+
+
Shares

भूकम्प रुसमा गयो, अमेरिका र जापानमा किन जारी भयो सुनामीको चेतावनी ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते २०:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुसको कामचत्का प्रायद्वीपमा मंगलबार ८.८ रेक्टर स्केलको भूकम्प गएको छ, जसले आसपासका क्षेत्रमा सुनामी लहर उठ्न थालेको छ।
  • जापानको फुकुशिमा दाइची र दाइनी परमाणु केन्द्र तत्कालै खाली गराइएको छ, जहाँ सन् २०११ को भूकम्पपछि ठूलो दुर्घटना भएको थियो।
  • अमेरिकाको अलास्का, हवाई, क्यालिफोर्निया र माइक्रोनेशियामा सुनामीको चेतावनी जारी गरिएको छ र मानिसहरुलाई सतर्क रहन आग्रह गरिएको छ।

१४ साउन, काठमाडौं । रुसको सुदूरपूर्वी क्षेत्र कामचत्का प्रायद्वीपमा बुधबार ८.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएपछि त्यस आसपासका क्षेत्रमा सुनामी लहर उठ्न थालेको छ ।

भूकम्पको असर जापानमा सम्म पुगेको छ । जापानको फुकुशिमा दाइची र फुकुशिमा दाइनी परमाणु केन्द्र तत्कालै खाली गराइएको छ ।

जापानमा सन् २०११ को मार्च ११ मा आएको ९ रेक्टर स्केलको भूकम्पको कारण फुकुशिमामा रहेको परमाणु केन्द्रमा ठूलो दुर्घटना भएको थियो ।

भूकम्प भएपछि आएको सुनामीका कारण परमाणु केन्द्रका ६ मध्ये ३ रियाक्टरमा गम्भीर क्षति भएको थियो, हाइड्रोजन चुहावट भयो ।

रेडियोधर्मी पदार्थ वातावरणमा फैलिँदा कयौंले ज्यान गुमाएका थिए । थुप्रै मानिस विस्थापित भएका थिए ।

उक्त घटनाले परमाणु ऊर्जाको सुरक्षा सम्बन्धमा वैश्विक चासो र चिन्ता बढाएको थियो । भूकम्पका कारण जापानको पूर्वात्तर तटीय क्षेत्र सबभन्दा बढी प्रभावित भएको थियो ।

सुनामीका छालहरूपछि जापानको फुकुशिमा दाइची आणविक (न्यूक्लियर) प्लान्ट बन्द गरिएको छ।

बुधबार रुसमा गएको भूकम्प विश्व इतिहासमै सन् २०११ मा जापानमा गएको भूकम्पपछिको ठूलो हो ।

रुसमा गएको भूकम्पपछि जापानको होक्काइदो प्रान्तमा पहिलो सुनामीको लहर दर्ज भएको छ ।

रुसको पूर्वी सीमादेखि नजिक रहेको जापानको होक्काइदोमा झन्डै ४० सेन्टीमिटरको सुनामी लहर देखिएको छ ।

क्यालिफोर्निया र हवाईमा सुनामीको चेतावनी

रुसको सुदूरपूर्वी क्षेत्र कामचत्का प्रायद्वीपमा गएको भूकम्पले अमेरिकाको अलास्का र हवाईमा समेत सुनामीको चेतावनी जारी भएको छ ।

यो समाचार तयार पार्दासम्म क्लालिफोर्निया र हवाई क्षेत्रमा पनि झन्डै १ मिटर उचाइको सुनामी छाल देखिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले उल्लेख गरेका छन् ।

त्यहाँको गुआम र माइक्रोनेशियाका प्रायद्वीपमा पनि सुनामी आउनसक्ने खतरालाई मध्यनजर गर्दै निगरानी भइरहेको अधिकारीहरुले बताएका छन् ।

नक्सामा रुसमा गएको भूकम्पको केन्द्रबिन्दु र आसपासका देशको क्षेत्र।

अमेरिकी राज्य हवाईका गभर्नर जोश ग्रीनले मानिसहरुलाई नआत्तिन र उचाइ भएका क्षेत्रमा जान आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुनामीको चेतावनीलाई ख्याल गर्दै सतर्क रहन अपील गरेका छन् ।

