+
+

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै बागमतीमा सरकारबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २६ गते २०:११
बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल ।

२६ फागुन, हेटौंडा । केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएपछि बागमतीमा नयाँ सरकार गठन गर्ने कि अहिलेकै सरकारमा एमाले सहभागी हुने भन्ने बहस सुरु भएको छ ।

सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र अहिलेकै सरकारमा एमाले सहभागी हुने बताउँछ भने ने एमाले नेताहरु सरकारको नेतृत्वबारे नै छलफल हुनुपर्ने बताउँछन् ।

दुई दलबीच प्रदेशस्तरमा सरकारको विषयमा छलफल सुरु भएको छैन । दुबै दल सत्ता गठबन्धनको केन्द्रीय निर्णय कुरेर बसेका छन् ।

बागमती प्रदेशसभाका एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले केन्द्रबाटै मुख्यमन्त्रीको भागबण्डा हुने बताउँछन् । ‘केन्द्रबाटै कुनै निर्णय आउनुपर्छ । मुख्यमन्त्रीकै भागबण्डा भइसकेको छैन । उताबाट टुंगिएपछि प्रदेशमा गृहकार्य गर्छौं’, उनले भने, ‘प्रधानमन्त्रीको विश्वासको मतपछि सरकार गठनमा तीव्रता दिन्छौं ।’

यसअघि १० पुस २०७९ मा केन्द्रमा एमाले-माओवादीसहितको गठबन्धन बन्दा बागमतीमा एमालेकै समर्थनमा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री बनेका थिए ।

एमाले नेताहरु भने त्यतिबेला जम्कट्टेल २ वर्ष मुख्यमन्त्री रहने र त्यसपछि एमालेले सरकारको नेतृत्व गर्ने गरी सहमति भएको बताउँछन् । अहिले नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्रीकै विषयमा छलफल हुनुपर्ने उनीहरुको भनाइ छ ।

नेकपा माओवादी केन्द्रले भने केन्द्रमा प्रदेशका मुख्यमन्त्रीका विषयमा छलफल हुँदा बागमती माओवादी केन्द्रकै भागमा पर्ने बताएको छ ।

नेकपा माओवादी केन्द्र संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकाल भन्छन्, ‘मुख्यमन्त्री छोड्ने कुरा हुँदैन । गठबन्धनमा पनि मुख्यमन्त्री माओवादीले पाउने गरी सकारात्मक कुरा भएको छ ।’

मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)ले पनि दाबी गरेको छ । अन्य प्रदेशमा एकीकृत समाजवादीको सरकार नरहेकाले बागमतीको मुख्यमन्त्रीमा दाबी रहने उक्त पार्टीका नेताहरु बताउँछन् ।

सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्रै प्रदेश सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताए ।

सत्ता समीकरण फेरिएपछि बागमतीमा सरकारबाट बाहिरिएको छ भने मुख्यमन्त्रीलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । अब मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभामा विश्वासको मत लिनुपर्छ ।

११० सदस्यीय प्रदेशसभामा सरकारले बहुमत सिद्ध गर्न ५६ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टा २ प्रदेशसभा सदस्य छन् ।

सत्ता गठबन्धनमा रहेका दल एमाले, माओवादी र एकीकृत समाजवादीले मात्र बागमतीमा सरकार गठनका लागि बहुमत पुर्‍याउन सक्दैनन् ।

उनीहरुको सांसद संख्या जोड्दा ५५ मात्र पुग्छ । त्यसपछि सरकार बनाउन कम्तीमा २ सिट भएको हाम्रो नेपाली पार्टीको समर्थन आवश्यक पर्छ । हाम्रो नेपाली पार्टीले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएको थियो । नयाँ परिस्थितिमा भने उसको निर्णय आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?