 
																			अमेरिकाको इतिहास लेख्नेहरू भन्छन्– कुनै बेला अमेरिका ‘आप्रवासीहरू’को देश थियो। यसै कारणले पनि होला, अमेरिकाको न्युयोर्क राज्यस्थित एलिस आइल्याण्डमा रहेको स्वतन्त्रताकी प्रतिमूर्ति, ‘स्ट्याच्यू अफ लिबर्टी’ अड्याउने स्तम्भको भित्री भित्तामा, कवि एम्मा लजारसको कविता ‘द न्यू कलासस्’ कविताको अंश ब्रन्जको प्ल्याकमा कुँदेर टाँसिएको छ।
कवितांशको भावार्थ हुन्छ– ‘स्वतन्त्रताको सास फेर्न चाहने संघर्षरत जनसमुदाय, तिम्रो थकान, तिम्रो गरिबी देऊ !’ उक्त कविताको पंक्ति सन् १९०३ मा त्यहाँ कुँदेर राखिएको हो; जबकि, स्ट्याच्यू अफ लिबर्टीको स्थापना सन् १८८६ मा भएको थियो र कवि एम्माको देहावसान सन् १८८७ मा भएको थियो।
त्यतिबेला अमेरिकालाई आप्रवासीहरूको लागि ‘द गोल्डेन डोर’ अर्थात्, सुनौलो ढोका पनि भनिन्थ्यो। तर, ती कुराहरू ‘जित्नेको इतिहास लेख्ने परम्परा जस्तै हो’ भन्ने लाग्छ। किनकि, इतिहास खोतल्दै जाने हो भने, त्यतिबेला पनि आप्रवासीहरूलाई निर्वाध रूपमा आउन दिएको जस्तो लाग्दैन; आए नै पनि, कस्तो आप्रवासीलाई बस्न दिने, कस्तोलाई नदिने जस्ता भेदभावपूर्ण कार्यहरू हुन्थे। विशेषगरी अश्वेत वर्गका व्यक्तिहरूलाई आप्रवासी भएर बस्न सजिलो थिएन।
त्यसैले, सन् १७९८ मा अमेरिकी सरकारले ‘द एलियन एण्ड सेडिसन एक्ट’ बनायो र आप्रवासीलाई नियन्त्रण गर्न थालियो। उक्त कानूनले, वाक्-स्वतन्त्रतामाथि पनि अंकुश लगायो।
तापनि, इतिहासकारहरूका अनुसार, सन् १८७० सम्ममा अमेरिकामा धेरै ठूलो संख्यामा आप्रवासीहरू युरोप लगायत देशहरूबाट आएको देखिन्छ।
युनिभर्सिटी अफ शिकागोबाट सन् २००४ मा विद्यावारिधि गरेका ड्यानियल ग्रीनले, फ्लोरेन्टाइन फिल्म्स एण्ड वेटा वाशिङ्टन डी.सी.बाट उत्पादन गरिने ‘द युएस एण्ड हलुकास्ट’ नामको वेबसाइटमा ‘ह्वाट डज इट मिन टू बी अ ल्याण्ड अफ इम्मिग्रयान्ट्स’ शीर्षकको लेखमा लेखेका छन्– सन् १८७१ देखि १९०१ सम्ममा अमेरिकामा १ करोड २० लाख आप्रवासी भित्रिएका थिए। यो संख्या पहिलेको ३०० वर्षमा अमेरिका र ब्रिटिश नर्थ अमेरिकन कोलोनीहरूमा आएको भन्दा पनि धेरै थियो।
डेनियल सोही लेखमा लेख्छन्– त्यसले गर्दा अमेरिकामा पहिलेदेखि बसिरहेका मानिसहरू, जो आफूहरू पनि कुनै बेला बसाईं सरेर नै आएका थिए, उनीहरूले नयाँ आउनेहरूलाई ‘अमेरिकन’ मान्न चाहेनन्। त्यसपछि आप्रवासीहरूमाथि भेदभाव एकदमै धेरै बढ्यो, त्यो सन् १८९० देखि १९२० सम्मको समय थियो।
त्यसपछि, सन् १९२४ मा ‘चाइनिज एक्सक्लुसन एक्ट’ ल्याएर विशेषगरी चिनियाँ कामदारहरूलाई दश वर्षको लागि रोक लगाइएको रहेछ। तत्पश्चात् अमेरिकामा आप्रवासी प्रवेश रोक्न थुप्रै कानून र नीतिनिर्माण भइसक्यो; त्यसको बावजुद त्यो समयदेखि अहिलेसम्म आप्रवासीहरूको लागि जतिसुकै कडा कानून किन नहोस्, संसारभरका थुप्रै मानिसलाई अमेरिकामा बसाइँ सर्ने धोको कम भएको छैन। आप्रवासीहरू गुडेर, उडेर, तैरिएर, पर्खाल चढेर, पाएसम्म कानूनी बाटोबाट, नपाए गैर-कानूनी बाटोबाट भए पनि लर्को लागेकै छन्।
