+
+

देउवालाई प्रदेश सभापतिको ब्रिफिङ : गण्डकी र सुदूरपश्चिममा सरकार बनाउन सकिन्छ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १८:३६

२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेशको अंकगणित अनुसार सरकार बनाउनका लागि आवश्यक पहल गर्न प्रदेश सभापतिहरुलाई निर्देशन दिएका छन् ।

कांग्रेसका प्रदेश सभापति र मुख्यमन्त्रीहरु सभापति देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए । सभापतिले प्रदेशगत जानकारी सभापतिहरुसँग लिएका छन् ।

‘आआफ्नो तर्फबाट सरकार बनाउन प्रयास गर्न सभापतिले भन्नुभएको छ,’ सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले भने, ‘माथिबाट के गर्नुपर्छ भन भन्नुभएको छ ।’

सुदूरपश्चिम र गण्डकीमा सरकार बनाउन सकिने सम्भावना रहेको त्यहाँका मुख्यमन्त्रीले सभापति देउवालाई जानकारी गराएका छन् । ‘त्यहाँ अहिलेकै मुख्यमन्त्री रहिरहन सकिने सम्भावनाको बारेमा कुरा भएको छ,’ बागमती प्रदेशका सभापति इन्द्र बानियाँले भने ।

सुदरपश्चिममा कांग्रेसका कमलबहादुर शाह र गण्डकीमा सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् ।

बागमतीमा केन्द्रको गठबन्धनको बहुमत नपुग्ने हुँदा कांग्रेसले सरकार बनाउन सक्ने सम्भावना समेत रहेको बानियाँले बताए । प्रदेशमा सरकार बनाउन विचार मिल्नेसँग सहकार्य गर्न सभापतिले निर्देशन दिएको बानियाँले जानकारी गराए ।

कर्णालीमा कांग्रेसले सरकार बनाउने अवस्था नरहेकाले त्यसका लागि पार्टी नलागेको प्रदेश सभापति ललितजंग शाहीले बताए । ‘एमाले र माओवादीको बहुमत छ । हामीले किन टाउको दुखाउने?’ शाहीले भने । कोशी प्रदेशका सभापति उद्धव थापा छलफलमा उपस्थित हुन नसकेको बानियाँले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?