+
+

१६० वर्षे विरासत बोकेको ‘इन्टिलिजेन्ट’ कार निर्माता चांगान

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते १९:१०
हुवावे, सिएटीएल र चांगानको सहकार्यमा बनेको दिपल एस७

काठमाडौं । चीनको ‘टप फोर’ कार निर्मातामा पर्ने चांगान सन् १८६२ मा स्थापना भएको थियो । चांगानभन्दा पहिले अन्य धेरै ब्रान्डले कार बनाइसकेका थिए । तर, चांगानले उनीहरूका हरेक सीमा पार गरेको छ ।

बेन्ज मोटरवागनको नाममा पेटेन्ट दर्ता गरेको १ सय वर्षपछि मात्र चांगान कार उत्पादनमा लागेको थियो ।

१८६२ मा लि होङझाउले सांघाईमा फरेन गन ब्युरो सुरु गरेका थिए । उनी चीनमा शासन गरेको अन्तिम साम्राज्यवादी वंशज क्विङ शासनकालका राजनीतिज्ञ तथा सैन्य प्रमुख थिए । त्यो बेला क्विङ वंशजले आन्तरिक अस्थिरता, युरोपेली आप्रवासी र जापानी आक्रमणकारीको सामना गरेको थियो जसका लागि उनीहरूलाई हातहतियार आपूर्ति स्थिर रूपमा आवश्यक थियो ।

सांघाई फोरेन गन ब्युरो, १८६२

विभिन्न परिस्थितिले यो व्यापार सुरुमा सुझाउ र त्यसपछि नान्जिङमा स्थानान्तरण भयो जहाँ कम्पनीको नाम जियालिङ मेसिनरी ब्युरोमा परिणत भयो । त्यहाँ हतियारको व्यापारमात्र होइन, उत्पादन पनि हुनु थाल्यो । १८८४ मा भएको फ्रान्ससँगको युद्ध र १८९४ मा जापानसँगको युद्धमा यो कम्पनीले क्विङ वंशलाई हतियार आपूर्ति गरेको थियो ।

१९३७ मा जापानले फेरि चीनमाथि धावा बोल्यो र उसको अधिकांश भूभाग कब्जा गरेको थियो । त्यसपछि सुरक्षाका कारण यो हतियार कारखाना पुनः एकपटक मध्यचीनको चोङकिङमा सारियो जहाँ उसलाई ट्वेन्टी फर्स्ट आर्सनल भनिथ्यो । १९४९ मा जापानी फिर्ता भएपछि चीनको शक्तिमा कम्युनिस्ट आयो र यसको नियन्त्रण सैन्य उद्योग मन्त्रालय पुग्यो जुन पछि पिपल्स लिबरेसन आर्मी (पीएलए) मा परिणत भयो ।

जिप उत्पादन

१९५० को दशकमा पीएलए कारखानाले केही समयका लागि कार उत्पादन गर्न थाल्यो । उनीहरूले नियन्त्रणमा लिएको गाडी र पार्ट्सबाट विलिस जिप पनि बनाए । पछि उनीहरूले आइकनिक जिपमा आधारित भएर आफ्नै डिजाइनको गाडी पनि बनाए । १९५७ मा चाङजियाङ ४६ नामको अफरोड भेहिकल उत्पादन सुरु भयो । यसको खुसियालीमा कम्पनीको नाम फेरि परिवर्तन भयो– चांगान मेसिनरी म्यानिफ्याक्चरिङ प्लान्ट ।

चाङजियाङले १९६३ मा अर्को अफरोडर बनायो जुन १ हजार ४ सय युनिट उत्पादन भएको थियो । त्यसपछि सबै उत्पादन बेइजिङ सर्‍यो । त्यहाँ बेइजिङ अटोमोबाइल वक्र्सका नामबाट चाङजियाङ उत्पादन भइरहेकै थियो । चाङजियाङ आइकनिक बीजे२१२ को पुर्खा हो जसको उत्पादन जारी छ ।

जिपका लागि तयार गरिएको चांगजियांग ४६ एसयूभी

चीनमा शान्ति स्थापना भएपछि आर्थिक आधुनिकीकरण हुन थाल्यो । सरकारले हतियार कारखाना चलाइराख्न १९८० को दशकमा जापानी कार निर्माता सुजुकीसँग सम्झौता गर्‍यो ।

सरकारले हतियार उद्योग र नागरिक उड्डयनलाई कार निर्माण गर्ने लाइसेन्स दियो । हतियार शाखाले चांगान, हुआहे, क्विनचुआन, जियाङनान र जियाङबे सुजुकी बनाउन थाल्यो भने उड्ययन कम्पनीले चांगे, युन्क्यु, हफेई र डोङगान बनाउन थाले ।

यी ब्रान्डलाई तुरुन्त चांगानले लिड गरिसकेको थियो । चांगानका लागि हतियार निर्माता जियाङलिङ मेसिनरीले इन्जिन बनाउन थाल्यो । त्यसपछि दुई मिलेर एउटा कम्पनी बन्यो चांगान अटोमोबाइल ग्रुप जुन वास्तविक अटोमेकर बन्ने पहिलो पाइला थियो । यसको परीक्षण उत्पादन ८० को दशकको अन्तमा सुरु भयो र १९८९ मा क्यारी नामको कार बिक्री हुन थाल्यो ।