अमेरिकी अधिकारीहरुले हवाईमा तत्कालै सुनामी नआउने बताएपनि मानिसहरु बसोबास गरिरहेको ठाउँ छाडेर अन्यत्र जान थालेका छन् । भूकम्प विशेषज्ञहरुले पनि हवाईमा सुनामी आइहालेपनि त्यसको प्रभाव विनाशकारी नहुने बताएका छन् ।

भूकम्पले प्रभावित रुस

रुसको कामचत्का प्रायद्वीपमा बुधबार गएको ८.८ रेक्टर स्केलको भूकम्प सन् १९५२ को भूकम्प जत्तिकै शक्तिशाली भएको बताइएको छ । त्यतिबेला पनि कामचत्कामै ९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

रूसमा भूकम्पपछि धेरै भवनहरूलाई क्षति पुगेको छ।

भूकम्पपछि रुसको सुदूरपूर्वी क्षेत्रमा केही मानिस घाइते भएका छन् । सुनामी लहरका कारण सेवेरो कुरिलस्क क्षेत्रका केही हिस्सामा बाढी आएको छ । पेत्रापावलोव्स्क इलाकामा केही घरहरुमा क्षति भएको छ ।

के हो सुनामी ?

समुन्द्रमा उठ्ने कयौं मिटरका लहर (छाल)लाई सुनामी भनिन्छ । समुन्द्रको भित्री तहमा ठूलो र तीव्रताका साथ हलचल हुँदा उथलपुथल आउँछ ।

त्यसपछि लामा र अग्ला छालहरुको ठूलो रेला बन्दछ, जुन तीव्र गतिमा किनारातर्फ अघि बढ्छ ।

यस्तै लहरहरुलाई सुनामी भन्ने गरिन्छ । ‘सुनामी’ शब्द जापानी भाषाबाट आएको हो । जसमा ‘सू’ को अर्थ ‘समुन्द्री तट’ र ‘नामी’को अर्थ ‘लहर’ भन्ने हुन्छ ।

समुद्रमा उठेका धेरै मिटर अग्ला छालहरूलाई सुनामी भनिन्छ।

पहिलेपहिले समुन्द्रमा उठ्ने छाललाई सामान्य ज्वारभाटा मानिन्थ्यो तर त्यस्तो होइन ।

सामान्यत: चन्द्रमा, सूर्य र अन्य ग्रहको गुरुत्वाकर्षणका कारण समुन्द्रमा छालहरु उठ्ने गर्छ । तर, भूगर्भीय हलचल, भूकम्प, सुमन्द्रको भित्री भागमा ज्वालामुखी विस्फोट वा जमीन सर्ने कारणले भने सुनामी आउने गर्छ । सामान्य ज्वारभाटाभन्दा निकै शक्तिशाली र तेज हुने भएकाले सुनामी निकै विनाशकारी हुन्छ ।

सुनामी लहर उठ्नुमा कयौं कारण हुनसक्छन् । तर, मुख्य कारण भने भूकम्प नै हो । यसबाहेक समुन्द्रमा जमीन भासिँदा, ज्यालामुखी विस्फोट हुँदा, कुनै ठूलो परमाणु वा बम विस्फोट  र कहिलेकाहिँ उल्कापातको प्रभावले पनि सुनामी लहर उठ्न सक्छ ।

सुनामी लहरको असर, पूर्वानुमान गर्न कति सम्भव ?