अहिले त एउटा आप्रवासीले, राष्ट्रपतिको दाहिने हात भएर देश नै हल्लाइरहेछन्; ती आप्रवासी हुन्, राष्ट्रपति डोनाल्ड ट्रम्पका करिबी व्यक्ति इलन मस्क। उनले अमेरिकी नागरिकता प्राप्त गरेको सन् २००२ मा मात्रै हो भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। उनी, अमेरिकाको जन्मजात नागरिक होइनन्, यदि त्यसो हुन्थ्यो भने, आज डोनाल्ड ट्रम्पको सट्टा उनी नै अमेरिकाको राष्ट्रपति हुन पनि बेर लाग्दैनथ्यो। किनकि, अमेरिकी संविधानको आर्टिकल २ को सेक्सन १ ले, अमेरिकाको राष्ट्रपति हुन चाहने व्यक्ति, अमेरिकामै जन्मिएको हुनुपर्छ, चाहे त्यो व्यक्तिका आमा/बाबु अमेरिकी हुन् वा नहुन्। यो कुरा सन् १८२५ मा पेन्सेल्भेनियाका एटर्नी विलियम रावले लेखेका रहेछन्। तर, विदेशी कूटनीतिज्ञ भएर अमेरिका आएका मातापिताबाट जन्मिएका बच्चाहरू भने अमेरिकाको नागरिक हुन पाइन्न भनेर व्याख्या गरिएको रहेछ।
राष्ट्रपतिका हालका सबैभन्दा नजिक देखिने सारथि, इलन मस्कका बाबु साउथ अफ्रिकन रहेछन्। मस्कको जन्म र हुर्काइ पनि साउथ अफ्रिकाको प्रिटोरियामा नै भएको रहेछ। उनकी आमा क्यानेडियन नागरिक भएको कारणले, मस्कले आफ्नी आमा, माये मस्कको नामबाट, रेजिना सुस्काचुवानबाट क्यानडाको नागरिकता लिएका रहेछन्। क्यानडाको नागरिकबाट जतासुकै जन्मिएको सन्तान पनि क्यानडाको नागरिक हुन पाउने प्रावधान अनुसार क्यानडाको नागरिक भएका मस्क, दक्षिण अफ्रिकाको पनि नागरिक हुन् भनिन्छ।
विश्वकै धनी व्यक्तिमध्ये एकमा गनिने टेक इन्डस्ट्रीका व्यापारी इलन मस्क सन् १९९२ मा मात्रै विद्यार्थी भिसामा अमेरिका गएको कुरा गत वर्ष मस्क आफैंले पहिलेको ट्विटर र हालको ‘एक्स’मा पोस्ट गरेका थिए। उनले लेखे अनुसार, उनी ‘जे-१’ भिसामा अमेरिका आएका थिए।
सन् २०२३ मा प्रकाशित, वाल्टर आइज्याक्सनद्वारा लिखित उनको बायोग्राफीमा लेखे अनुसार, सन् २००२ मा मात्रै मस्कले अमेरिकी नागरिकता लिएका थिए। अहिले मस्क, अमेरिकी नीति–निर्माणको उपल्लो तहमा बसेर देश मात्रै होइन विश्वमा नै हलचल मच्चाइरहेछन्। किनकि, उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिएन्सी’ (‘डज’) को मुख्य भूमिका निर्वाह गरिरहेका छन्।
