+
+
ब्लग :

विश्वविद्यालयले पर्खिरहेको विद्यार्थी राजनीतिको रूपान्तरण

सीआईबी वा अरु कुनै निकायले विद्यार्थी संगठन र स्ववियु नेतृत्वको हर्कत सूक्ष्म अनुसन्धान किन गर्दैन ? विश्वविद्यालयले उनीहरूलाई थेगिरहेको, पालिरहेको छ। मानौं उनीहरूको बोझ थेग्नु उसको प्राथमिक दायित्व हो!

 

विदुरप्रसाद दाहाल विदुरप्रसाद दाहाल
२०८० चैत १ गते १५:५९

विद्यार्थी परिवर्तनका संवाहक हुन्। एकदलीय व्यवस्था परिवर्तनमा विद्यार्थीको ठूलो भूमिका थियो। नेपालमा व्यवस्था परिवर्तन भएको लामो समय भइसकेको छ। अबको आवश्यकता अरु होइन; अवस्था परिवर्तन हो। तर विडम्बना विश्वविद्यालयहरूमा पुरानै पाराले तालाबन्दी, तोडफोड, बन्द-हडताल, धाक-धम्की, बेइमानीको निरन्तरता छ।

विश्वविद्यालयहरू अध्ययन, अध्यापन र अनुसन्धानका केन्द्र हुन्। तर यहाँ प्राज्ञिक कामले प्राथमिकता पाएको छैन। बरु राजनीति गर्ने र कमाउने अखडा बनेका छन्। हरेक दिन विद्यार्थीहरू बाहिरिइरहेका छन्। देश छाडिरहेका छन्। यसले क्याम्पसमा राजनीति गर्ने विद्यार्थी नेतालाई पोलेन।

किन विद्यार्थी विदेश जाँदैछन्? ड्रपआउट किन छ? भन्ने कुराको खोजी गरेनन्। अनि केको लागि विद्यार्थी राजनीति ? कसका लागि विद्यार्थी राजनीति ?

यो जर्जर अवस्थामा पनि विश्वविद्यालयहरूलाई विद्यार्थी राजनीतिले गिजोल्न छोडेको छैन। आलेखको आशय विद्यार्थी राजनीतिलाई आलोचना गर्नु नभई विद्यार्थी राजनीतिले सुधारको मार्ग तय गर्नुपर्छ भन्ने हो। विद्यार्थी राजनीति विश्वविद्यालय सुधारको औजार बन्नुपर्छ। सबैले आत्मसमीक्षा गरेमा विश्वविद्यालय सुधार सम्भव छ।

अहिले विश्वविद्यालयहरूलाई राजनीतिले थिलथिलो बनाएको छ। विद्यार्थी राजनीतिका साथसाथै शिक्षक/कर्मचारीको राजनीतिले अवस्थालाई सुधार्ने भन्दा बिगार्ने काम गरेको छ। त्यति मात्र होइन; दलहरूको राजनीति विश्वविद्यालयभित्र नराम्रोसँग घुसेको छ। दलहरूले कार्यकर्ता उत्पादन गर्ने थलोका रूपमा विश्वविद्यालयलाई लिएका छन्।

विद्यार्थी, शिक्षक र कर्मचारीको पार्टीगत राजनीतिलाई निरुत्साहित गर्न दलहरूले कुनै प्रयास गरेनन्, बरु प्रोत्साहन गरे। दलहरूको मति फिर्ला भन्ने अनुमान थियो तर फिरेन। विश्वविद्यालयलाई राजनीतिले थप गिजोल्यो। विश्वविद्यालयको अवस्था झन् खराब भयो।

कुनै बेला देशमा एकदलीय व्यवस्था हुँदा वाक् स्वतन्त्रता कुण्ठित थिए। जनताका मौलिक हकहरू वर्जित थिए। एकदलीय व्यवस्थाको अन्त्य र प्रजातन्त्रको बहालीलाई विद्यार्थी सँगसँगै विश्वविद्यालयले सघाएको थियो। त्यो कालखण्डको परिवर्तनलाई दुनियाँले तारिफ गरेका छन्। विद्यार्थी संघ-संगठन र स्ववियुहरूले प्रजातन्त्रको बिगुल फुके। एकदलीय व्यवस्था धर्मरायो। त्यो विद्यार्थी राजनीतिको उपलब्धि थियो। तर अहिले विद्यार्थी राजनीति बरालिएको छ। त्यसले बाटो बिराएको छ। विगतको सुनौलो इतिहासलाई विद्यार्थी युनियन र संघ–संगठनले कुरूप बनाउँदै छन्।

