि युग’सम्म मयूर हलमा पुगेर हेरेको सम्झना ताजै छ । रामकृष्ण कायस्थ र किरण श्रेष्ठ हुनुपर्छ साथी त्यतिबेला ।

रामकृष्ण, किरण र मैले काठमाडौंको विश्वज्योति, कुमारी, रञ्जना र जयनेपाल सिनेमा हलमा निक्कै फिल्म हेरेका छौं । त्यहीताका भृकुटीमण्डपका साना भिडियो हलमा मिथुन चक्रवर्तीको गुरु, वक्ती कि आवाज जस्ता फिल्म नेपालमा चलेको पहिलो दिन, पहिलो शो हेरेको मजा अहिलेसम्म पनि स्मरणीय लाग्छ ।

अब कुरा ‘महाजात्रा’को,

नेपालको राजनीति भ्रष्टाचारले थिलथिलो भएको बेला प्रदीप भट्टराईले ‘महाजात्रा’ ल्याएका छन् । र, ‘महाजात्रा’मा पुण्यप्रसाद (हरिवंश आचार्य) भ्रष्टाचारमा लिप्त राजनीतिज्ञको अवतारको रुपमा अवतरीत भएका छन् सिनेमाको पर्दामा ।

‘महाजात्रा’ एउटा कथा हो । तर नेपाली राजनीतिमा ‘महाजात्रा’को त्यही कथा तथ्यको कवचमा जनताको दाइँ गर्न उद्धत देखिएको छ । पुण्यप्रसादले इमान बेचेर पार्टी चलाउँदै राजनीति गरेको तथ्य नेपाली राजनेताहरुमा मिल्छ कि मिल्दैन त्यसको छिनोफानो यो लेखकले गर्न सक्दैन । अनि राजनीतिमा इमानको खडेरी परेको सत्यलाई पनि यो लेखकले हिंड्न गर्न सक्ने सामर्थ्य राख्दैन ।

पुण्यप्रसादको राजनीतिमा पैसाले बटुलिएको लोकप्रियता, प्रशंसा र इमान, सत्यको बलेसीबाट झरेको तप्केनीले क्रमशः नङ्ग्याउँदै लगेको कथासँग नेपाली राजनेताहरुको जीवनीको मेल एउटा संयोग मात्र पक्कै होइन, यो कुरा ‘महाजात्रा’ले जसरी निर्धक्क बोलेको छ, यो लेखक पनि त्यसमा सर्मथन गर्ने सामर्थ्यमा भने कमजोर छैन ।

फणिन्द्र (विपिन कार्की)को पारिवारिक झमेला, जोयस (रविन्द्रसिंह बानियाँ) को आमाको सपना र मुन्ना (रविन्द्र झा)को श्रीमतीको अवस्थाले उनीहरुलाई अपराधको दलदलमा भसाएको छ । अनि आर्थिक जर्जरमा अघि बढेको नेपाली समाजमा तमाम मध्यम वर्गीय परिवारले भोगेको पीडाको प्रतिनिधित्व गरेका छन्, उनीहरुले ‘महाजात्रा’मा ।

राजाराम पौडेल र शिशिर बाङ्देलको दलाल र गुण्डाको अवतार पनि नेपाली समाजमा बाँचेका पात्रहरु नै हुन्, जसले राजनीतिज्ञलाई अपराध र तस्करीको भूमरीमा नराम्रोसँग घुमाइ रहेको छ । समाज परिर्वतनको सपना साँचेर युवावस्थामै राजनीतिमा प्रवेश गरेका पुण्यप्रसादलाई तीनै राजाराम र शिशिर बाङ्देल जस्ता चरित्रले मानसिक रुपमा परिवर्तन गर्दै इमान्दार अपराधी बनाउन सफल बनेको देखिन्छ ।

आपराधिक मनोवृत्ति जन्मजात उपहार पक्कै होइन । आमाको गर्भमा रहँदाको परिवेशले मानिसलाई प्रभाव पार्दैन तर जन्मपछिको पारिवारिक पृष्ठभूमि र विशेषगरी सामाजिक परिवेशले मानिसलाई कस्तो बनाउँछ भन्ने कुराको छिनोफानो गर्छ । त्यसमाथि आर्थिक जर्जरताले सामाजिक पृष्ठभूमि अनुसारअघि बढ्न थप प्रेरित गरिरहन्छ । ‘महाजात्रा’को कथाले बोकेको सन्देश यही नै हो ।

कथा, कल्पनाको साहित्यिक कलेवर मात्र हैन, यथार्थको सुन्दर प्रस्तुति पनि हो । धेरै मानिसले कथाभित्र काल्पनिक मिठास मात्र खोजिरहेका हुन्छन् । तर हरेक कथाले सामाजिक यथार्थतालाई प्रस्तुत गरिरहेको हुन्छ । त्यो प्रस्तुति पीडादायी हुनसक्छ, रोमाञ्चक हुनसक्छ, आपराधिक हुनसक्छ वा मनोरञ्जनात्मक हुनसक्छ ।

