+
+

मधेशको राजधानीमा छाडा चौपायाको आतंक

धार्मिक नगरी जनकपुरधाममा सडकमा खुला छाडिएका गाईवस्तुको आतंक छ । तर नियन्त्रणमा स्थानीय सरकारले चासो देखाएको छैन ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० फागुन २७ गते ११:३५

२७ फागुन, जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा अगाडिको चारलेन सडक बिहीबार बिहान साढे ११ बजेतिर गाईवस्तुको हुलले ढाकेको थियो । लाग्थ्यो यो सडक होइन, गौचरण हो । सवारी साधन तथा पैदलयात्री ती चौपायाको भीड छिचोलेर आउजाउ गरिरहेका थिए ।

ट्राफिक प्रहरी कार्यालय अगाडि प्रायः यस्तै दृष्य देखिन्छ । तर ती पशु चौपाया नियन्त्रणमा स्थानीय सरकारले चासो देखाएको छैन । ‘दर्जनौं गाईवस्तुको बथान सधैं सडकमा हुन्छ,’ स्थानीय व्यवसायी रामपुकार साह भन्छन्, ‘सवारी साधन यात्रीलाई आवत-जावत गर्न समस्या भइरहन्छ । कहिलेकाहीँ सवारी दुर्घटना पनि हुन्छ । तर, कसैलाई मतलव हुन्न ।’

जनकपुर-ढल्केबर छ लेन भएर यात्रा गर्दा पनि जनकपुरको मुजेलियादेखि पीडारीचोक, रामानन्दचोक, जिरोमाइलसम्म गाईवस्तुको बथान सडकमै यत्रतत्र देखिन्छ ।

जनकपुरधामको भित्रीबजार क्षेत्रका सडक तथा गल्लीहरुमा मात्र होइन प्रदेश सरकारको मधेश भवन अगाडि समेत चौपायाहरुको बथान देखिन्छ । पछिल्लो समय गाईका बाच्छाबाच्छीसँगै घोँडा र सुँगुरहरु पनि छाडा छाडिएको देखिन्छ ।

छाडा चौपायाले जनकपुरधामको ट्राफिक व्यवस्थापन प्रभावित हुन्छ । कहिलेकाहिँ गाडीमा ठोक्किएर दुर्घटना पनि हुन्छ । रिक्सा चालक जनकपुरधाम उपमहानगरपालिका-११ का रामवरण दास भन्छन्, ‘जनकपुरको सडकमा गाईवस्तुले सडक जाम जस्तो समस्या भइरहन्छ । गाडीमा ठोक्किएर चौपाया छटपटाएर मर्ने पनि गर्छन्,’ उनी भन्छन्, ‘रिक्सा चलाउँदै गर्दा अचानक गाईवस्तु दौडेर अगाडि आइपुग्छ कि भन्ने डर लागिरहन्छ । यो जनकपुरको ठूलो समस्या भए पनि समाधानको लागि सम्बन्धित पक्षले खासै पहल गरेको छैन ।’

केही महिना अघि जनकपुरको कदमचोकमा स्कुल बसको ठक्करले गाईको बाच्छो मरेको थियो । जनकपुरकै मुजेलियामा सवारी साधनकै ठक्करले गाई गम्भीर घाइते भएको थियो । यस्ता समस्या वर्षौंदेखि जनकपुरले भोगिरहेको छ । तर ट्राफिक प्रहरी छाडा चौपाया नियन्त्रण आफ्नो दायित्वभित्र नभएको तर्क गर्छ भने स्थानीय सरकारले चाडा चौपाया नियन्त्रणको प्रभावकारी पहल गरेको छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख शेखर कुमार साह सडकमा छाडिएका पशु चौपाया नियन्त्रण गर्ने काम स्थानीय सरकारको भएको बताउँछन् । ‘गाईवस्तुलाई ट्राफिक प्रहरीले सडकबाट लखेट्नुपर्छ भनेर कतै पनि कानुनमा लेखिएको छैन । यो नियन्त्रण गर्ने काम स्थानीय सरकारको हो । सडकबाट गाईवस्तु धपाउँदा प्रहरीलाई पनि जोखिम हुन्छ,’ उनले भने । उनले अब उपमहानगरपालिकासँग समन्वय गरेर समस्या समाधानमा जोड दिने बताए ।

छाडा गाईवस्तुको समस्या समाधानका लागि निर्वाचित जनप्रतिनिधिले खासै चासो देखाएका छैनन् । अघिल्ला मेयर लालकिशोर साहले आफ्नो पाँच वर्षे कार्यकालको सुरुमै छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन निर्देशिका २०७५ बनाए । तर, कार्यान्वयन फितलो रह्यो । नियन्त्रण र व्यवस्थापनको काम नै भएन ।