अमेरिकाको ४७औं राष्ट्रपतिले आफूले सत्ता सम्हालेको पहिलो दिन नै एक्ज्युकेटिभ अर्डरमा सही गरेर खडा गरेको ‘डज’ यति शक्तिशाली छ कि, उसको कारणले कुन बेला, राज्यको कुन विभाग बन्द हुने हो वा कति जनाले गरिरहेको काम गुमाउनुपर्ने हो निश्चित छैन। ‘डज’ले ‘युएसएआईडी’ बन्द गरिदिएपछि यसको असर विश्वका थुप्रै गरीब देशहरूमा अमेरिकाले सहयोग गर्दै आएको स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा समेत परेको छ। हुनत, ‘डज’ले काम गर्ने अवधि सन् २०२६ को जुलाई ४ सम्म तोकिएको छ तर, त्यसबखतसम्म अमेरिकाको आन्तरिक नीति र निर्माण कार्यमा धेरै ठूलो असर परिसकेको हुनेछ। त्यति शक्तिशाली संस्था(?)मा जोडिएका एक आप्रवासी एलन मस्कलाई भने कुनै कुराको मतलब नभए जसरी आफ्नो छोराको साथ, ह्वाइट हाउसमा यताउता गरिरहेको दृश्य टेलिभिजनको समाचारहरूमा देख्न पाइन्छ।
राष्ट्रपति ट्रम्पले क्यानडाको विरुद्धमा अवलम्बन गरेको नीतिमा मस्कको समेत सल्लाह रहेको आशंकामा क्यानेडियनहरूले गत फेब्रुअरीमा मस्कको क्यानेडियन नागरिकता रद्द गरिनुपर्छ भनेर अनलाइन सिग्नेचर क्याम्पेन सुरु गरेका थिए। २० फेब्रुअरी, २०२५ मा सुरु गरिएको उक्त सिग्नेचर क्याम्पियन अभियानमा २ लाख ५० हजारको सही संकलन पनि भएको थियो। तर, क्यानडाको संविधान अनुसार, क्यानेडियन नागरिकता खारेज गर्न नागरिकता लिंदा झुटो सूचनाहरू पेश गरेको भए मात्रै गर्न सकिने भनेर आप्रवासी मुद्दा हेर्ने कानून व्यवसायीहरूले भनेपछि उक्त अभियान सेलायो।
उक्त अभियान पश्चात्, मस्कले पिटिसनको जवाफ दिंदै ‘एक्स’मा ‘क्यानडा इज नट अ रियल कन्ट्री’ लेखे तर पछि त्यो पोस्ट हटाए। त्यो त्यतिबेला थियो, जब राष्ट्रपति ट्रम्पले १७ फेब्रुअरी, २०२५ मा आर्थिक नीतिको प्रसंगमा क्यानडाको सार्वभौमसत्तामाथि नै प्रहार गर्दै, ‘क्यानडालाई अमेरिकाको ५१औं राज्य भनेका थिए। त्यस कुराले क्यानेडियनहरूलाई यति क्रुद्ध बनायो कि, उनीहरूले अमेरिकन सामानहरू बहिष्कार गर्ने, क्यानडाको भ्रमण क्यान्सिल गर्ने, अमेरिकाको प्रसिद्ध खेलहरूमा नेशनल एन्थम बज्दा नारा लगाउने जस्ता कार्य गरे। यसरी पनि राष्ट्रपति ट्रम्प र मस्कको सोच र कार्यगत शैली कति करिब छ भन्ने अनुमान गर्न सकिन्छ।
इलन मस्कलाई, उनको विरोधमा जसले जे गरे पनि फरक परेको छैन। उनी जब साउथ अफ्रिकाबाट क्यानडा पुगे, त्यतिबेला उनी जम्मा १७ वर्षको रहेछन्, हातमा २ हजार क्यानेडियन डलर र एक सुटकेस किताब रहेछ। सन् १९८९ मा क्यानडा पुग्दा, त्यहाँ उनकी आमा पनि थिइनन्; उनी त साउथ अफ्रिका बसाइँ सरेर गएकी थिइन्।
मस्कको नजिकको भन्नु आफ्नी आमाको एक जना नातेदार रहेछन्। मस्कले त्यहाँको काठ कारखानामा काम गरेका रहेछन्; पछि किङ्स्टन ओन्टारियोस्थित क्विन्स युनिभर्सिटीमा पढेछन्। अहिले उनी टेस्ला, न्युरोलिंक, स्पेस एक्स, ऐक्स जस्ता चर्चित कम्पनीहरूको मालिक भइसकेका छन्। तीमध्ये, मस्कलाई खर्बपतिको रूपमा स्थापित गर्ने व्यापार इलेक्ट्रिक कार कम्पनी ‘टेस्ला’ नै हो।
उनले सन् २००४ मा लगानीकर्तामध्ये एकको रूपमा टेस्लामा हात हालेका थिए। सन् २००८ देखि उनी टेस्लाको सिईओ तथा प्रोडक्ट आर्किटेक्ट भएर रहेका छन्।