‘महाजात्रा’मा पीडा, अपराध, मनोरञ्जन, रोमाञ्चक सबै परिकारसहितको तथ्यपरक सामाजिक यथार्थपरक कथा बुनिएको छ । र, त्यही तथ्य कथामा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, शिशिर बाङ्देल, अर्जुनजंग शाही, वर्षा राउत, दिव्यदेव जस्ता कलाकारहरुले विभिन्न पात्रहरुको भूमिकामा आफूलाई न्यायपूर्ण ढंगले प्रस्तुत गरिरहेका छन् ।

‘महाजात्रा’ सुरु भएपछि धेरैले हरिवंश आचार्यको आलोचना गरेको सुनियो । प्रदीप भट्टराईले हरिवंश आचार्यको दुरुपयोग गरेको आरोप पनि दर्शकहरुबाट मुखरित भएका छन् । तर मलाई त्यस्तो लागेन । ‘महाजात्रा’मा हरिवंश आचार्यले बाँच्नुभएको पुन्यप्रसाद पात्र नेपाली राजनीतिको मुख्य प्रतिनिधिपात्र नै हो र त्यो पात्रमा उहाँले न्याय गर्नुभएको छ ।

तर एउटा कुरा चाहिं के सत्य हो भने हरिवंश आचार्य जोडिएको सिनेमा औसतभन्दा माथि उठ्नुपर्ने दर्शकको अपेक्षा भने पूरा नभएकै हो । मदनकृष्ण श्रेष्ठ-हरिवंश आचार्यको सिने कथाहरुमा पीडालाई हास्यरस मार्फत दर्शकको मनमष्तिस्कमा जसरी स्थापित गरिन्थ्यो त्यो कुरा ‘महाजात्रा’मा भेटिएको छैन । त्यसैले पनि दर्शकहरुले ‘महाजात्रा’मा हरिवंश आचार्यको दुरुपयोग भएको ठानेको हुनुपर्छ । ‘महाजात्रा’मा कथाअनुसारको पात्र बाँच्ने कुरामा विपिनदेखि वर्षासम्मको अभिनय भने प्रशंसनीय छ ।

‘महाजात्रा’मा राजनीतिको विकारलाई साहित्यिक कथाले बोलेको छ । तर के नेपाली राजनीतिज्ञहरुले ‘महाजात्रा’को तथ्यकथा स्वीकार गर्छन् त ? भलै राजनीतिक बोरामा एउटा मात्र आलु कुहिएको होला तर के त्यो एउटा आलु फाल्न अरु थुप्रै आलुहरु बोराबाट खस्न तयार हुन्छन् त ?

राजनीतिका लागि समाजको हरेक परिवेश र परिघटना आवश्यक हुन्छ भन्ने तथ्यलाई स्वीकार गर्दै त्यही सामाजिक चालमा शुद्धता र सफलता खोजिरहने नेपाली राजनीतिको एक मात्र पात्र केपी शर्मा ओलीले ‘महाजात्रा’को प्रमोसनमा जसरी समय उपलब्ध गराउनुभयो । यसले वर्तमान राजनीतिक विकारको स्वीकारोक्ति र शुद्धताको आवश्यकता बोध देखाएको छ । अपेक्षा गरौं, ‘महाजात्रा’ले उठाएको राजनीतिक विकारलाई शुद्धीकरण गर्न केपी शर्मा ओलीको नेतृत्व सफल हुनेछ ।

‘महाजात्रा’ हेरेर फर्किंदै गर्दा वरिष्ठ कलाकार मदनदास श्रेष्ठसँग भेट भयो । उहाँले भन्नु भयो– ‘नेपाली सिनेमाले समाजको विकृत परिवेश प्रस्तुत त गर्छन तर समाधान दिन सकेका हुँदैनन् । उहाँको कुरा तथ्यपरक छ । नेपाली सिनेमाले सामाजिक कमीकमजोरी जसरी प्रस्तुत गर्न सकेका छन् त्यसको समाधान के भनेर दिन सकेका छैनन् । ‘महाजात्रा’मा यही कुरा अपुरो छ । जात्रा, जात्रैजात्रा हुदै महाजात्रासम्म आइपुगेको प्रदीप भट्टराईको सामाजिक तथ्यकथा अब समाधानमुखी सिनेमामा पुगेर टुंगिनुपर्छ ।

राजनीतिमा अवैध धन, सुन तस्करी, गुण्डाराज जस्ता विकृत पक्ष मौलाएको तथ्य देखाउन सफल लेखक- निर्देशक प्रदीप भट्टराईले यी सबै नकारात्मक पक्षको अन्त्यको लागि कस्ता राजनीतिक पात्र आवश्यक छ, नेपाली राजनीतिमा त्यस्ता पात्रको सम्भावना छ कि छैन, मुलुकको ऐन–कानुनले त्यस्ता खराब परिवेश अन्त्यको लागि भूमिका खेल्न सक्छ कि सक्दैन, समाजमा विकास र आर्थिक परिर्वतनको लागि आवश्यक कुरा के हो, राजनीतिमा नीतिबाट परिचालित नेताको उदय कसरी हुनसक्ला ? जस्ता समाधानमुखी विषयलाई पनि अबको सिनेकथामा उतार्न सक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?