पश्चिमेली ब्रान्डसँग सहकार्य

१९९३ मा चांगानले सुजुकीसँग साझेदारीमा नयाँ गाडी अल्टो उत्पादन थालेको थियो । पछि स्विफ्ट पनि बन्न थाल्यो तर सुजुकीको लागो लगाएर । सुजुकीसँग मिलेर चांगानले ग्रान्ड भिटारा पनि बनाएको थियो । सुजुकी र चांगानको सहकार्य २५ वर्ष टिकेको थियो । तर, २०१८ मा सुजुकीले एक्कासि चिनियाँ बजार छाड्ने निर्णय गर्‍यो । तै पनि चीनलाई २०२३ सम्म एस क्रस, भिटारा अलिभियो जस्ता कार उत्पादन गर्ने स्वीकृति थियो ।

चांगानले अमेरिकाको फोर्डसँग पनि २००१ बाट सहकार्य थालेको थियो । उसले फोर्डका लागि फिएस्टा, मोन्डियो र फोकस जस्ता कार उत्पादन गरेको थियो । पछि चीनका लागिमात्र पनि चांगानले फोर्ड एस्कर्ट नामको क्रसओभर निर्माण गर्‍यो ।

त्यो बेला फोर्ड माज्दाको नियन्त्रणमा थियो । त्यो बेला भोल्भो एस४० र एस८० पनि बनाएको थियो । तर, २००८ को आर्थिक संकटपछि फोर्डले चीनमा भोल्भो र माज्दा दुवै छाड्नुपरेको थियो । त्यसैले फोर्डसँग चांगानको सहकार्य छोटो रह्यो । २०१२ मा फोर्ड र माज्दा अन्तर्राष्ट्रिय रूपमा छुट्टिएपछि माज्दाले चांगानसँग छुट्टै सहकार्य गर्न थाल्यो ।

चांगानले पीएसएसँग पनि मिलेर कार उत्पादन गरेको थियो । डोङफेङले फ्रान्सेली कार बनाउँदै आएको थियो तर पीएसएसले चांगानसँग मिलेर सेन्जेनमा नयाँ कारखाना खोल्यो । तर, पीएसएले चीनमा राम्रो गर्न सकेन र २०१८ पछि पुजो र सिट्रोन बिक्री तीव्र गतिमा झर्न थाल्यो ।

चांगान, हुवावे र सीएटीएलको साझेदारीमा बनेको दिपल ब्रान्डको एस७ इएसयूभी

अहिले चांगानले फ्युचरिस्टिक ईभी ब्रान्ड दिपल सुरु गरिसकेको छ । जसले एल७ र एल०३ जस्ता ईभी बजारमा ल्याइसकेको छ, जुन चीनमा मात्र होइन अन्य एसियाली मुलुकमा राम्रो प्रदर्शन गरिरहेको छ ।

विश्वकै चर्चित टेक्नोलोजी जायन्ट हुवावे र ब्याट्री निर्माण गर्ने कम्पनी सीएटीएलसँग मिलेर हाइपर्फमेन्स ईभीको निर्माण गरिएको हो । यी प्रिमियम र लक्जरी इलेक्ट्रिक एसयूभीहरु नेपालमा सार्वजनिक हुने तयारीमा छन् ।

साथै चांगानले नियोसँग मिलेर नयाँ ईभी टेक्नोलोजीको विकास गरिरहेको छ । साथै लुमिन र अवतार जस्ता फ्युचरिस्टिक ईभी ब्रान्डहरु पनि निकट भविष्यमा उत्पादन गर्ने तयारी गरिरहेको छ जुन नेपालमा पनि आउने कम्पनीले बताएको छ ।

चांगान चीनको टप फोर अटो ग्रुपमा पर्छ । कम्पनीका अनुसार १२ वटा निर्माण केन्द्र, ३३ वटा अटो इन्जिन कारखाना र चीन, जापान, इटाली, बेलायत, जर्मनी र अमेरिकामा रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरहरु रहेका छन् । हरेक दिन ८ हजार पाँच वटा चांगान गाडीको बिक्री हुन्छ । ६० भन्दा बढी मुलुकमा ६ हजारभन्दा बढी सेल्स र सर्भिस प्वाइन्ट छन् र एक लाख ५० हजार कर्मचारी छन् । र सन् २०२४ मा २८ लाख वटा गाडी बेच्ने लक्ष्य चांगानले लिएको छ ।

पहिलो विश्वयुद्धमा चीनका लागि हतियार उत्पादन गरेको चांगानले दोस्रो विश्वयुद्धपछि एसियाली महाशक्तिका लागि जिपको निर्माण गर्यो । त्यसपछि विभिन्न विश्वस्तरीय कार ब्रान्डसँग सहकार्य गर्दै आएको चीनले अहिले भने विश्वका लागि टेस्लासँग प्रतिस्पर्धा गर्ने दिपल ब्रान्डका इन्टेलिजेन्ट र फ्युचरिस्टिक लक्जरी इलेक्ट्रिक एसयूभीहरुको निर्माण थालिसकेको छ । यसलाई एमएडब्लु गु्रपले औपचारिक रुपमा नेपाल ल्याउने तयारी थालिसकेको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?