+
+
कथा :

पिटर

अक्सर क्यानेडियनहरू औपचारिक लाग्छ मलाई। मिठो बोल्ने, तर त्यति घुलमिल नहुने। अझ आप्रवासीहरूसँग त झन् बढी औपचारिक। अलि सानो शहरतिर त अझ बढी महसुस हुने यस्ता कुरा। तर पिटर फरक थिए। 

नवीन प्राचीन नवीन प्राचीन
२०८० फागुन १९ गते १४:१८

मार्च महिनाको मध्यतिर हावामा अझै चिसो प्रशस्तै छ। झमक्क साँझमा म भोलि आउने नगरपालिकाको ट्रकका लागि फोहोरको भाँडो आँगन अगाडि राख्दैथिएँ।

‘कुहिने फोहोर हरेक बिहीबार अनि नकुहिने एक हप्ता बिराएर शुक्रबार है!’ सडकको पल्लो किनारबाट ठूलो आवाज आयो।

यस्तो चिसोमा पनि तल हाफ पाइन्ट र चप्पल मात्रै लगाएको तर माथि भने बाक्लो न बाक्लो ज्याकेट र टोपी समेत लगाएको एउटा मोटो आकृति आफ्नो फोहोरको भाँडोसँग उभिएर मतिर हेरिरहेको थियो। मैले सकेसम्म ठूलो स्वरमा ‘हुन्छ, धन्यवाद है’ भनें र चिसोबाट बच्न हतार–हतार घरभित्र छिरें।

हामी दुई दिन पहिले मात्रै त्यो सानो गाउँ जस्तो शहरमा सरेका थियौं। छिमेकीहरूले फोहोरको भाँडो घर अगाडि राखेको सिको गरेर मैले पनि राखेको थिएँ।

अब थाहा भयो कहिले रहेछ पालो। नयाँ आएका मान्छेलाई यो सबै थाहा हुन्न भनेर कस्तो ख्याल गरेका छिमेकीले!

****

मार्च महिना अन्त्य हुन लाग्दा चिसो विस्तारै कम हुँदैछ। दिन बिचारेर यसो पैदल यात्राका लागि निस्कन सकिन्छ। एक साँझ छोरीलाई लिएर बाहिर निस्कँदै गर्दा उही मोटा र मध्यम उचाइ भएका छिमेकीले बाटो पर्तिरबाट हात हल्लाए। हामी भएतिर आएर, हाम्री सानी छोरीतिर संकेत गर्दै ‘मैले उसलाई क्यान्डी दिंदा हुन्छ ?’ भनी सोधे।

हामीले शिष्टाचारवश ‘भइहाल्छ नि’ भन्यौं।

ज्याकेटको खल्तीबाट दुईवटा क्यान्डी निकालेर छोरीका हातमा राखिदिंदै भने– मेरो नाम चैं पिटर, तपाईंहरूको छिमेकी। यहाँ हामी श्रीमान्–श्रीमती बस्छौं। तपाइँहरूलाई नयाँ शहरमा स्वागत छ!

हामीले उनलाई धन्यवाद भन्यौं र आफ्नो परिचय साटेर बिदा माग्यौं।

हामीले अक्सर नदिने क्यान्डी पाएर छोरी खुसी थिई। नयाँ शहरसँग विस्तारै चिनजान हुँदै थियो। विस्तारै चिसो कम हुँदै बिरुवाहरूमा पालुवा पलाउन थालेका थिए।

मैले नयाँ शहरमा नयाँ काम सुरु गरेको थिएँ। हतार–हतार अँध्यारै काममा जानु, झमक्क साँझमा घर फर्कनु। छोटा दिनमा त कतिबेला उज्यालो भयो र गयो थाहै हुन्न। अँध्यारै घरबाट हिंड्यो, अँध्यारै घर फर्कियो, एकछिन छोरीसँग खेल्यो, अनि हतार गरेर सुत्यो। बिहान झिसमिसेमै उठ्यो अनि मजदुरी गर्न दौडियो। एकनासका दिनहरू। सप्ताहान्त त सफाइ र बजार भराइमै सकिने।