विदुरप्रसाद दाहाल

समयसँगै व्यवस्था फेरियो तर विद्यार्थीको राजनीति फेरिएन। परिवर्तनको अगुवा बनेको विद्यार्थी राजनीति थप विकृत भयो। पार्टीहरूलाई भरथेग गर्ने र दलका कार्यकर्ता उत्पादन गर्ने कारखाना भयो। त्यहाँसम्म त ठिकै थियो। हुँदाहुँदा शिक्षालयहरू विद्यार्थी नेताको कमाइ गर्ने तथा राजनीति गर्ने प्लेटफर्म भए।

संघ-संगठन, त्यसको नेतृत्व र क्याम्पसहरूमा काका र दाइहरूको राज छ। क्याम्पस परिसरमा सधैं नियमितता हुन्छ। तर पढ्ने कक्षा कोठामा होइन। पढाइ उनीहरूको मूल उद्देश्य होइन। गज्जबको प्रणाली विकास गरेका छन्। स्ववियुको पूरै टिम, संघ–संगठनका स्थानीय नेतृत्व तथा आसेपासेहरू बिहानदेखि बेलुकासम्म क्याम्पसमा घुमिरहेका हुन्छन्। मानौं उनीहरू सुरक्षा कर्मचारी हुन्।

वास्तवमा तिनीहरू नै हुन् क्याम्पस प्रशासनलाई गिजोल्ने। अनावश्यक माग राखेर अवस्थालाई थप बिगार्नेहरू। जसरी तसरी कमाइको मेसो मिलाउनु उनीहरूको मुख्य उद्देश्य हो। शैक्षिक मुद्दा देखाउने दाँत मात्र हुन्। प्रशासनले गर्ने काममा हस्तक्षेप, परीक्षा कार्यक्रममा सेटिङ, परीक्षाको मर्यादा बिगार्ने, क्याम्पसभित्र हुने ठेक्कापट्टामा अप्रत्यक्ष सहभागिता।

त्यस्तै, प्रशासनिक खरिद कार्यमा अनावश्यक हस्तक्षेप, खेलकुदको नाममा कमाउने धन्दा, छात्रवृत्ति र धरौटी शुल्कहरूमा अवैध तरिकाले आँखा लगाउँछन् भन्ने सर्वसाधारणको गुनासो छ।

विद्यार्थीका नाममा हुने यस प्रकारका क्रियाकलापले सीमा नाघेको आक्रोश पोख्छन्। सीआईबी वा अरु कुनै निकायले उनीहरूका हर्कत सूक्ष्म अनुसन्धान गरिदिए कति जाती हुन्थ्यो ! विश्वविद्यालयले उनीहरूलाई थेगिरहेको छ, पालिरहेको छ। मानौं उनीहरूको बोझ थेग्नु विश्वविद्यालयको दायित्व हो।

यो खालको अवस्था नरोके विश्वविद्यालयको अधोगति अझै निश्चित छ। विश्वविद्यालयका राम्रा निर्णयमा पनि विद्यार्थीले हस्तक्षेप गर्छन्, कामै गर्न दिंदैनन्। हस्तक्षेपको एक मात्र उद्देश्य अन्तरकुन्तरमा कमाउने, रस चुस्ने र संगठनलाई बलियो बनाउने हुन्छ।

यस्ता काम गर्न विद्यार्थी संघ-संगठन चाहिएला ? विद्यार्थी राजनीति चाहिएला ? पार्टीहरूलाई आफ्ना भ्रातृ संगठनको गतिविधि थाहा होला कि नहोला? यो राजनीतिले कसैलाई भलो गर्दैन। अन्त्यमा पार्टीकै छविमा पनि आँच आउँछ।

