+
+

ओस्कार जितेको फिल्म ओपेनहाइमरबारे लेखक : ‘नोलनले अँध्यारो हलमा मलाई एक्लै छाडेका थिए’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते ९:४५
लेखक काइ बर्ड र ओपनहाइमरका निर्देशक नोलन ।

२८ फागुन, काठमाडौं । क्रिस्टोफर नोलनले निर्देशन गरेको ओपेनहाइमर फिल्मले अस्करमा सर्वश्रेष्ठ फिल्मसहित सातवटा विधामा अवार्ड जित्न सफल भयो । अमेरिकी परमाणु बम वैज्ञानिक रोबर्ट ओपेनहाइमरमाथिको जीवनी ‘अमेरिकन प्रमेथियस’मा आधारित रही बनेको  यो फिल्मले गत वर्ष विश्वभरि तहल्का मच्चाएको  थियो । यसका लेखक काई बर्ड अघिल्लो महिना नेपाल आएका थिए ।

आज अवार्ड समारोहमा निर्देशक नोलनले काई बर्डलाई र अर्का सहलेखक मार्टिन शेरविनलाई २५ वर्षसम्म अनवरत पुस्तक लेखनका लागि धन्यवाद दिएका छन् । उत्कृष्ट किताबमाथि सिनेमा बनाउन पाएकामा उनले खुसी पनि व्यक्त गरेका छन् ।

अस्कर जित्ने सर्वत्र अनुमानबीच काई बर्डले आफ्नो पुस्तकलाई सिनेमामा रुपान्तरण गर्दाको अनुभूति आफू र निर्देशक नोलनले कसरी साटेका थिए भनी अनलाइनखबरसँग सुनाएका थिए ।

काई बर्डले अर्का लेखक मार्टिन शेरविनसँग मिलेर सन् २००५ मै किताब लेखिसके पनि सिनेमा रुपान्तरण गर्न निकै समय लागेको थियो । उनले ओपनहाइमर फिल्मको मूल कथा अमेरिकन प्रमेथियस लेखेर विश्वप्रसिद्ध पुरस्कार पुलित्जर नै जित्न सफल भएका थिए ।

काईबर्डले आफ्नो किताबमा आधारित भएर बनेको सिनेमा ओपेनहाइमरबारे राखेका विचार र अनुभूति उनकै शब्दमा :

ओपेनहाइमर फिल्म उच्चकोटिको बनेको छ । क्रिस्टोफर नोलन विलक्षण प्रतिभा भएका निर्देशक हुन् भन्ने कुरा त यसअघि उनले बनाएका विभिन्न सिनेमाले नै पुष्टि गरिसकेका छन् । तैपनि आफ्नो किताबमा सिनेमा बन्दा कस्तो हुने होला भन्ने चिन्ता मलाई वास्तवमै थियो ।

तीन घन्टा लामो सिनेमाले ओपनहाइमरको व्यक्तित्व जीवन्त ढंगले क्याप्चर गरेको छ ।

उनको प्रेम जीवन, उनको राजनीति जस्ता विभिन्न कुरालाई मेरो किताबले मसिनो गरी चित्रण गरेको थियो । जीवनी भए पनि उनको जीवनभित्रको नाटकीयता, संवादहरू धेरैभन्दा धेरै उद्धृत थिए किताबमा ।

कुनकुन लाइन जस्ताको तस्तै किताबबाट सिनेमामा परेका छन् भनेर म सबै एक-एक भनिदिनँ सक्छु । यसरी मोटो किताबबाट संवाद र प्रसंगहरू सिनेमामा मज्जाले रूपान्तरण सक्नु डाइरेक्टरको साँचो खुबी हो ।

निर्देशक नोलानले सिनेमाको कथानकमा इतिहासलाई जस्ताको तस्तै ल्याए भन्ने त म मान्दिनँ । सिनेमामा केही बढाइचढाइ हुन्छ नै । जस्तो कि ओपनहाइमर र आइन्स्टाइनका बीचमा कतिपय काल्पनिक संवादहरू छन् ।

सिनेमाले किताबलाई गलत चित्रण गर्ने खतरा हलिउडमा सधैं हुन्छ । कति उपन्यास वा कथाको गलत चित्रण भइसकेको छ ! मेरो एउटा एकदमै मिल्ने लेखक साथी छ । उसले लेखेको उपन्यासमा सिनेमा बन्यो । उपन्यास एकातिर छ, सिनेमा अर्कैतिर । सिनेमा हेरिसक्दा ‘लौ, मैले यस्तो पनि लेखेको थिएँ र किताबमा’ भनी छक्क पर्ने अवस्था थियो मेरो साथीको ।

विधा परिवर्तन गर्दा केही तलमाथि त भइहाल्छ । मैले किताब सिनेमामा जस्ताको तस्तै आउनुपर्छ भन्न खोजेको पनि होइन । तर हलिउडका पटकथा लेखकहरूको पाराचाहिं कस्तो छ भने त्यसभित्र किताबको छायाचित्र चाहिं कहाँनेर आयो त भनेर टाउको समाउनुपर्ने अवस्था छ । यो त राम्रो अभ्यास भएन । यो फेरि एक-दुई पटकथाकारले गरेको होइन, धेरैले गरेका छन् । यो एक किसिमले हलिउडभित्रको संस्कृति जस्तै भइसकेको छ । यस्तो गर्नु गलत हो ।

तर म निकै भाग्यमानी बायोग्राफर हुँ । क्रिस्टोफर नोलनले मेरो किताबलाई पूरा इमानदारीसाथ सिनेमा बनाएका छन् ।

आफूले लेखेको किताबमा बनेको ओपनहाइमर पहिलोचोटि फिल्म पर्दामा हेर्दाको अनुभूति रोमान्चक छ ।

