+
+

सुदूरपश्चिममा राप्रपा र स्वतन्त्र सांसदलाई मन्त्री प्रस्ताव

जनक विष्ट जनक विष्ट
२०८० फागुन २४ गते २०:३१
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह ।

२४ फागुन, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राप्रपा र स्वतन्त्र प्रदेशसभा सदस्यलाई मन्त्रीको प्रस्ताव गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीसहितको सरकार बनाउन सहमति भइसकेको भन्दै शाहले राप्रपाकी खेमादेवी बिष्ट र स्वतन्त्र प्रदेशसभा सदस्य तारादत्त जोशीलाई मन्त्री बन्न प्रस्ताव गरेका हुन् ।

उनीहरु दुवै जनालाई बिहीबार नै मन्त्रीमा नियुक्त गर्ने भन्दै मुख्यमन्त्री शाहकै आग्रहमा अछाम जान लागेका प्रदेश प्रमुख देवराज जोशी डडेल्धुराबाट फर्किरहेका छन् । प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीलाई समेत कार्यालयमै रोकिएको छ ।

नेकपा(एकीकृत समाजवादी) ले छाडेको आर्थिक मामिला मन्त्री स्वतन्त्र सांसद जोशीलाई प्रस्ताव गरिएको स्रोतले जनाएको छ भने राप्रपालाई सामाजिक विकास वा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लिन प्रस्ताव गरिएको छ ।

राप्रपाका एक नेताले मुख्यमन्त्री र नागरिक उन्मुक्ति पार्टी समेतबाट मन्त्रीको प्रस्ताव आएको पुष्टि गर्दै त्यसबारे कुनै निर्णय नभएको अनलाइनखबरलाई बताए । ‘संघमा हामी प्रतिपक्षमा छौं । आन्दोलन घोषणा गरिएको अवस्था छ’, ती नेताले भने, ‘तर उहाँहरुले मन्त्रीको प्रस्ताव गर्नुभएको छ । अहिलेसम्म कुनै निर्णय भएको अवस्था छैन ।’

पर्ख र हेरको अवस्थामा रहेको भनिएको नागरिक उन्मुक्ति पार्टीले समेत राप्रपालाई सरकारमा सामेल हुन आग्रह गरेको छ । स्वतन्त्र प्रदेशसभा सदस्य जोशीले भने नागरिक उन्मुक्ति पार्टीको भूमिका प्रष्ट भइनसकेका कारण अहिले नै सरकारमा जानेबारे निर्णय लिइनसकेको बताएका छन् ।

प्रदेश प्रमुख जोशी वैद्यनाथ धाममा लागेको कोटिहोमको समापन समारोहमा सहभागी हुन जादै थिए । उनी बाटोबाटै फर्किएको प्रदेश प्रमुखको कार्यालयले पुष्टि गरेको छ ।

सुदूरपश्चिममा मुख्यमन्त्री शाहलाई कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेशसभा सदस्यको समर्थन छ । राप्रपा र स्वतन्त्र सांसद सरकारमा सामेल भए उनको पक्षमा २७ जना सांसद हुन्छन् जुन ५३ सदस्यीय प्रदेशसभामा बहुमत हो ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?