+
+

कांग्रेस संस्थापनइतरको भेला : एन्टिबायोटिकले उपचार गर्नुपर्नेमा सिटामोल खोजियो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १८:१९

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतरका नेताहरुले महासमिति बैठक कर्मकाण्डी नबनाउन नेतृत्वसँग माग गरेका छन् ।

पार्टीको महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका बारेमा छलफल गर्न भेला भएका संस्थापनइतर नेताहरुले महासमिति बैठकमा पार्टीको आन्तरिक र देशका राष्ट्रका समस्यालाई प्राथमिकता दिनुपर्ने मत राखेका हुन् ।

सोमबारदेखि सुरु हुने महासमिति बैठकले पुरानै प्रवृत्तिको दोहोर्‍याउन नहुनेमा सहभागीले जोड दिएका छन् । कांग्रेसमा चुनौतीहरु धेरै भएको तर त्यसलाई पार लगाउने गरी प्रतिवेदनहरु नआएको नेताहरुले बताए ।

समस्या समधानलाई एन्टिवायोटिकको आवश्यकता रहेकोमा सिटामोलले उपचार खोजिएको नेता देवराज चालिसेले बताए । ‘सिटामोलले ज्वरो घटाउन सक्छ । रोगको उपचार हुँदैन । उपचारका लागि सही एन्टिवायोटिकको आवश्यकता छ । प्रतिवेदनहरुमा एन्टी बायोटिकहरुको खोजी भएको छ । तर, भेटाइएन,’ चालिसेले भने ।

काठमाडौंमा भएको छलफलमा संस्थापनइतरका अर्का नेता भूपेन्द्रजंग शाहीले पार्टी पुरानै पाराबाट चल्न नसक्ने बताए । पार्टी काखा पाखा नीतिबाट सञ्चालित भएको भन्दै उनले मूले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे ।

‘निर्वाचन प्रणालीमा परिवर्तन, समान तथा न्यायोचित अवसर पार्टीमा हुनुपर्छ’, शाहीले भने, ‘एउटा व्यक्ति मात्रै बाराम्बार सांसद र मन्त्री किन ?’

बैठकमा सहभागी अर्का नेता मेदनी सिटौलाले पार्टीमा बहस पैरवी हुन नसकेको बताए । ‘विधान एकातिर छ । नेताको कार्यशैली अर्को तिर छ । पुराना नेताको वरिपरि राजनीति घुमिरहन वाध्य भएको छ,’ सिटौलाले भने ।

सहभागीहरुले संसदीय निर्वाचनको २ वर्ष अघि महाधिवेशन गर्न माग गरेका छन् । महासमिति बैठकले महाधिवेशनको कार्यतालिका पारित गर्नुपर्ने सहभागीहरुको धारणा छ । केन्द्रीय सदस्यहरु अनिवार्य वडा तहबाट महाधिवेशनमा छानिनुपर्ने माग उनीहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?