सुनामी लहर तीव्र गतिमा समुन्द्र किनारमा ठोक्किने गर्छ, जसले ठूलो मात्रामा धनजनको क्षति हुनसक्छ । जसरी वैज्ञानिकहरुले भूकम्पको सटिक भविष्यवाणी गर्न सक्दैनन्, त्यसैगरी सुनामीको पनि समय र स्थानबारे पहिल्यै पूर्वानुमान गर्न मुश्किल हुन्छ ।

तर, पछिल्लो समयका तथ्याकंहरु हेर्दा र महाद्वीपहरुको स्थितिका आधारमा वैज्ञानिकहरुले केही सम्भाव्य चेतावनी तथा पूर्वसूचना दिने गर्छन् ।

जापानको फुकुशिमामा सुनामीका छालहरूपछि समुद्र तटको निगरानी गर्दै सुरक्षाकर्मी।

पृथ्वीको टेक्टोनिक प्लेट्स जहाँजहाँ जोडिएका हुन्छन् त्यस आसपासका समुन्द्री क्षेत्र सुनामीको खतरामा रहने हुँदा संवेनशील मानिन्छ ।

उदाहरणका लागि इन्डोनेशियाको दक्षिणपूर्वी टापु सुमात्रा जहाँ अस्टे«लियन प्लेट र युरेशियन प्लेट्स जोडिन्छन् । यस क्षेत्र फिलीपीनी प्लेटसँग पनि जोडिन्छ ।

यस क्षेत्रमा पहिले पनि सुनामी लहरका कारण विनाशकारी असर देखिएको छ ।

भूकम्पका कारण कसरी उठ्छ सुनामी लहर ?

जब शक्तिशाली भूकम्प जान्छ त्यसपछि समुन्द्रको माथिल्लो तह अचानक सर्छ, तब समुन्द्रको पानी माथितर्फ उठ्न थाल्छ । यसै दोरान जुन लहर बन्छन्, त्यसलाई सुनामी भनिने हो ।

सजिलोसँग बुझ्न पृथ्वीको माथिल्लो तहहरु फुटबलको सिलाई वा चिरा परेको अण्डाको खोल जस्ता हुन्छन् । जस्तोकी अण्डाको बाहिरी भाग कडा हुन्छ तर भित्री भाग नरम र तरल हुन्छ ।

२००४ मा दक्षिण भारतमा आएको सुनामीपछिको भयावह दृश्य।

भूकम्प आउँदा ती चिराहरूमा तनाव उत्पन्न हुन्छ, जसले गर्दा भित्रको तरल पदार्थले तीव्र रूपमा माथितर्फ दबाव दिन थाल्छ र समुद्रको सतहमाथि ठूला छालहरू उठ्न थाल्छन् ।

जब पृथ्वीका प्लेटहरू सर्छन्, त्यसबाट नयाँ भौगोलिक संरचनाहरू जस्तै महाद्वीप (हिमाल–पहाड) पनि बन्न सक्छन् । यस्तै हलचल समुद्रको भित्र हुँदा भने सुनामीको सम्भावना बढ्न सक्छ ।

तर, हरेक पटक भूकम्पबाटै सुनामी आउने भन्ने हुँदैन । त्यसका लागि भूकम्पको केन्द्र समुद्रको भित्र वा त्यसको निकै नजिक हुन आवश्यक हुन्छ ।

किनारासँग ठोक्किने लहर कति खतरनाक ?

जब सुनामी लहर कुनै महाद्वीपको सतही तहसम्म पुग्छन्, जहाँ अर्को टेक्टोनिक प्लेटसँग जोडिएको हुन्छ, त्यस्तोमा भने सुनामी वा छालहरुको गति केही हदसम्म कम हुन थाल्छ ।

टेक्नोनिक प्लेट (भूगर्भीय दरार) जोडिएका क्षेत्रमा जमीन चिरा परेको हुने हुँदा सुमन्द्रमा उठेका छालले त्यसभित्र पस्ने बाटो पाउँछन् र सुनामी वा ज्वारभाटा बाँडिन पुग्छन् ।

तर, लहरहरु समुन्द्रको भित्री भागको पानीसँगै मिलेर किनारातर्फ अघि बढ्छन् तब भने यसको उचाइ त शक्ति अचानक बढ्न जान्छ ।

यस्तो स्थितिमा लहर ३० मिटर उचाइसम्म उठ्न सक्छ  । शक्तिशाली सुनामी किनारा हुँदै आसपासका क्षेत्र नै प्रभावित गर्नेगरी अघि बढ्दा डुबान र धनजनको क्षति हुने गर्छ । यस कारणले गर्दा यी छालहरू ठूलो विनाशको कारण बन्न पुग्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?