+
+

विश्वासको मत पाइरहँदा प्रचण्डले देखेको डर

सइन्द्र राई सइन्द्र राई
२०८० फागुन ३० गते २२:२८

३० फागुन, काठमाडौं । १० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार तेस्रोपटक विश्वासको मत पाएका छन् ।

उनलाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र गरी १५७ सांसदले मत दिए ।

नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका ११० सांसदले विपक्षमा र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल तटस्थ बसेका छन् ।

पहिलो पटक २६ पुस २०७९ मा विश्वासको मत लिँदा प्रचण्डले प्रतिनिधिसभामा असाधारण मत पाएका थिए । त्यसबेला सत्ता गठबन्धनमा नरहेका कांग्रेस, एकीकृत समाजवादी र लोसपाले समेत मत दिएकाले २७५ मध्ये २६८ सांसद प्रधानमन्त्री प्रचण्डको पक्षमा उभिएका थिए ।

तर १० पुसको गठबन्धन तोडेर प्रचण्डले कांग्रेसतिरै जाने निर्णय गरेकाले दुई महिनाभित्रै दोस्रोपटक विश्वासको मत लिनुपरेको थियो ।

दोस्रोपटक ६ चैत २०७९ मा विश्वासको मत लिँदा एमाले र राप्रपाले विपक्षमा मतदान गरेकाले प्रचण्डले १७२ मत मात्रै पाए भने विपक्षमा ८९ मत परेको थियो ।

१० पुसमा एमालेसँग गठबन्धन बनाउँदा प्रचण्डले प्रतिनिधिसभाको ५ वर्षको कार्यकालमध्ये आधा अर्थात साढे दुई वर्ष प्रधानमन्त्री हुने सम्झौता गरेका थिए ।

एमालेसँग गठबन्धन तोड्दा प्रचण्डले आफू प्रधानमन्त्री हुने अवधि घटाएर दुई वर्षमा झारेका थिए । तर त्यो दुई वर्ष नपुग्दै गत २१ फागुनमा फेरि एमाले, रास्वपा सहितको गठबन्धन बनाउने निर्णयमा पुगे ।

प्रचण्डले नयाँ समीकरण बनाएसँगै कांग्रेसले समर्थन फिर्ता लिएपछि उनी तेस्रोपटक विश्वासको मत लिने अवस्था सिर्जना भयो । तेस्रोपटक विश्वासको मत माग्न प्रतिनिधिसभामा उपस्थित हुँदा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग गठबन्धन तोड्ने निर्णय कुनै आवेग र कसैलाई सरप्राइज दिन नगरिएको तर्क गरे ।

‘पुरानो (कांग्रेस सहितको) गठबन्धन निरन्तरता गर्दा दिन कटाउने, काल पर्खने जस्तो हुने लाग्यो’, प्रचण्डको जवाफ थियो ।

दलगत रुपमा सांसदहरुले उठाएको प्रश्नमाथि जवाफ दिने क्रममा प्रचण्डले राजीनामा दिने विकल्पमा गठबन्धन परिवर्तन गरेको समेत बताए । ‘… राजीनामा या एकपटक अर्को गठबन्धन बनाएर जाने विकल्प बाँकी थियो’, प्रचण्डले भने ।

विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफल र त्यसको जवाफमा प्रचण्डले दिएको अभिव्यक्ति सुन्दा भने यो गठबन्धनप्रति स्वयं उनी नै संशकित रहेको अनुमान लगाउन सकिन्छ ।

किनकि उनले विपक्षमा मतदान गर्नेहरुप्रति मात्रै नभएर सत्ता सहयात्री दलहरुप्रति समेत आशंका र आक्रोश पोखे । विशेषगरी ‘कांग्रेस र एमाले मिलेर चलाए हुन्छ’ भन्ने प्रचण्डको अभिव्यक्तिले सत्ता सहयात्रीकै सांसदहरु अलमलमा देखिए ।

‘यहाँ हाम्रो माननीय केपी ओलीजीले बोल्दै गर्दा बोली नचल्ने भनेर एउटा भाषा प्रयोग गर्नुभयो, एउटा मर्मका साथ प्रयोग गरेको बुझेँ मैले । र उतापट्टी माननीय पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब बोल्ने हो भन्नुभयो’, प्रचण्डले भने, ‘बोल्नुहोस्, म भन्छु बोली फुकाउनुहोस्, बनाउनुहोस् सहकार्य ।’

जबकी छलफलकै क्रममा एमाले अध्यक्ष ओलीले फरक प्रसंगमा कांग्रेसले एमालेसँग बोल्न समेत नचाहेको तर्क गरेका थिए । ओलीले भनेका थिए, ‘वर्णाश्रम व्यवस्थामा के चल्दैन भनेको सुनेको थिएँ, कुरा चल्दैन भनेको चाहिँ नेपाली कांग्रेसबाट सुनियो । एमालेसँग कुरा चल्दैन ।’

