+
+

जापानी फिल्म फेस्टिभल काठमाडौंमा सुरु, पाँच फिल्म स्क्रिनिङ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १७:०७
शनिबार प्रदर्शन हुन लागेको फिल्म ‘नेको निन्जा’को एक दृश्य

काठमाडौं । जापानी फिल्म फेस्टिभल २०२४ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । पोखरामा फेस्टिभल सम्पन्न भएको पाँच दिनपछि काठमाडौंमा महोत्सव सुरु भएको हो ।

शुक्रबार र शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा फेस्टिभल चल्नेछ । मार्च २० र २१ मा पानीपोखरीस्थित दूतावासको हलमा पनि फेस्टिभल हुनेछ । शुक्रबार केन्जी उचिदा निर्देशित १२५ मिनेट लामो कमेडी फिल्म ‘की अफ लाइफ’ प्रदर्शन गरिएको छ ।

शुक्रबार नै ‘स्कुप हन्टर’ समेत स्क्रिनिङ भएको छ । सन् २०१३ मा रिलिज भएको यो फिल्मले एक पत्रकारको कथा भन्छ जो जापानी नागरिकको जीवन अवस्थाको रेकर्डका लागि समय यात्रामार्फत १६ औं शताब्दीमा फर्किन्छ ।

शनिबार यासुकी साकाकीबारा निर्देशित फिल्म ‘सियोरी’ स्क्रिनिङ हुँदैछ । पिता बिरामी भएर कमजोर बनेपछि मासाया नामक छोराले असहाय महसुस गरेको कथा यसमा छ । भोलि नै ताकेसी वातानावे निर्देशित फिल्म ‘नेको निन्जा’ स्क्रिनिङ हुँदैछ । सोही दिन अर्को फिल्म ‘कामोमी डिनर’ पनि देखाइँदैछ ।

फिनल्याण्डको हेलसिन्कीमा होटल खोलेकी जापानी महिलाको कथावस्तुमा यो फिल्म बनेको छ । शनिबार जापानी डे समेत मनाइने भएकाले उक्त अवसरमा चित्रकला लगायतका प्रस्तुति पनि दिइने भएको छ ।

फेस्टिभलले नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउन भूमिका खेल्ने दूतावासको सांस्कृतिक विभागकी सचिव सातो मायाकुले अनलाइनखबरलाई बताइन् । पछिल्लो समय नेपालमा जापानी एनिमे फिल्म रुचाइने गरेको र जापानमा नेपाली फिल्म प्रदर्शन हुन थालेको कुरालाई उनले सकारात्मक संकेतको रुपमा लिइन् ।

जाल्टान र लानसँगको सहकार्यमा जापान फाउण्डेसन र जापानी दूतावासले फेस्टिभल आयोजना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?