+
+

प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न : गोरखाका जनतालाई के जवाफ दिनुहुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १५:२२

३० फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन गरेर चुनाव जितेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई के जवाफ दिन्छन् भनी प्रश्न गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा रहेको भन्दै शर्माले प्रधानमन्त्रीले जनताले चुनावमार्फत बनाएको गठबन्धन भत्काएकाले विश्वासको मत नदिने बताए ।

कांग्रेसले द्वन्द्वको पीडा बिर्सेर माओवादीलाई भोट दिन कार्यकर्तालाई निर्देशन दिएको र त्यही भोटका आधारमा प्रचण्ड र धेरै माओवादी नेताले चुनाव जितेको शर्माले जिकिर गरे ।

अहिले निर्वाचन क्षेत्रमा गएर के जवाफ दिने भन्दै महामन्त्री शर्माले प्रचण्डलाई सोधे, ‘उथलपुथल भएको भनेर जवाफ दिने ? मसँग त अहिले दिने जवाफ छैन, गोरखाका साथीहरुलाई यहाँले दिने जवाफ छ ?’

प्रचण्डले माओवादीको बलमा कांग्रेस पहिलो दल भएको भनी दिएको अभिव्यक्तिको पनि शर्माले खण्डन गरे । गठबन्धन गरेर गएपछि एउटाले अर्कोलाई मत दिनु स्वभाविक भएको उल्लेख गर्दै उनले माओवादीले ल्याएको सिट पनि कांग्रेसको बलमा भएको नभुल्न आग्रह गरे ।

माओवादीले राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसले धोका दिएको आरोप लगाइरहेको छ । कांग्रेस महामन्त्री शर्माले ४ मंसिर २०७९ को प्रदेशसभा निर्वाचनमा कांग्रेस उम्मेदवार अमरसिंह पुन पराजित भएको र स्वतन्त्र उम्मेदवारी दिएका माओवादी नेताले चुनाव जितेको प्रसंग उठाए ।

‘माओवादीका साथीहरु लाइन लगाएर धारामा भोट हालेर जितेको कथा तपाईंको डकुमेन्टमा कहिं उल्लेख छ ?’ शर्माले प्रश्न गरे, ‘हामीले त कोशीको प्रकरणलाई उल्लेख गर्‍यौं ।’

प्रधानमन्त्री प्रचण्डले पालैपालो धोका दिने गरिरहेको भन्दै शर्माले पालैपालो विपक्ष रहेकाहरुको हिसाब जोड्दा प्रधानमन्त्रीप्रति कसैको विश्वास नदेखिएको जिकिर गरे । ‘विपक्षी बनाइएकाहरु एउटै पक्षमा उभिए भने नि ? धोका खाएकाहरु एक हौं भनेर लागे भने नि ?’ शर्माले उनलाई प्रश्न गरे ।

प्रधानमन्त्रीले कांग्रेसका कारण सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाएका थिए । शर्माले भने आफूहरु मन्त्री परिवर्तन गर्न तयार हुँदा पनि प्रचण्डले गठबन्धन नै परिवर्तन गरेको बताए ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसको महासमिति बैठकमा पेश भएका प्रतिवेदनमा चुनावी गठबन्धन नगर्ने विषय र सशस्त्र युद्धलाई नकारात्मक रुपमा उल्लेख गरिएको भन्दै आपत्ति जनाएका थिए ।

महामन्त्री शर्माले कांग्रेसले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई सोधेर नलेख्ने जवाफ दिए । ‘कांग्रेसले डकुमेन्ट कांग्रेसलाई सोधेर लेख्छ । देशको प्रधानमन्त्री कम्युनिस्ट पार्टीको नेतालाई सोधेर लेख्दैन’, शर्माले भने ।

महासमिति बैठकस्थल बाहिर कांग्रेसको एउटा पक्षले हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर संकलन गरेको विषयमा पनि प्रचण्डले प्रश्न उठाएका थिए
शर्माले भने पार्टीभित्र फरक फरक विचार रहेको भन्दै प्रधानमन्त्रीले हिन्दूराष्ट्रको एजेण्डा बोकेको राप्रपासँगै सहकार्य गरेको विषय उडाए ।

‘हिन्दुराष्ट्र, राजतन्त्र फिर्ताको माग गर्ने राप्रपासँग सरकारमा सहकार्य गर्दा फरक नपर्ने तर कांग्रेसमा केहीले फरक विचार राख्दा प्रतिगमन हुने ?’ शर्माले प्रश्न गरे ।

प्रधानमन्त्रीले विश्वासको मत नलिँदै तिन प्रदेशका प्रमुख हटाएको प्रति पनि शर्माले आपत्ति जनाए । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कांग्रेस कोटाबाट नियुक्त भएका मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त गरेको थियो ।

नयाँ गठबन्धन निर्माणले प्रदेश सरकारहरु अस्थिर बनेको र सदनमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल नभई विषयान्तर हुन पुगेको धारणा राखे ।

प्रधानमन्त्री प्रचण्डले गठबन्धन बदल्दा लुम्बिनीमा २८ र २९ फागुनमा आयोजना गरिएको लुम्बिनी शिखर सम्मेलन स्थगित हुन पुगेको र यसले मुलुकको अन्तर्राष्ट्रिय छविमा समेत नकारात्मक असर परेको शर्माले बताए ।

महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सत्तापक्ष भएपछि गालीको राजनीति अन्त्य हुने आशा गरेको तर व्यवहारमा उस्तै देखिएको भन्दै ब्यंग्य गरे ।

शर्माले विगतमा ओलीले प्रचण्ड र माधव नेपाललाई होच्याएर बोलेको पनि स्मरण गराए । एउटा पूर्वप्रधानमन्त्रीले अर्को पूर्व प्रधानमन्त्रीको कुरा गर्दा ‘मुख कुल्ला गर्छु’ भनेको भन्दै ओलीलाई कटाक्ष गरे ।

शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीले विगतमा पुराना दलका नेताहरुलाई नो नट अगेन भने पनि अहिले प्रचण्डलाई नै अगेन एण्ड अगेन भनेको टिप्पणी गरे ।

विगतमा प्रधानमन्त्री प्रचण्डले आरोप लागेकाहरुलाई मन्त्री बनाउँदिन भनेको भन्दै शर्माले अहिले वचन तोडेको बताए ।

शर्माले रास्वपा सभापति रवि लामिछानेको नाम नलिई राज्यले अनुसन्धान गरिरहेको व्यक्ति मन्त्री बनेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?