+
+

गाउँलेको निगरानी गर्दै जासूस गाई

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १३:२१

काठमाडौं । तपाईंले जासूस मान्छेको बारेमा त सुन्नुभएकै छ । परेवा लगायतका चरामा समेत चिप जडान गरेर विभिन्न मुलुकहरुले जासूसी गरेको पनि सुनिएको थियो । तर के तपाईंले जासूसी गर्ने गाईको बारेमा सुन्नुभएको छ ?

हालै एउटा यस्तै घटना भएको छ । डेलीस्टारका अनुसार इजरायलले गाईलाई जासूसीको तालीम दिइरहेको छ र ती जासूस गाईहरुले प्यालेस्टाइनका ग्रामीण क्षेत्रका मानिसहरुको निगरानी गर्नेछन् ।

प्यालेस्टाइनी पत्रिका अल हयात अल जदीदाको दाबी अनुसार खिरबेट यानुन गाउँका एकजना वृद्ध रुश्द मोरारले एउटा घुमिरहेको नयाँ गाई देखेका थिए । त्यो गाई जासूस गाई रहेको बताइएको छ ।

इजरायलले मोरार लगायतका गाउँलेहरुको जासूसीका लागि सो गाईलाई भर्ती गरेर तालीम दिइरहेको दाबी उनको छ । मोरारका अनुसार खिरबेट यानुनका साना ठूला सबै चिजको निगरानी गर्नका लागि गाईको गर्धनमा एउटा तक्माजस्तै चिज झुण्डाइएको छ । त्यसमा सुन्ने र रेकर्ड गर्ने डिभाइस हुन्छ र कहिलेकाहीँ क्यामेरा पनि लगाइएको हुन्छ ।

उनी भन्छन्– मानिसहरुमाथि विभिन्न प्रकारका अपराधहरु भैरहेका छन् । उनीहरु आफ्नो युद्धमा जुन साधन अपनाउँछन् त्यो असीमित छ । हत्यादेखि सडकमा कार ठोक्काउने, अनाजलाई जलाइदिने, रुख ढालिदिने तथा जग्गाजमिन खोसिदिनेदेखि किसानको जग्गामा जंगली सुँगुर छाडिदिनेसम्मका अपराध भैरहेका छन् ।

सुरुमा यस्तो दाबी सन् २०२३ को जनवरीमा सार्वजनिक भएको थियो । तर यो हप्ता पुनः अरु कसैले यस्तो दाबी गर्यो । स्मरण रहोस् यसबेला गाजामा इजरायल र हमासबीच युद्ध चलिरहेको छ । खिरबिट यानुन गाउँ चाहिँ पश्चिमी किनाराको मध्य भागमा अवस्थित एउटा गाउँ हो ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?