तर अब बिस्तारै दिनहरू तन्कन्छन्। बसन्त ऋतुभरि यहाँ सबथोक हतार गर्छन्। आँगनको घाँस पनि छिटो–छिटो बढ्छ। मान्छेहरूको चहलपहल, सप्ताहान्तमा बंगुर र गाईको मासु पोलेको गन्ध अब हतार–हतार हावामा थपिन्छ। चराहरू लामो यात्रा गरेर हतार–हतार घर फर्कन्छन्। फूलहरू हतारमै फुली सक्छन्। कुनै कुनै जातका फूलका बोट त पहिला फुलिसकेर पछि पालुवा हाल्दै पनि हुन्छन्।

प्रकृतिले समेत जीवन साह्रै छोटो छ जस्तो गरेर सबथोकमा हतार गरे जस्तो लाग्छ। अलि पछि त सुत्ने बेलासम्म पनि अँध्यारो भइदिंदैन। जाडो महिनाका छोटा दिनको भर्पाइ गरे जसरी लामा भैदिन्छन् दिन।

नयाँ शहर, सानो बच्चा, अनि दुवै बा–आमा मजदुरी गर्ने हाम्रो परिवारलाई त्यो वर्ष न्यानो मौसम कति चाँडै बित्यो पत्तै भएन।

मैले घाँस काटिसकेर मेसिन थन्क्याउन लाग्दा सामूहिक मेलबक्सबाट चिठी लिएर आउँदै गरेका पिटरले मलाई सोधे— एउटा खुसीको कुरो र एउटा दु:खको कुरो छ । कुन पहिला सुनाउँ ?

छुट्टीको एकदिन घर बाहिर निस्कँदै गर्दा पिटरले बाटो पर्तिरबाट हात हल्लाए। उनीहरू जोईपोई आँगनमा भूतका आकृति गाड्दै रहेछन्। ‘यी सबै हामी आफैंले बनाएका। वर्षैपिच्छे प्लास्टिकका भूत किन्नुभन्दा एकचोटि मिहिनेत गर्न ठिक लाग्यो। यी सबै काठका हुन्। जोईपोई मिलेर वर्षैपिच्छे रंग्याउँछौं।’

हाम्री छोरीलाई क्यान्डी दिंदै उनले भने- यसपटक त नातिनीलाई पनि बनाइदिनु छ। तिम्री छोरी जत्रै छिन् हाम्री नातिनी, नायगरा फल्स छेउमा बस्छ हाम्रा छोराको परिवार। यसपालि क्रिसमसमा आउँछन् क्यार!

‘ए साँच्ची तिमीहरू पनि हलोविन मनाउँछौ भने म तिम्रो सानो मान्छेलाई पनि भूत बनाइदिन सक्छु है ?’ उनले छोरीतिर हेर्दै भने।

हामीले अहिले यो सबै बुझ्नलाई ऊ सानै छे, दु:ख गर्नुपर्दैन, धन्यवाद भन्यौं।

कति हतारमा बोलेको यो मान्छे! श्रीमतीले मेरो हात चिमोट्दै सानो स्वरमा भनिन्।

पिटरकी श्रीमती चाहिं अक्सर हामीसँग परैबाट सामान्य हाई–हेल्लो मात्रै भन्थिन्। बाथ रोगी उनी नियमित औषधिमा थिइन् र पिटरलाई सामान्य सहयोग बाहेक अरु खास काम गर्न सक्दिन थिइन्। यो कुरा अघिल्ला भेटहरूमा पिटरले हामीलाई भन्न भ्याइसकेका थिए।

शहरलाई भव्य हलोविन लागेको छ। हरेक जसो घरमा फर्सी काटेर विभिन्न आकृति बनाइएका छन्। डरलाग्दा भूतका आकृति सजाइएका छन्। दुइ वर्ष पनि नपुगेकी छोरी ती सबैलाई अनौठो मान्दै पिटरले दिएको क्यान्डीको स्वाद लिंदै हिंडिरहेकी छिन्।

****

मैले घाँस काटिसकेर मेसिन थन्क्याउन लाग्दा सामूहिक मेलबक्सबाट चिठी लिएर आउँदै गरेका पिटरले मलाई सोधे— एउटा खुसीको कुरो र एउटा दु:खको कुरो छ । कुन पहिला सुनाउँ ?

पहिला खुसीबाटै सुरु गर!

