+
+

अर्थमन्त्रीको पहिलो निर्णय : हरित वित्तको पैसा पूर्वाधारमा लगाउने

'अर्थतन्त्रमा आश जगाउने गरी काम गर्छु'

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २३ गते २०:४८

२३ फागुन, काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले जलवायु वित्तमार्फत आउनसक्ने अनुदान तथा सहुलियतपूर्ण ऋणलाई पूर्वाधारमा लगाउने पहिलो निर्णय गरेका छन् ।

नेपालले हालसम्म न्यूनमात्र जलवायु वित्त प्राप्त गर्न सकेको हुँदा त्यसलाई बढाउने दिशामा सरकारले जोड दिने पनि निर्णयमा उल्लेख छ ।

नेपालमा जलवायु परिवर्तनले गरेको असरको सम्वोधन गर्ने आयोजना र कृयाकलापमा आवश्यक पर्ने स्रोत र हाल नेपालले प्राप्त गरेको जलवायु वित्तबीच ठूलो खाडल रहेको छ ।

‘जलवायु वित्त सम्बन्धी अन्तर्राष्ट्रिय कोष तथा सुविधामा पहुँच स्थापित गर्न सम्बन्धित कोषहरुमा पहुँच, छलफल तथा वार्ता, राष्ट्रिय स्तरमा तयारी, क्षमता विकास, आवश्यक पहलकदमी र गुणस्तरीय आयोजना तयारीमा जोड दिने,’ अर्थमन्त्री पुनको निर्णयमा उल्लेख छ ।

जलवायु कोषबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण सहायतालाई उत्पादनशील र दिगो पूर्वाधार आयोजनाको ठोस कृयाकलापमा केन्द्रित गर्ने गरी प्रस्ताव तयार गर्न विषयगत मन्त्रालय र सम्बन्धित दातृ निकायलाई मार्गनिर्देश गर्ने निर्णय पनि उनको छ ।

‘ग्रिन क्लाइमेट फन्डको राष्ट्रिय कार्यक्रमको पाइपलाइनमा रहेका आयोजनाहरुको अद्यावधिक गर्ने निर्णय पनि उनले गरेका छन् ।

ग्रिन क्लाइमेट फन्डमार्फत संचालन हुने आयोजनाहरुलाई दिगो पुर्वाधारयुक्त बनाउन सम्बन्धित विषयगत मन्त्रालय र दातृनिकायहरुलाई मार्गनिर्देश गर्ने र क्लाइमेट फन्डहरुबाट प्राप्त हुने ग्रान्ट तथा सहुलियतपूर्ण ऋणलाई ब्लेन्ड गरी सरकारी तथा निजी क्षेत्रहरुलाई समेत परिचालन गर्ने निर्णय समेत भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निम्तामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण गरेपछि नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वव्यापी ध्यानकर्षण भएको छ ।

साथै, कोप २८ मा सहभागी हुँदै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा जलवायुको परिवर्तनको असर र माउण्टेन एजेन्डा सम्बन्धी विषयमा सम्बोधन गरेका थिए ।

अर्थतन्त्रमा आश जगाउने गरी काम गर्छु : अर्थमन्त्री

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले आफूले अर्थतन्त्रमा आशा जगाउने गरी काम गर्ने बताएका छन् । अहिले अर्थतन्त्रमा मनोबल बढाउनुपर्ने आवश्यकता रहेको भन्दै उनले त्यसैमा आफूलाई केन्द्रित गर्ने बताए ।

‘म पहिलोपटक आउँदा पनि समस्या थियो । त्यसबेला राम्रो सुधार गरेको थिएँ । अहिले अर्थतन्त्र त्यति बिग्रेको छैन । तर मनोबल बढाउनु पर्नेछ, मेरो प्रयास त्यही रहन्छ,’ उनले  भने ।

बिगतको अनुभवका आधारमा सक्दो राम्रो गर्ने प्रयास गर्ने उनको भनाइ थियो । ‘असल कामलाई निरन्तरता दिन्छु, विगतमा विकासे मन्त्रालयमा काम गरेको थिएँ,’ उनले भने, ‘ खर्च गर्ने क्षमता बढाउनु छ । काम गर्दै र समीक्षा गर्दै कमजोरी सुधारमा लाग्छौ ।’

सो अवसरमा अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले अर्थमन्त्रीलाई कर्मचारीको पूर्ण सहयोग हुने बताए । ‘अर्थतन्त्र धेरै कुरामा सुधारोन्मुख रहे पनि केही दबाबमा छ,’ उनले भने । पुँजीगत खर्च र राजस्व परिचालन समस्या रहेको उनले बताए । नयाँ अर्थमन्त्रीको नेतृत्वमा अर्थतन्त्रका समस्या समाधान हुने विश्वास पनि उनले व्यक्त गरे ।

मन्त्री पुनले कार्यभार सम्हालेको अवसरमा राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले टिमलाई विश्वास गर्ने पुनको कार्यशैलीले समन्वयमा राम्रो हुने बताए ।  ‘अर्थतन्त्रको वास्तविक क्षेत्रमा केही समस्या छ, बाह्य र बैकिङ क्षेत्रमा समस्या छैन,’ गभर्नर अधिकारीले भने, ‘बाहिर आएजस्तो बैङ्कहरुमा समस्या छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?