+
+

महानगरले दिने सीपमूलक तालिम २३ क्याम्पसमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते २०:०१

२४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका सामाजिक विकास विभागले बिहीबार सरकारी र निजी गरी २३ क्याम्पससँग सिपमूलक तालिम सञ्चालन स्थलका लागि सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।

विभागका निमित्त प्रमुख बिमला कोइराला र सम्बन्धित कलेजका पदाधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

महानगरपालिकाले चालु आर्थिक वर्षदेखि १० वटा महानगर गौरव योजना कार्यान्वयनमा ल्याएको छ । तीमध्ये ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रम एउटा हो ।

यो कार्यक्रम मार्फत रोजगारमूलक सिप विकास तालिम सञ्चालन हुन्छन् । यस्ता विविध विधाका तालिम सञ्चालन गर्न सम्झौता भएको हो । विभागले कार्यान्वयन गर्ने यस कार्यक्रममा सिप नजानेका र सिपको स्तरोन्नति गर्नुपर्ने व्यक्तिलाई सिप सिकाउने तथा सिपको स्तरोन्नति गराइने छ । १५ हजार जनालाई तालिम दिने र ५ हजारलाई प्रत्यक्ष रोजगारीमा आबद्ध गराउने कार्यक्रमको लक्ष्य रहेको विभागले जनाएको छ ।

के छ सम्झौतामा ?

सम्झौता बमोजिम कलेजहरूले कक्षा कोठा (स्थान) र प्रयोगशाला निःशुल्क उपलब्ध गराउने छन् । प्रशिक्षक तथा जनशक्ति र मर्मत सम्भार खर्च महानगरपालिकाले उपलब्ध गराउने छ ।

यसका लागि कलेजहरूले महानगरपालिकामा लागत अनुमान पेस गर्नुपर्ने छ । तालिम संयोजन र सहजीकरण महानगरपालिकाबाट खटाइएका तालिम संयोजकहरूले गर्नेछन् ।

सिपमूलक तालिम लिन अहिलेसम्म करिब १० हजार जनाको आवेदन प्राप्त भइसकेको छ । सूचना प्रविधिमा आधारित तालिममा धेरै व्यक्तिको चासो छ ।

सहरी योजना आयोग सदस्य इन्जिनियर शैलेन्द्र झाका अनुसार ६९.७ प्रतिशत पुरुष र ३०.३ प्रतिशत महिला आवदेक छन् । तीमध्ये ४७.९ प्रतिशत बागमती, १२.१ मधेश, १२ कोशी र ८.५ प्रतिशत सुदूरपश्चिमबाट छन् । तीमध्ये ८०.६ प्रतिशत बागमती प्रदेशका छन् ।

१२ कक्षा उत्तीर्ण शैक्षिक योग्यता भएका आवेदकमध्ये सबैभन्दा धेरै ४८.२ प्रतिशत छ । निरक्षर ३० प्रतिशत, एसईई वा एसएलसी उत्तीर्ण ९.८ प्रतिशत र स्नातकोत्तर ८.३ प्रतिशत छन् । २४.१ प्रतिशतले यसअघि नै तालिम लिएका छन् । ७५.९ प्रतिशतले कुनै तालिम लिएका छैनन् ।

तालिम लिनेमध्ये एक वर्षभन्दा धेरै तालिम गरिसकेका आवेदक संख्या १५.५ प्रतिशत छ । १८.९ प्रतिशतले एक महिनाभन्दा कम अवधि, १९.१ प्रतिशतले तीन महिनादेखि एक वर्ष, ९.५ प्रतिशतले ६ महिनादेखि एक वर्षसम्मको तालिम लिएको झाले जानकारी दिए ।

विभागका निमित्त प्रमुख कोइरालाका अनुसार महानगरपालिकामा बसोबास गरिरहेका (स्थायी, अस्थायी बसोबासी तथा करदाता समेत) व्यक्ति, फोहोर व्यवस्थापन हुँदै आएको ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा प्राथमिक लक्षित वर्ग हुन् ।

बेरोजगार, युवा (महिला, पुरुष), रोजगारी गुमाएर बसेका, विदेशबाट सिप सिकेर तथा काम गरेर फर्केका (अहिले काम खोज्दै गरेका) व्यक्ति सबैलाई तालिमको अवसर प्रदान गरिने छ ।

कस्ता आए क्याम्पस ?

महानगरपालिकाभित्र १ सय ५ वटा व्यवस्थापन र १ सय २५ प्राविधिक धारका क्याम्पसको नामावली प्राप्त भएको छ ।

कार्यक्रम फोकल पर्सन शान्ता पहाडीले तालिम सञ्चालन गर्नुअघि उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिसँग छलफल गरिसकेको बताइन् ।

त्यसपछि उद्योग क्षेत्रमा चाहिने आवश्यक जनशक्ति पहिचानका लागि सरोकारवालासँग छलफल गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?