यो क्रिसमस पछि म रिटायर्ड हुँदैछु। अब म काममा जानुपर्दैन। विश्वास नै लागेको छैन म ६५ वर्ष पुगिसकें। तर मैले जीवनभर पर्खेको उमेर पनि यही थियो।

अहो कस्तो राम्रो, तिमीलाई बधाई छ बुढा! धन्यवाद योङ्ग म्यान!

अनि दु:खको कुरा नि?

तिमीले अझै आफ्नो उमेरभन्दा बढी काम गर्न बाँकी नै छ। हा..हा..हा… उनी टोल नै थर्केला जस्तो गरेर हाँसे। तिमी राक्षस बुढा, मैले रिसाउँदै भनें।

उनी अझ ठूलो स्वरमा हाँस्दै बिदा भए।

उनीहरूले धुमधामले क्रिसमस अनि पिटरको जन्मदिन मनाए। बुढा मान्छे र क्राइस्ट एकैदिन जन्मेका रहेछन्। हामीले छोरीका तर्फबाट उनलाई सधैं क्यान्डी दिने बाजेलाई जन्मदिनको उपहार दियौं।

****

अक्सर अलि कम हिउँ पर्ने हाम्रो नयाँ ठेगानामा क्यानडाभरि आएको हिम आँधीले मनग्ये हिउँ सबैका आँगन र सडकमा थुपारिदिएको थियो। ठाउँ–ठाउँमा सडक अवरुद्ध भएका थिए। कैयौं मान्छे सडकमा आफ्नो सवारीसाधनभित्रै फसेका थिए। प्रान्तीय सरकारले अत्यावश्यक बाहेक लामो यात्रा नगर्न  सूचना जारी गरेको थियो। अघिल्लो दिन साँझबाट हावा–हुरी सहित पर्न थालेको हिउँ बिहानसम्म अलि कम हुँदैथियो।

अहो! मैले त यत्रो हिउँ पर्ला भन्ने सोचेको नै थिइनँ। हिउँ सफा गर्ने सानो बेल्चा मात्रै थियो मसँग।

बिहान निकै ढिलो, अल्छी र तनाव मान्दै हिउँ कसरी सफा गर्ने होला भनेर झ्यालबाट चियाएको, हाम्रो आँगनबाट पिटर उही हाफ प्यान्ट माथि बाक्लो ज्याकेट र टोपी सहित अर्को छिमेकीको आँगनतिर आफ्नो हिउँ सफा गर्ने मेशिन सहित जाँदैथिए।

मैले हिउँ सोहोर्नु परेन। हिउँ सफा गर्ने मेशिन नभएका टोलका अरु छिमेकीले पनि।

केही दिनपछि भेट हुँदा मैले पिटरलाई त्यसका लागि धन्यवाद भन्दा उनले भने– ‘अब रिटायर्ड भएर काम नभएको मान्छेले टोल–छिमेकका लागि यति त गर्नु पर्‍यो नि हैन? त्यसमा पनि तिम्रो त्यो बच्चा बेल्चाले यत्रो हिउँ सोहोर्न त तिमीलाई एक महिना लाग्थ्यो।’ हामी दुवै हाँस्यौं।

****

यसपालि पनि हावामा मासु पोलेको गन्ध र आकाशमा चरा फर्किसकेका थिए। पिटर आफ्नो रिटायर्ड जीवनको सुरुवाती आनन्द उठाउँदै थिए। म भने असारको गोरु भएको थिएँ।

एक दिन मेलोबाट फर्किएर गाडी पार्क गर्दै गर्दा पिटर आँगनमा स्याउ र आरूका बिरुवा रोपिरहेका रहेछन्। काम बिसाएर म भएतिर आए। ‘के छ योङ्ग म्यान’ ?

म तिमी जस्तै छिटो बुढो हुन नपाएर तनावमा छु।

उनले भने- ‘अक्सर मान्छेहरू जवान रहन चाहन्छन् तर यहाँ कस्तो उल्टो छ है ? केही त गडबड छ यार यो व्यवस्थामा। पूरापूरी ५० वर्ष काम गरेर फुर्सद पाएको हो मैले पनि। हाईस्कुल नसकी पार्टटाइमबाट सुरु गरेको मजदुरीबाट बल्ल सास फेर्न पाएँ। म असल कामदार थिएँ। उमेरमा त दिनको १६ घन्टासम्म काम गर्थें। त्यसमाथि रोगी श्रीमती भएपछि झन् बढी जिम्मेवारी र काम। अब जीवनभर घोटेको हड्डीमा मल्हम लगाउने हो।’

