+
+

स्वतन्त्र देखिए पनि हामी शक्ति राष्ट्रको नियन्त्रणमा छौं : चित्रबहादुर केसी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १८:४३

१ चैत, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको अर्थतन्त्र कमजोर भएका कारण पश्चिमाहरूको प्रभाव रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै उनले निरंकुश पञ्चायतकालमा बरु नेपाल अहिलेभन्दा आत्मनिर्भर रहेको बताएका हुन् ।

उद्योगधन्दा र कलकारखाना अहिलेभन्दा धेरै रहेको उल्लेख गर्दै सांसद केसीले त्योबेला स्वास्थ्य र शिक्षाको जिम्मा पनि धेरै हदसम्म राज्यले लिएको बताए । तर पश्चिमाहरूले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा निजीकरणको अवधारणा संसारभर फैलाएको र नेपाल पनि प्रभावित भएको केसीले बताए । ‘जब पश्चिमाहरूले सरकारले त्यो देशको जनताको शिक्षा, स्वास्थ्य, रोजगारीको जिम्मा लिन हुन्न, त्यो व्यापारीलाई दिने भने । नेपालको अहिलेको अर्थतन्त्रको अवस्थाको मुख्य सैद्धान्तिक कारण यहाँनेर छ’, उनले भने ।

पश्चिमाहरुको प्रभावका कारण नेपाल अहिले पनि अर्ध औपनिवेशिक अवस्थामा रहेको सांसद केसीले बताए । ‘अहिले पनि हामी पूर्ण रूपले स्वतन्त्र छैनौं । नेपालका प्राकृतिक साधन स्रोतमाथि हाम्रै स्वामित्व छ कि छैन ?’ अध्यक्ष केसीले प्रश्न गरे, ‘नेपालको सबैभन्दा ठूलो स्रोत जलस्रोत हो । यसमाथि कब्जा कसको छ ?’ केसीले अगाडि भने, ‘छातीमा हात राखेर भन्नुस् त– नेपालका ठूला नदी नालामाथि कसको कब्जा छ ? कोशी कसको कब्जामा छ ? महाकाली कसको कब्जामा छ ? माथिल्लो कर्णाली कसको कब्जामा छ ?’

नेपालले लिएको वर्तमान अर्थतन्त्र सम्बन्धी नीतिमै पुनरावलोकन आवश्यक रहेको उनको भनाइ छ । नेपाली स्रोतमाथि नेपालकै स्वामित्व स्थापित हुने गरी राज्यले नीति लिनुपर्ने केसीको सुझाव छ । ‘नेपालको जलस्रोत नेपाली जनताको स्वामित्वमै छैन’, उनले भने, ‘नेपालको ठूलो स्रोत जलस्रोत हो । त्यो हाम्रो पूरा नियन्त्रणमा छैन ।’

नेपालका अन्तर्राष्ट्रिय विमानस्थल चल्न नसक्नुमा पनि बाह्य कारण रहेको केसीले बताए । ‘हामी एयरपोर्ट बनाउँछौं, प्लेन किन्छौं तर, बाटो पाउँदैनौं । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल छ, पोखरामा छ, तर छिमेकीले बाटो दिन्न । हामी कक्रक्क परेर बसिराखेका छौं’, उनले भने ।

शिक्षामा उदारीकरण भएसँगै नेपालको पाठ्यक्रममा विदेशी प्रभाव परेको पनि उनले बताए । केसीले भने, ‘हामीले हाम्रा विद्यार्थीहरूलाई पढाइरहेको के हो ? यो देशमा केही हुन्न, यहाँ संसदभित्र रहेका सबै सांसदका छोराछोरी कहाँ छन् छातीमा हात राखेर भन्नुहोस् त ।’

नेपाल पूर्ण स्वतन्त्र हुन नसकेको वा अर्ध औपनिवेशिकतामा रहेकाले यस्तो भएको अध्यक्ष केसीको दलिल छ । ‘हामी अर्ध औपनिवेशिकताबाट मुक्त हुन सकेका छैनौं’ उनी थप्छन्, ‘स्वतन्त्र देखिए पनि हामी शक्ति राष्ट्रहरूको नियन्त्रणमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?