+
+

टिकटकबाट हुने राष्ट्रिय सुरक्षा खतराबारे अध्ययन गर्दै क्यानडा, के प्रतिबन्ध होला ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३ गते १३:५६

अमेरिकामा प्रतिबन्धको संघारमा पुगेको टिकटकले क्यानडामा समेत त्यही नियति भोग्ने जोखिम बढेको छ ।

क्यानडाका उद्योग मन्त्रीले चिनियाँ एप टिकटकद्वारा व्यवसाय विस्तारका लागि राखिएको प्रस्ताव उपर राष्ट्रिय सुरक्षा समीक्षा सुरु गरिएको पुष्टि गरेका छन् ।

उक्त समीक्षाको नतिजा पश्चात् क्यानडामा आफ्नो बजार विस्तार गर्ने टिकटकको योजना रोकिने सम्भावना छ ।

न्युज एजेन्सी रोयटर्सका अनुसार क्यनडामा व्यवसाय विस्तार गर्नका लागि सहमति प्रदान गर्न टिकटकले गत वर्ष सन् २०२३ मा क्यानडा सरकारसँग अनुरोध गरेको थियो ।

सो निवेदनका विषयमा सरकारले समीक्षा सुरु गरेको छ र त्यसलाई क्यानडाको राष्ट्रिय सुरक्षासँग जोडिएको छ । त्यसैले उक्त अध्ययनले टिकटकको विस्तार रोक्ने लगायतका विभिन्न उपायहरु सुझाउने सम्भावना रहेको बताइएको छ ।

यदि त्यस्तो भएमा यसले टिकटकको चुलिंदो समस्यामा झनै आगोमा घिउ थप्नेछ । क्यानडाको राष्ट्रिय कानून अनुसार कुनै पनि विदेशी कम्पनीको लगानीसम्बन्धी प्रस्ताव आउँदा सरकारले उक्त लगानीबाट देशको राष्ट्रिय सुरक्षामा पर्नसकने सम्भावित जोखिमका विषयमा मूल्यांकन गर्नुपर्दछ । उक्त कानुन अनुसार सरकारले यस्तो अनुसन्धानको विस्तृत विवरण तथा नतिजा सार्वजनिक गर्न पाउँदैन ।

यसका साथै क्यानडाको गोपनीयता आयुक्तले पनि टिकटकले गर्ने प्रयोगकर्ताको व्यक्तिगत डेटा संकलन, प्रयोग र खुलासाका विषयमा अनुसन्धान गरिरहेका छन् ।

गत वर्ष क्यानडाले त्यहाँका सरकारी उपकरणहरुमा टिकटक प्रतिबन्ध गरेको थियो । टिकटकले सुरक्षा र गोपनियतामाथि स्वीकार नै गर्न नसकिने तहको जोखिम खडा गरेको ठहर सरकारको थियो ।

गत हप्ता मात्रै अमेरिकाको तल्लो सदनले एउटा विधेयक पारित गरेको छ जस अनुसार टिकटकको मातृ कम्पनी बाइटडान्सले अमेरिकामा टिकटक बिक्री गर्नुपर्नेछ र नगरेमा टिकटकमाथि प्रतिबन्ध लाग्नेछ।

क्यानडा सरकार के भन्छ ?

यद्यपि रोयटर्सलाई दिएको वक्तव्यमा क्यानडाको उद्योग मन्त्रालयले सरकारले गर्ने समीक्षा टिकटकको लगानी योजनामा मात्रै केन्द्रित रहेको र अमेरिकामा जस्तो टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने तर्फ लक्षित नरहेको प्रष्ट पारेका छन् ।

सरकारका प्रवक्ता भन्छन्, ‘हाम्रो सरकारले अमेरिकी सांसदहरुले प्रस्ताव गरेको विधेयकका विषयमा विकशित घटनाक्रमलाई नजिकबाट नियालीरहेको छ ।’

उता टिकटकका प्रवक्ताले भने कम्पनीले क्यानडा सरकारले गर्ने राष्ट्रिय सुरक्षा समीक्षामा पूर्ण सहयोग गरिरहेको बताएका छन् ।

टिकटकका प्रवक्ता भन्छन्- हामी आयआर्जन, सामाजिकीकरण तथा रोजगारीका लागि समेत टिकटकमा आश्रति रहेका दशौं लाख क्यानेडाली सर्जक, कलाकार तथा साना व्यवसायहरुको प्लाटर्फममा गोपनियता तथा सुरक्षालाई सुनिश्चित गर्न प्रतिबद्ध छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?