+
+

सिरानगाउँका स्थानीयले रोके फोहोर बोकेका ट्र्याक्टर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते २१:५३

२८ फागुन, बुटवल । बुटवल उपमहानगरपालिकाले मानव बस्ती नजिकै फोहोर थुपारेको भन्दै स्थानीयले अवरोध गरेका छन् ।

बुटवल उपमहानगरपालिका–११ को सिरानगाउँ मजुवाका बासिन्दाले संघर्ष समिति गठन गरी सोमबार उपमहानगरपालिकाबाट फोहोर ल्याएका १० वटा ट्र्याक्टरलाई फिर्ता पठाइदिएका हुन् । संघर्ष समितिले आफूहरुका माग पूरा गर्ने सुनिश्चित नगरेसम्म फोहोर फाल्न नदिने बताएको छ ।

उपमहानगरले चार वर्षदेखि सिरानगाउँ मजुवामा फोहोर फाल्दै आएको छ । त्यसक्रममा पक्की सडक बनाउने, नदी कटान रोक्न पर्खाल बनाउने, स्थानीयको स्वास्थ्य नियमित चेकजाँच गर्ने, रोजगारी दिने प्रतिबद्धता जनाएको नगरपालिकाले गरेको थियो । पर्खाल लगाउने बाहेक अरु प्रतिवद्धता पूरा नगरेकाले फोहोर रोक्ने निर्णय गरेको संघर्ष समितिका संयोजक विसन पोखरेलले बताए ।

‘उपमहानगरले बस्तीका लागि वर्षमा ५ लाख वजेट र पर्खाल लगाउने बाहेक अरु कुनै पनि प्रतिबद्धता पूरा गरेन, फोहोरले वस्ती दुर्गन्धित भएर बस्नै नसक्ने अवस्था भयो’ उनले भने, ‘अब कति समय फाल्ने हो, समय अवधि तोकिनुपर्छ र दीर्घकालीन निकास निकाल्नुपर्छ । अन्यथा यहाँ फोहोर फाल्न दिँदैनौं ।’

बुटवलमा अहिले दैनिक ७५ टन फोहोर उत्पादन हुँदै आएको छ । उपमहानगरले साविक बुटवल १५ को जितेश्वरी सामुदायिक वनमा फोहोर प्रशोधन केन्द्र निर्माण गर्न २०१० मा एसियाली विकास बैंक (एडीबी)सँग फोहोर प्रशोधन केन्द्रका लागि २८ करोडको सम्झौता गरेको थियो ।

तर स्थानीयको अवरोधपछि देविनगर र देवदह नगरपालिकाको सिमाना जोडिएको शिवनगर सामुदायिक वनमा विकल्प खोजिएको थियो । त्यहाँ पनि अवरोध भएपछि परियोजना फिर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?