तर देशको समस्या समाधान र संविधान कार्यान्वयन जस्ता विषयमा दलहरुबीच सहकार्य हुन सक्ने ओलीको तर्क थियो ।

‘म भन्न चाहन्छु, शेरबहादुरजीलाई बसौं, कुरा गरौं न । प्रतिपक्षमा बस्दैमा कुरा नचल्ने भन्ने हुँदैन’, ओलीको आग्रह थियो ।
आफ्नो सम्बोधनभर कांग्रेसप्रति आक्रामक देखिएका ओलीको यही एउटा शब्दलाई लिएर प्रचण्डले आशंका नै उत्पन्न हुनेगरी अभिव्यक्ति दिए ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल भने प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिनुमा केही दिन यताको घटनाक्रमले काम गरेको बताउँछन् । ‘कांग्रेसले ओलीसँग कुरा गरिरहेका छौं भनेर धम्क्याइरहेको थियो, आज पनि भनेपछि प्रधानमन्त्रीले जवाफ दिनुभएको हो’, उनी भन्छन्, ‘प्रधानमन्त्रीको कुरालाई लिएर एमालेसँग कुनै समस्या हुँदैन ।’

माथि रोष्ट्रमबाट ओलीले बोल्दा देउवाले तलबाट उत्साहित भएर जवाफ दिएकाले पनि प्रधानमन्त्री प्रचण्डबाट त्यस्तो प्रतिउत्तर आएको सचिव पौडेल बताउँछन् ।

तर प्रधानमन्त्री प्रचण्डले भने कांग्रेस र एमाले मिल्ने सम्भावनापछिको परिस्थितिबारे समेत बोले । ‘प्रेसर दिन घोचपेच चलेको छ, हामी मिल्यौं भने तेरो हालत के हुन्छ ? यसो भनेर पहिले पनि भनियो, आज पनि भनियो’, प्रचण्डको जवाफ थियो, ‘मेरो त कामना छ, तपाईंहरु मिल्नुहोस् । सबै मिल्नुस्, तपाईंहरु सबै मिल्नुभयो भने नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर फेरि देश र जनताको पक्षमा, संविधान रक्षाको पक्षमा, राष्ट्रियता सुदृढीकरणको पक्षमा लडिरहन्छ ।’

प्रचण्ड यतिमै रोकिएनन्, विगतमा माओवादी सशस्त्र युद्धमा रहेका बेला पनि सबै मिलेको प्रसंग उठाए । ‘हिजो तपाईंहरु सबै मिलेर टाउकै काट्न खोजेको हो नि त । डराउँछ माओवादी केन्द्र भन्ठान्नु भा छ । त्यस्तो हुँदैन’, प्रचण्डले भनेका थिए ।

एमालेका सचिव गोकर्ण विष्ट चाहिँ प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसद् चलिरहँदाको सम्वादको प्रतिक्रियाका रुपमा मात्रै बुझ्नुपर्ने बताउँछन् । ‘विगतमा हामीले गरेको अविश्वासले दुर्घटनामा पुगेका थियौं । त्यसबाट पाठ सिकेर विश्वास बढाउनेतिर लाग्नुपर्छ, अनावश्यक आशंका कतैबाट पनि उत्पन्न गराउन हुन्न’, उनी भन्छन् । विश्वासकै वातावरण बनाउँदा गठबन्धन फुटाउने चलखेल तोडिने उनी बताउँछन् ।

अर्का सत्ता साझेदार एकीकृत समाजवादीलाई त प्रधानमन्त्री प्रचण्डले मन नलागे विश्वासको मत नदिन सक्ने समेत बताए । ‘तपाईंको विवेकले, तपाईंको राजनीतिक दल, तपाईंको नेतृत्व, तपाईंहरुको नीति र कार्यक्रमले प्रधानमन्त्रीलाई एक चोटी मौका दिँदा ठीक लाग्छ दिनुस्, लाग्दैन नदिनुस्’, प्रचण्डले चर्को जवाफ दिएका थिए ।

हरेक राजनीतिक दल निर्णय लिन स्वतन्त्र रहेको तर्क गर्दै प्रचण्डले भने, ‘हामी आ–आफ्नो राजनीतिक मान्यता अनुसार, राजनीतिक मूल्य अनुसार देशलाई र जनतालाई आफ्नो नीतिमार्फत कसरी सेवा गर्न खोजेको हो त्यसमा स्वतन्त्र नै छौं ।’

ओलीको अभिव्यक्तिमा देउवा हौसिनुलाई नै आशंका गरेका प्रचण्डले एकीकृत समाजवादीप्रति आक्रोश पोख्नुमा राजेन्द्र पाण्डेको अभिव्यक्ति कारण थियो । एकीकृत समाजवादीका तर्फबाट संसदमा बोलेका उपाध्यक्ष पाण्डेले गठबन्धन फेर्ने निर्णयलाई अनैतिक भनेका थिए ।

