+
+

बागमतीमा नयाँ बजेटको तयारी, समुदायमा अनुदानको नीति लिने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते २०:३१

२ वैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणका लागि तयारी सुरु गरेको छ । बजेटको आकार, बजेटमा समावेश योजनाहरु र प्रदेशको खर्च र आम्दानीका बारेमा आइतबार विषयगत कार्यालयबीच छलफल भएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया सहभागी कार्यक्रममा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता, प्रदेश सरकारका तुलनात्मक लाभका क्षेत्र, प्रदेश सरकारको राजस्व दायरा विस्तारलगायतका विषयमा छलफल भएको थियो ।

मुख्यमन्त्री जम्कट्टेलले व्यक्तिलाई अनुदान दिने प्रणालीलाई अवलम्बन नगरी अब समुदायलाई नै अनुदान तथा ऋण दिने नीति ल्याइने बताए । उनले महिलाको उद्यमशीलतालाई जोड दिने, दलित र चेपाङ समुदायलाई विशेष ध्यान दिने र हरेक वर्ष कार्यक्रम नफेरी निरन्तरता दिने छलफलमा बताए ।

आर्थिक मामिला तथा योजनामन्त्री थपलियाले बजेट सन्तुलित र समानुपातिक ढङ्गमा विनियोजन गर्ने बताए । बजेट खर्चलाई बढी न्यायोचित र दीर्घकालीन प्रभाव पार्ने गरी अगाडि बढ्ने मन्त्री थपलियाको भनाइ छ ।

स्थानीय र संघीय सरकारबीच समन्वय गरेर विकास निर्माण कार्यलाई संस्थागत गर्ने समेत मन्त्री थपलियाले बताए । मन्त्रालयले छलफलबाट प्राप्त सुझावलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको बजेट तयार पार्ने उनले विश्वास दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?