जापानमा ओपनहाइमरको प्रदर्शन विवादित भयो । त्यहाँ अहिले प्रदर्शन हुँदैछ । म विषयको गम्भीरता बुझ्न सक्छु । किनभने ओपनहाइमरले आविष्कार गरेको बमले हिरोशिमा र नागासाकीमा ठूलो ध्वंश गर्‍यो । त्यही बम बनाउने व्यक्तिबारे फिल्म बन्दा त्यहाँका नागरिकको मनमा केही न केही पर्ने नै भयो

निर्देशक क्रिस्टोफर नोलनले लस एन्जलस बोलाए । हलिउड त्यहीं छ । म क्यालिफोर्नियाबाट त्यहाँ पुगें । भोलिपल्ट बिहान १० बजे नोलनले कारमा राखेर मलाई हलिउड लगे । पूरै खाली हलको सबैभन्दा बीचको कुर्सीमा बसाए । त्यो सिट उनलाई सबैभन्दा मन पर्ने रहेछ । हामीले हलमा गएर हेर्ने पर्दाभन्दा धेरै ठूलो आइम्याक्स । पूरै अँध्यारो, पूरै खाली कोठामा जम्मा तीन जना थियौं- नोलन, उनकी पत्नी एम्मा र म ।

सिनेमा सुरु गरेपछि उनी पत्नीसँग पछाडिको सिटतिर गए । अब म एक्लै भएँ । उनले मलाई शो हेर्नका लागि प्राइभेसी दिए । आम्मामा, त्यो मेरा लागि पूरापूर मुभिङ एक्सपिरियन्स थियो ।

फिल्मलाई मेरो किताबसँग अधिक मिल्ने गरी रूपान्तरण गरिएको छ । तर सिनेमाले दिने इमोशनको अर्कै अर्थ छ । त्यहाँ कहीं पूरा रंगीन, कहीं पूरा श्याम-श्वेत खिचिएको थियो । ओपनहाइमरको भाव अनि वरिपरिको अवस्था बुझाउन धेरै अर्थपूर्ण रंगहरू प्रयोग गरिएका थिए । इमेजहरू पनि त्यस्तै ल्याइएका थिए, जसले दर्शकमा इमोशन पैदा गर्छ । मैले मार्टी र आफूले किताब लेख्ने बेला कल्पना गरेका दृश्यहरू सम्झें । अनि फिल्ममा देखाएका चित्र पनि याद गरें । कति लाइन, अनुच्छेदहरू फिल्ममा पनि ल्याइएका छन् ।

सिनेमा सकिएपछि उनी म बसेको सिटमा आए । मैले उठेर उनलाई निकैबेर अँगालो मारें । र, कानमा फुसफुसाएँ, ‘इट्स रियल्ली बि्रलियन्ट ।’ खासमा मलाई पनि आफ्नो किताबबारे डर थियो । किनभने मैले राम्रा किताबमा बनेका झुर सिनेमा हेरिसकेको थिएँ । तर निर्देशकसँग कूटनीतिक भाषा प्रयोग गरिराख्नुपर्ने कुनै जरूरी थिएन । मैले उनको काफी प्रशंसा गरें । आफूलाई लागेका कुरा पनि सुनाएँ । उनकी पत्नी एम्मालाई भनें ः लेखकहरूलाई आफ्नो सिनेमाबारे हुने आशंका अब मलाई रहेन । मैले नोलनको काम भर्खरै हेरें । यो स्पेशल सिनेमा हो ।

संसारभरिका दर्शकले यति अप्ठेरो विषय र व्यक्तिबारे बनाएको सिनेमा समेत असाध्यै मन पराइसकेका छन् । ओपनहाइमर ! जो नेपाल, भारत, चीनतिर खासै चिनिएका व्यक्ति होइनन् । मैले यता समेत त्यो सिनेमा अत्यधिक हेरियो भन्ने थाहा पाएँ । कतिपय सिनेमाले संवेगात्मक कुराहरूलाई किताबकै बराबर ल्याउन सक्दैनन् । कतिपय किताबले सिनेमाको इमोशन क्यारी नगर्न पनि सक्छन् । अलग विधा भएर पनि ओपनहाइमर व्यक्तिमा गज्जबले काम भयो । ७०० पेजको किताबमा तीन घन्टाको मुभी । गज्जबै हो !

उनको सिनेमाबारे मेरा सुझाव, परिमार्जनहरू खासै थिएनन् । त्यो निर्देशकको क्षेत्र हो, जहाँ म प्रवेश गर्ने होइन । तर स्क्रिन प्ले चाहिं नोलनले मलाई सिनेमा सुटिङ गर्नु पहिल्यै देखाएका थिए । त्यसमा केही इतिहासका तथ्यगत सामान्य त्रुटि थिए । त्यसमा चाहिं मैले सुझाव दिएको थिएँ । उनले सच्याए पनि ।

जापानमा भने ओपनहाइमरको प्रदर्शन विवादित भयो । अब बल्ल मात्रै उनीहरू प्रदर्शन गर्न लाग्दैछन् । म विषयको गम्भीरता बुझ्न सक्छु । किनभने ओपनहाइमरले आविष्कार गरेको बमले हिरोशिमा र नागासाकीमा ठूलो ध्वंश गर्‍यो । आफूहरूमाथि टार्गेट गरिएको बम बनाउने व्यक्तिबारे फिल्म बन्दा त्यहाँका नागरिकको मनमा केही न केही पर्ने नै भयो । त्यसको ट्रमा जापानमा अझै पनि छ । तर अहिले त्यो जापानी हलहरूमा प्रदर्शन हुन लाग्दैरहेछ । जापानी दर्शकले पनि इतिहासको कथा मानेर त्यसलाई हेर्ने नै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?