
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै विदेशी फिल्मलाई १०० प्रतिशत भन्सार शुल्क लगाउने घोषणापछि विश्व फिल्मको निर्माण, प्रदर्शन र वितरणको चक्र प्रभावित हुने देखिएको छ ।
ट्रम्पको घोषणापछि नेपाली फिल्मको अमेरिका रिलिज प्रभावित हुनसक्ने अनुमान गरिएको छ । अमेरिकामा रहेर नेपाली फिल्मको वितरण गर्दै आइरहेका सेभेन सिज इन्टरनेसनलका प्याट्रिक सुवेदीका अनुसार भन्सार शुल्क लगाउने राष्ट्रपति ट्रम्पको घोषणा कार्यान्वयनमा आए मुख्यतः यसले ३ असर पार्न सक्छ ।
पहिलो असर- चलचित्र प्रदर्शन अधिकार प्राप्त गर्ने र कानूनी प्रक्रिया पुरा गर्न लागत वृद्धि हुनसक्छ । यो भनेको– वितरकले फिल्मको राइट दोब्बर मूल्यमा किन्नुपर्छ भन्ने हो । जस्तै, वितरकले ५० लाखको फिल्मको लागि भन्सार शुल्कसहित १ करोड नेरु खर्च गर्नुपर्छ । जसले गर्दा, वितरकले सम्भावित ब्यापार गर्न सक्ने फिल्ममात्र खरिद गर्नसक्छन् ।
दोस्रो असर- खर्च बढ्ने जोखिमको कारण नेपाली फिल्मको थिएटर रिलिज र प्रदर्शन हुने संख्या घट्न सक्छ । २०८१ सालमा अमेरिकाभर १८ नेपाली रिलिज भएका थिए । यो संख्यामा ३० प्रतिशतले गिरावट आउन सक्ने अनुमान छ । अब यो संख्या घटेर १० देखि ११ वटा जति फिल्म मात्र रिलिज हुनसक्छन् ।
तेस्रो असर- साना बजार र स्वतन्त्र सिनेमाघर जहाँ नेपाली फिल्म प्रदर्शन हुने गर्छन्, ती प्रभावित हुन सक्छन् । विश्वब्यापी राइट खरिद गरेका वितरकलाई तुलनात्मकरुपमा सजिलो हुने देखिएपनि अमेरिकाको मात्र एकल राइट खरिद गर्नेको संख्यामा कमी आउनसक्छ । ‘अमेरिकाको मात्र राइट किन्ने डराउन सक्छन् । वर्ल्डवाइड रिलिज भएमा मात्र सहज हुनसक्छ’ सुवेदीले भने ।
उनले चुनौतिभित्र सकारात्मकता पनि लुकेको बताए । ‘अब फिल्मको डिमान्ड बढेर आउनसक्छ । फिल्म फिल्टरिङ हुनसक्छन् । यसलाई मैले पोजेटिभ रुपमा लिएको छु’ उनले भने, ‘मेरो बिचारमा यो निर्णय कार्यान्वयन भए ४० देखि ५० प्रतिशत बजार खुम्चिन सक्छ ।’
नेपाली फिल्मका लागि अमेरिका सबैभन्दा ठूलो बजार हो । २०८१ सालमा त्यहाँ १८ नेपाली फिल्म रिलिज भए । ‘पूर्णबहादुरको सारंगी’ले झण्डै १ मिलियन डलर अमेरिकी बजारबाट कमाइ गरेको वितरक सुवेदी बताउँछन् । अमेरिकापछि अस्ट्रेलिया र मध्यपूर्व घरेलु फिल्मका ठूला बजार हुन् ।
ट्रम्पले भन्सार शुल्क लगाउने घोषणा गरेपनि अझै धेरै कुरा स्पष्ट हुन बाँकी छ । यो भन्सार शुल्क विदेशी फिल्मलाई मात्र लागू हुन्छ कि विदेशमा निर्माण भएका हलिउड फिल्मलाई पनि लागू हुन्छ भन्ने खुलेको छैन ।
यो नियम केवल थिएटरलाई मात्र लागू हुन्छ कि ओटीटी प्लाटफर्मलाई पनि लागू हुन्छ कुरा यकिन हुन बाँकी छ ।
वितरक सुवेदीले यो अन्योलको बीचमा पूर्वनिर्धारित नेपाली फिल्मको प्रदर्शन मिति भने यथावत रहने बताए । उनले नेतृत्व गरेको सेभेन सिज इन्टरनेसनलले मे ९ मा ‘ऊनको स्वीटर’ रिलिज गर्दैछ । त्यसपछि अगस्ट २८ मा ‘कोशेढुंगा’, सेप्टेम्बर २०२५ मा ‘जारी २’, अक्टोबर २०२५ मा ‘पहाड’ रिलिज गर्दैछ ।
ट्रम्पले सोमबार विदेशी फिल्ममा शुल्क लगाउने घोषणा गरेका हुन् । अमेरिकी फिल्म उद्योग ‘मृत्युतर्फ तीव्ररुपमा उन्मुख’ भैरहेको बताउँदै उनले आफूले अमेरिकी वाणिज्य विभाग र व्यापार प्रतिनिधिलाई कर लगाउने प्रक्रिया सुरु गर्न अधिकार दिन लागेको बताएका थिए ।
प्रतिक्रिया 4