उनी उही आफ्नो सदाबहार हाफ पाइन्टमा थिए। गर्मी मौसम भएकाले माथि भने कुनै कपडा लगाएका थिएनन्। उनको घ्याम्पो जत्रो भुँडी झरेर कम्मरको भाग हराएको थियो।

अब आउने जाडोमा हामी एक साताको लागि घाम ताप्न क्युबा जाँदैछौं नि! हाम्रो एनिभर्सरी फेब्रुअरीमा पर्छ। विवाह गरेदेखि हरेक एनिभर्सरीमा सधैं एउटै रेस्टुरेन्टमा खान लगेको भनेर बुढीले मार्नै लागेकी छ। नक्कली दाँत लगाउनु अघि नै अलिअलि रोमान्स गरिहाल्नु छ। तिमी चैं त्यतिबेला पनि काममा हड्डी घोट्नु ल!

मेरो मुखाकृति नराम्रो गरी बिग्रिएछ क्यार— हेर, बुढो मान्छेको रोमान्सको कुरा सुनेर जवान मान्छेको अनुहारको गति ! हा..हा..हा…

उनी हाँसेको सुनेर अलिपर रूखमा पिसाब फेर्दै गरेको कुकुर पनि तर्सियो। उसकी मालिक्नीले हामीलाई आँखा तरी।

पिटरले कुकुर मालिक्नीतिर हेरेर हात उठाए। बदलामा मालिक्नीले नक्कली मुस्कान ओठमा टाँगेर हतारहतार कुकुर घिसारी।

‘तिमी राक्षस बुढा अरुलाई जलाउन यहाँ आउँछौ, भागिहाल खुरुक्क’– मैले रिस, जलन र प्रेम मिश्रित ठट्टा गर्दै उनलाई खेदाएँ। उनी उही ठूलो हाँसो सहित बिदा भए।

म अक्सर मान्छेहरूसँग कम घुलमिल हुन्छु। आफ्नै भाषा, संस्कृति, रिवाज मिल्नेहरूसँग पनि आउजाउ, लामो कुराकानीमा समस्या हुन्छ मलाई। तर कसैले बोलायो-बोल्न आयो भने म बोल्दो, मिल्दो रहेछु। यी बुढा मान्छे आत्मीय लाग्न थालेको थियो। आफ्नै कोही नजिकको मान्छे जस्तो गरेर हाँसो ठट्टा गर्न सकिने बुढा मान्छे!

अक्सर क्यानेडियनहरू औपचारिक लाग्छ मलाई। मिठो बोल्ने, तर त्यति घुलमिल नहुने। अझ आप्रवासीहरूसँग त झन् बढी औपचारिक। अलि सानो शहरतिर त अझ बढी महसुस हुने यस्ता कुरा। तर पिटर फरक थिए।

उनले भने जस्तै केही त गलत छ यो व्यवस्थामा कि मान्छे हतार–हतार बुढो हुन चाहन्छ। मेरो अघिल्लो काममा एकजना साथी थियो। उसले क्रेनको साङ्ग्लो समातेर ठूलो फलाम उचाल्दै भनेको सिनेमाको दृश्यको जस्तो संवाद सायद म कहिल्यै बिर्सन्नँ—

‘We born, we work, we pay taxes, we die.

There is nothing more in a common man’s life.

अर्को सँगै मजदुरी गर्ने साथीले नौ वर्ष काम गरेको कारखाना छोडेर जाँदै गर्दा मैले उसलाई भनेको थिएँ- ‘मेरो देशमा भइदिएको भए तँलाई तेरो श्रीमतीले नचिन्ने गरी अबिरमा पोतेर मालाले पुरेर घर पठाउँथे। मालिकले नभए पनि तेरै साथीहरूले।’

उसले अन्तिम चोटि म्यानेजरसँग भेटेर ‘गएँ है’ भन्न खोजेको थियो पाएन। जेहोस् म बुढो मान्छेको लागि खुसी थिएँ, र आफू छिटो बुढो हुन आतुर।