‘हामीलाई बाटामा छोडेर, खोलाको बगरमा खोलाले ठुटोलाई घिसारेर बीचमा लगेर छाडेको जस्तोगरी छोडेर हिँड्नुभयो । यो भन्दा अनैतिकता के हुन्छ ?’ पाण्डेले भनेका थिए ।

एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे

सँगै, कांग्रेस र एमाले मिलेमा प्रचण्डको हैसियत कुन अवस्थामा पुग्छ भन्ने सम्झना समेत पाण्डेले गराएका थिए । ‘अघि भर्खर कुरा आएको छ, ओलीजी र शेरबहादुरजीले घाँटी जोडे तपाईंको हालत के हुन्छ ?’, उपाध्यक्ष पाण्डेले कांग्रेसका तर्फबाट बोलेका महामन्त्री विश्वप्रकाश शर्माको अभिव्यक्ति सम्झाएका थिए ।

सत्ता गठबन्धनकै एक नेता, विश्वासको मत लिइरहँदा प्रधानमन्त्री प्रचण्डले एमाले समेतलाई जोडेर आशंका र आक्रोश व्यक्त गर्नुमा पाण्डेको अभिव्यक्ति कारण भएको बताउँछन् ।

‘विश्वासको मत दिने भनेर उभिएको पार्टीको नेताले जसरी प्रचण्डलाई अनैतिक भने, त्यस्तो बोल्नु पनि अनैतिक हो’, उनी भन्छन्, ‘किनकि विश्वासको मत दिने भनेको त प्रधानमन्त्रीले लिएको निर्णयको समर्थन हो ।’

एमालेका अर्का नेता पनि प्रधानमन्त्री प्रचण्डले आशंका गर्नुको कारण एकीकृत समाजवादीका नेताकै बोली कारण हुनसक्ने अनुमान गर्छन् ।

‘उहाँहरु अहिले संसदीय गणितमा एकप्रकारले निर्णायक जस्तै हुनुहुन्छ । फेरि जसपाले पनि आक्रोश पोख्ने काम गर्‍यो’, ती नेता भन्छन् ।

एकीकृत समाजवादीका पाण्डे भन्दा अगाडि बोलेका जसपाका नेता राजकिशोर यादवले पनि आफ्नो सम्बोधनभर प्रधानमन्त्रीको आलोचना गरेका थिए । निर्धारित समयमा कुरा नसकेर लगातार बोलिरहेका यादवको माइक नै उपसभामुख इन्दिरा रानागमरले काटिदिएकी थिइन् ।

यादवले प्रधानमन्त्री प्रचण्डलाई चेतावनी नै दिएका थिए, ‘धेरै प्रयोग गरिरहने मान्छे त हुनुहुन्छ, तर कहिलेकाहीँ इनफ इज इनफ भन्छ नि ।’

प्रधानमन्त्रीलाई अभिमन्यूसँग तुलना गरेका यादवले यो सरकारकै कार्यकालमाथि समेत प्रश्न उठाएका थिए । ‘तपाईंको कार्यकाल कति लामो हुन्छ भन्न सक्दिन’, यादवले भनेका थिए, ‘तर तपाईंले गरेको प्रतिवद्धता अनुसार, हामी आफ्नो भाग खोज्छौं । जहाँ हाम्रो भाग न्यायसंगत लागेन, त्यतिबेला हामीले हिसाब माग्नेछौं र त्यो हिसाब अप्रिय पनि हुन सक्छ ।’

यादवकै जस्तो चेतावनी एकीकृत समाजवादीका पाण्डेको समेत थियो । उनले भनेका थिए, ‘बजेट निर्माणमा सांसदहरुको भूमिका भएन भने भोट हाल्ने अवस्थामा रहन्नौं ।’

अर्थात् आवश्यक परे सत्ता गठबन्धन परिवर्तन गर्न सक्ने संकेतसहित एकीकृत समाजवादी र जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिए । यस्तो संकेत बुझेपछि प्रधानमन्त्री प्रचण्डले पनि सके गठबन्धन फेरे हुने जवाफ दिए ।

‘आजित भएँ भनेर विहान एउटा शब्द प्रयोग गरेको छु । त्यहाँ (कांग्रेससहितको गठबन्धन) भित्रका कचिङ्गलहरुको कारणले मलाई हैरान/परेसान पारेको थियो । फेरि त्यस्तै हुने हो भने त्यसले पनि काम गर्न सक्ने वातावरण नबन्ला कि भन्ने चिन्ता मलाई भएको छ’, प्रचण्डले भनेका छन् ।

अझ अगाडि बढेर प्रचण्डले रवि लामिछानेलाई कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गरेकोदेखि ४८ घण्टाभित्रै सत्ता ढाल्ने खेल भएको प्रसंग समेत संसदमै बताएका छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?