+
+

प्रचण्डलाई कांग्रेसको प्रश्न– धोका पाएकाहरु एक ठाउँमा आए तपाईं कहाँ पुग्नुहोला ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १४:३०
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक

२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट ‘धोका’ पाएका दलहरु एक ठाउँमा उभिनसक्ने संकेत गरेको छ । यदि त्यसो भयो भने प्रचण्ड कहाँ पुग्लान् भनेर पनि कांग्रेसले प्रश्न गरेको छ ।

प्रतिनिधि सभाको विहीबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रचण्डले पटक–पटक दलहरुलाई धोका दिएको बताए । पछिल्लो पटक कांग्रेससँगको गठबन्धन तोडेर एमाले र रास्वपासँग गठबन्धन गर्दा पनि प्रचण्डले धोका दिएको उनले बताए ।

लेखकले संसदमा प्रचण्डलाई व्यंग्य गर्दै भने, ‘एक जनासँग मगनी, अर्कोसँग लगनगाँठो, तेस्रोसँग हनिमुन, चौथोसँग डेटिङ, पाँचौसँग टाप ठोक्ने काम उथलपुथल होइन । यो शोभनीय हुँदैन ।’

कांग्रेस महासमिति बैठक स्थलमा हिन्दु धर्मको पक्षमा हस्ताक्षर अभियान चलाएको, बैठकमा प्रस्तुत दस्तावेजहरुमा माओवादी जनयुद्धलाई अपमान गर्ने खालका शब्दावली प्रयोग गरेको लगायतका आरोप लगाउँदै माओवादी केन्द्रले कांग्रेससँग सत्ता सहकार्य गर्न नसकिने निष्कर्ष निकालेर एमालेसँग गठबन्धन गरेको थियो । प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले विहीबारको संसद बैठकमा पनि तिनै कुराहरु दोहोर्याएका थिए ।

त्यसपछि रोष्टममा आएर बोलेका कांग्रेस प्रमुख सचेतक लेखकले आफ्नो पार्टी संविधानमा भएको व्यवस्था अनुसार धर्मनिरपेक्षतामा अडिग रहेको बताए  ।

एमालेका दस्तावेजहरुमा पनि माओवादीविरुद्ध लेखिएको भन्दै उनले ती दस्तावेजका अंश वाचन गरेर पनि सुनाएका थिए । एमालेको एउटा दस्तावेजमा ‘गएका ६ वर्षमा हामीमाथि पटक–पटक धोका भएको छ’ भन्ने शव्दावली सुनाउँदै लेखकले प्रश्न गरे, ‘यसलाई कसरी लिनु भएको हो ? अझ कसरी लिनु हुन्छ ?’

माओवादीले धोका दिन बाँकी कुनै पार्टी नरहेको निष्कर्षमा आफू पुगेको भन्दै लेखकले धोका पाएकाहरु सबै एक ठाउँमा उभिए तपाईं कहाँ पुग्नु होला भनेर प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरे । ‘म त कुन निष्कर्षमा पुग्या छु भने अब धोका दिन कोही बाँकी रहेन । तर एकचोटी सोच्नुस् यी जम्मै धोका पाएका एक दिन एक ठाउँमा उभिए तपाईंका विरुद्ध भने कहाँ पुग्नुहोला ?’ लेखकले प्रश्न गर्दै भने, ‘खाली ख्याल गर्नुहोला, हेक्का राख्नु होला । यति मात्र आग्रह हो ।’

लेखकले यसो भन्दा कांग्रेस सांसदहरुले टेबुल ठोकेर समर्थन जनाए । सभामुख देवराज घिमिरेले पनि मन्तव्य छोट्याउन आग्रह गरे ।

त्यसपछि लेखकले मिटर ब्याज र शिक्षा विधेयकसँग सम्बन्धित काम अघिल्लो सरकारले अघि बढाएको भन्दै त्यो कामलाई अहिलेको सरकारले निरन्तरता दिनुपर्ने बताउँदै बिदा भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?