वर्तमान मेयर मनोज कुमार साह गौशाला र कान्जी हाउसको अभाव रहेको भन्दै एक वर्षसम्म छाडा चौपाया नियन्त्रणको काममा वास्ता गरेनन् । गत साउनमा उपमहानगरपालिका कार्यालयको झण्डै एक करोड रुपैयाँ खर्च गरेर कुवामा गौशाला निर्माण भयो । गत साउनमा नियन्त्रणको केही प्रयास भयो । तर, केही महिनायता बजारमा फेरि छाडा चौपायाको उस्तै आतंक छ ।

जनकपुरधामको कुवामा रहेको गौशाला शुक्रबार दिउँसो पुग्दा खाली जस्तै थियो । त्यहाँ केवल ८ वटा गाई मात्र थिए । गौशालामा कार्यरत विजयकुमार राउतले जरिवाना तिरेर सम्बन्धित धनीले गाई लगेर गएकाले संख्या कम रहेको बताए । ‘यहाँ रहेका गाईवस्तु धनीले जरिवाना तिरेर लगिसकेका छन् । त्यसैले अहिले थोरै 5m’ उनले भने, ‘प्रति गाई पाँच हजार रुपैयाँको दरले जरिवाना तिराएर धनीलाई फिर्ता दिने गरेका छौं ।’

मेयर मनोज साहले गौशाला निर्माणदेखि हालसम्म प्रतिगाई ५ हजारको दरले दुईलाख रुपैयाँ जरिवाना धनीबाट असुल गरेको बताउँछन् । उनकै भनाइका आधारमा अहिलेसम्म ४० वटा गाई मात्र त्यहाँबाट छुटेको बुझ्न सकिन्छ । तर, जनकपुरधाम उपमहानगरपालिका भित्र दर्जनौंको संख्यामा खुल्ला गाईवस्तु छन् । तर, पूर्ण रुपमा नियन्त्रणमा उपमहानगरको चासो देखिन्न ।

उपमहानगरपालिका कार्यालयका अनुसार हालसम्म गाईवस्तुको घाँस, पराल र चोकरमा ५ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ । तर पशुचौपाया व्यवस्थापनको समस्या ज्यूँकात्युँ छ ।

सडकमा गाई पालेर दूध खाने प्रवृत्ति

केही व्यक्तिले सडकमा गाई पालेर दूध खाने प्रवृत्तिले यो समस्या समाधान हुन नसकेको स्थानीय ईश्वर यादवको भनाइ छ । उनका अनुसार केही व्यक्तिहरुले साँझ-बिहान गाई घर लगेर दुहने र फेरि सडकमै छाडिदिने गरेका छन् ।

गौशालाबाट जरिवाना तिरेर लगिएका गाई पनि पुनः सडकमै छाड्ने प्रवृत्ति रहेको गौशालाका कर्मचारी राउत बताउँछन् । ‘यहाँबाट जरिवाना तिरेर लग्छन् । अनि दूध दुहुने बेला साँझ बिहान घरमा राख्छन् । त्यसपछि फेरि सडकमै छाडिदिन्छन्’ उनले भने ।

उपमहानगरले गौशालामा त्यहाँ दुईजना मात्र कर्मचारी राखेको छ । राउतका अलावा सोनु कुमार मेस्तर छन् ।

अब खुल्ला पशु नियन्त्रण अभियान चलाउँछौं : मेयर साह

मेयर मनोज साह निर्वाचित भएर आएपछि छाडाचौपाया नियन्त्रणको लागि अर्को कानुनको ड्राफ्ट पनि तयार भएको थियो । तर मेयर साहले २०७९/८० को नगरसभामै नलगेको एक कर्मचारीले बताए ।

यता मेयर साहले अब पुनः खुल्ला पशु नियन्त्रण अभियान चलाउने बताए । ‘अब फेरि नियन्त्रण अभियान थाल्छौं । अब बस्ने कार्यपालिका बैठकमा यो मुख्य विषय बन्छ । कानुन पनि बनाउँछौं,’ उनले भने ।

सडकमा रहेको गाई दुर्घटनाले बेला मर्छ नै, तर गौशालामा पनि सुरक्षित छैन । उचित रेखदेख, उपचार र पर्याप्त खानपिन नहुँदा गाई मर्ने गरेका छन् । साउनयता गौशालामा ३ वटा गाई रोग लागेर मरेको स्थानीय बताउँछन् । तर, गौशालाका कर्मचारी राउत दुईवटा गाई मात्र मरेको स्वीकारे । ‘केही गाई बिरामी परेका थिए । उपचारपछि बाँचे । दुईवटा जति मरे,’ उनले भने ।

मेयर साहले वृद्ध गाईवस्तु मरेको हुन सक्ने दाबी गरे ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?