****

मैले मजदुरी गर्ने कारखानामा अधिक गर्मीका बेला काम गर्न नसकिने भएर दुई हप्ताको बिदा हुनेभयो। श्रीमतीले छोरीलाई समय दिन गाह्रो भएर यसअघि नै काम छाडेकी थिइन्। हामी केही साथीभाइ र आफन्त भेट्न दुई हप्ताका लागि अमेरिका जाने भयौं। थोरै भए पनि बुढोलाई जलाउने पालो मेरो थियो।

त्यो सप्ताह काम-घर, काम-घरमै बित्यो। पिटरसँग भेट भएन। हामी हिंड्ने अघिल्लो दिन किनमेलका लागि बजार निस्किन लाग्दा पिटरको घर अगाडि प्रहरीका दुईवटा कार रोकिएका थिए।

हामी छक्क पर्‍यौं। केही सोध्न पनि मिलेन। आफ्नै अनेक अनुमान सहित बजार निस्कियौं। साँझमा ढिलो गरी फर्कंदा अझै एउटा प्रहरीको कार उनीहरूको घर अगाडि नै थियो। भोलिपल्ट त सबेरै उठेर हामी हिंडिहाल्यौं।

दुई हप्तापछि फर्कंदा पिटरको घरको घाँस कुनै घाँस काट्ने कम्पनीको मजदुरले काटिरहेको थियो। एकदिन कामबाट फर्किंदा श्रीमतीले पिटरको घरमा कसैले फूलको बुके बोकेर घरभित्र छिरेको र हतार–हतार फर्किएको सुनाइन्।

****

धेरै दिन बित्यो, पिटर देखा परेनन्। उनको घरको दैलाको घन्टी एक–दुई खेप नबजाएको पनि हैन, तर खुलेन। आमैको गाडी पनि कहिलेकाहीं साँझतिर मात्रै पार्किङ लटमा देखिन्थ्यो। घर लगभग सुनसान हुन्थ्यो। काम, घर, बजार- काम, घर, बजारको एकनासको जिन्दगीमा समय कति चाँडै बित्छ पत्तै हुन्न।

यस वर्षको हलोविनमा आमै एक्लैले पिटरले रोपेका स्याउ र आरूका बिरुवा वरिपरिको जमिनमा भूत गाड्दै थिइन्। पचास वर्ष हड्डी घोटेर बल्ल फुर्सदको जिन्दगी बाँच्ने उत्साह बोकेका पिटर, आमैलाई छोडेर एक्लै सधैंका लागि छुट्टी मनाउन हिंडेछन्। कहिल्यै नफर्कने गरी।

हामी अमेरिका हिंड्न लागेको दुई दिन अघिको रात श्रीमतीलाई सुताएर, एउटा बियर बोकेर गाडी राख्ने ग्यारेजमा पसेका पिटर बिहान त्यहीं लडिरहेको भेटिएछन्। प्रहरीको गाडीको रहस्य अहिले पो खुल्यो।

****

हरेक वर्ष झैं मौसममा चिसो थपियो, चराहरू जाडो छल्न परदेश लागे। क्रिसमस आयो-गयो, छोरीलाई क्यान्डी दिने प्रिय बाजे यसपालि थिएनन्। हामीले छोरीका तर्फबाट एउटा कार्ड र केही क्यान्डी पिटरको दैलोमा छोड्यौं।

****

मैले मजदुरी गर्ने कारखाना टाट पल्टियो। अर्को कारखाना खोजेर गएँ। यो काम घरबाट अलि टाढा सानो गाउँमा थियो। कामको पहिलो दिन, सुपरभाइजरले मतिर आउँदै सोधिन् -तिम्रो नाम त के पो भन्यौ ?

न..रे…न.… ड्रा ? (मेरो औपचारिक नामको सबैभन्दा नजिकको अंग्रेजी उच्चारण) मैले ठिकै उच्चारण गरें कि ? ठ्याक्कै त हैन तर, त्यस्तै, त्यस्तै हो।

कुनै अर्को सजिलो, निक् नेम जस्तो केही छैन है?

अहँ छैन त!

त्यसो भए मैले नै तिमीलाई कुनै नाम दिए कसो होला मलाई बोलाउन र सम्झन सजिलो ?

हुन्छ, मलाई फरक पर्दैन।

उसो भए, आजदेखि तिम्रो नाम– अम्म्म… पिटर ! हुन्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?