राजनीतिक दलले बेलैमा आफ्ना भनिएका विद्यार्थी कार्यकर्तालाई तह लगाउनुपर्छ। विश्वविद्यालय सपार्ने हो भने अहिलेको विद्यार्थी राजनीतिलाई परिष्कृत गर्नुको विकल्प छैन। विश्वविद्यालयभित्र संघ–संगठनका पसलहरू बन्द गर्नुपर्छ। उनीहरूको गतिविधि र राजनीतिलाई निषेध गर्नुपर्छ। राजनीतिमुक्त विश्वविद्यालय आजको आवश्यकता हो।

विद्यार्थी संघ–संगठनहरूले मानिसलाई भ्रममा पार्छन्। देख्दा र कागजी रूपमा लेख्दा शैक्षिक माग देखिन्छन् तर ती सबै छद्म हुन्छन्। विश्वविद्यालयको उन्नयनका लागि विद्यार्थीका हर गतिविधि र क्रियाकलाप सहयोगी हुनुपर्ने हो। तर भएनन्। यसको लागि वर्तमान स्ववियु संरचना समेत परिमार्जन गर्नुपर्छ।

हरेक कक्षाका टपर विद्यार्थीहरू कक्षाको नेता हुने र तिनै उत्कृष्ट मध्येबाट एक वर्षको लागि विद्यार्थी प्रतिनिधि हुने व्यवस्था विश्वविद्यालय ऐन-नियममा गर्नुपर्छ। त्यसले विश्वविद्यालय भित्र हुने विद्यार्थीको विकृत राजनीति कम गराउन सहयोग गर्नेछ।

उत्कृष्ट विद्यार्थी फोहोरी राजनीतिमा पक्कै रमाउने छैनन्, त्यो आशा गर्न सकिन्छ। राजनीतिक दलले पनि यो पवित्र उद्देश्यमा सघाउनुपर्छ। विश्वविद्यालयले पनि तत्काल सुधारका कार्ययोजना सार्वजनिक गर्नुपर्छ। विश्वविद्यालय सुधार्नु बाहेक अर्को विकल्प छैन।

विश्वविद्यालय भित्र शिक्षक/कर्मचारीको व्यवहार गतिलो छ भन्ने पटकै होइन। केही शिक्षक; शिक्षक जस्ता छैनन्, कर्मचारी; कर्मचारी जस्ता छैनन्। उनीहरू पनि पार्टीका प्रतिनिधि जस्ता देखिन्छन्। यस्ता विकृति अनगिन्ती छन्। तर तिनीहरूलाई वैधानिक तरिकाले सच्याउन सकिन्छ।

अदालत छ। अख्तियार छ। उनीहरूको कामको अडिटिङ हुन्छ। विश्वविद्यालयको मूल्याङ्कन गर्ने प्रणाली छ। त्यसबाट सुधार गर्न सकिन्छ। खुला प्रतिस्पर्धाबाट आएका पदाधिकारीबाट केही आशा गर्न सकिन्छ। त्यसैले पदाधिकारीको ध्यान विश्वविद्यालयभित्र सुशासन बहाली गराउने, राजनीतिक नेतृत्वलाई सम्झाउने तथा विद्यार्थी संगठन मार्फत हुने अति-राजनीतिलाई निराकरण गर्ने प्रयास गर्ने हुनुपर्छ।

सकिन्छ भने विश्वविद्यालयभित्र संघ-संगठनका माध्यमबाट हुने राजनीतिलाई अवैध घोषणा गर्नुपर्छ। विद्यार्थीका संगठनलाई नै अस्वीकार गर्नुपर्छ। समग्र विश्वविद्यालयलाई विकृत राजनीतिबाट मुक्त गर्ने ध्येय हुनुपर्छ। यसका लागि विश्वविद्यालयका ऐन-नियममा समसामयिक परिवर्तन गर्नु पहिलो शर्त हुनेछ।

विश्वविद्यालय बुझेकी युवा शिक्षा मन्त्रीबाट थप आशा गर्न सकिन्छ। विश्वविद्यालय सम्बन्धी केही ऐन–नियम परिवर्तनले एउटा परिवेश बन्छ, जुन गर्न सकिने सजिलो काम हो। वर्तमानका शैक्षिक नेतृत्वलाई विश्वविद्यालयको कुलमान बन्ने अवसर छ। उनीहरूले आँट गर्नुपर्छ। जोखिम लिनुपर्छ।

लेखक त्रिभुवन विश्वविद्यालयमा कार्यरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?