इलन मस्क, राष्ट्रपति ट्रम्पको ‘डज’मा संलग्न भएको कारणले टेस्ला कम्पनीले नोक्सान खप्नुपरेको समाचारहरू आइरहेछन्। समाचारमा आए अनुसार, तीन वर्षको तुलनामा गत वर्षभन्दा १३ प्रतिशतले टेस्ला गाडीहरूको बिक्री घटेको छ। मस्कको ह्वाइट हाउसको ‘डज’बाट लिइएका निर्णयहरूको कारण क्रुद्ध प्रदर्शनकारीहरूले कतिपय स्थानहरूको डिलरसिपमा बिक्रीको लागि राखिएको टेस्ला गाडीहरू जलाइदिएको भिडियोहरू पनि सार्वजनिक भएका थिए ।
पहिले टेस्ला गाडी किनेकाहरूमध्ये कतिपयले विरोध जनाउन आफ्नो टेस्ला गाडी बेचेका समाचारहरू पनि आइरहेछन्। गत २९ मार्च, २०२५ को दिन, इलन मस्कले ट्रम्प प्रशासनमा खेलेको भूमिकाको विरोधमा, ‘ग्लोबल डे अफ एक्सन’ नाम दिएर टेस्ला कम्पनीको विरुद्ध विश्वव्यापी प्रदर्शन भएको थियो। उक्त विरोध कार्यक्रम ग्रासरुट लेभलबाट गरिएको थियो; जसको उद्देश्य आम जनमानसमा टेस्लालाई बहिष्कार गर्न उत्प्रेरित गर्ने र टेस्लाको सेयरको भाउ गिराउने थियो।
त्यो दिन; अमेरिका, क्यानडा र युरोपियन देशहरूमा प्रदर्शन भएको समाचार अमेरिकी सञ्चारमाध्यम सीएनएन, ब्रिटिश सञ्चारमाध्यम बीबीसी लगायतले प्रसारण गरेका थिए। तर, राष्ट्रपति ट्रम्पले इलन मस्कलाई सपोर्ट गर्न ११ मार्च, २०२५ को दिन टेस्ला गाडी किनेको भिडियो समाचारमाध्यमहरूमा देखाइयो। त्यतिबेला ट्रम्पले रिपोर्टरहरूसँग भनेका थिए, ‘म यो (टेस्ला गाडी) किन्दैछु किनकि पहिलो, यो उत्पादन एकदम राम्रो छ। दोस्रो, यो मान्छे (इलन मस्क) ले यो उत्पादनको लागि आफ्नो ऊर्जा र जीवन अर्पित गरेको छ। मलाई लाग्छ, उनीमाथि अन्याय भइरहेछ।’
इलन मस्कको विरुद्धमा माथि उल्लेख गरे जस्तै त्यस्तै प्रदर्शन, राष्ट्रपति ट्रम्प सँगसँगै, गत अप्रिल ६ तारिखको दिन अमेरिकाको विभिन्न राज्यहरूको स्टेट क्यापिटल, फेडरल भवन, कंग्रेसनल अफिस, सोसियल सेक्युरिटी हेडक्वार्टरहरूमा पनि भएको थियो। सो दिन, १४०० भन्दा बढी ‘ह्यान्ड्स अफ’ शीर्षकको प्रदर्शनमा प्रदर्शनकारीहरूले ट्रम्प प्रशासन विरुद्ध मात्रै होइन, इलन मस्कको विरोधमा पनि प्रशस्तै नारा लगाएका थिए। उनीहरूले बोकेको प्ले कार्डहरूमा, ट्रम्प र ट्रम्पले कार्यान्वयन गरेका नीतिगत कुराहरूको विरोधका नाराहरू त थिए नै, मस्कको विरोधमा पनि ‘नो बडी इलेक्ट मस्क(मस्कलाई कसैले निर्वाचित गरेको होइन)’; ‘सेल योर टेस्ला(तिम्रो टेस्ला बेच!)’ लगायतका कुराहरू लेखिएका थिए।
इलन मस्क र ट्रम्पको दोस्ती सन् २०१६ तिर राम्रो देखिंदैन। सन् २०१७ मा ट्रम्पको पहिलो कार्यकाल शुरु हुनु अगाडि सन् २०१६ नोभेम्बर ४ मा अमेरिकी टेलिभिजन च्यानल सीएनबीसीमा, रिपोर्टर रबर्ट फेरिससँग भनेका थिए– ‘उनी(ट्रम्प राष्ट्रपतिको लागि) सही व्यक्ति होइनन् भन्ने मलाई लागेको छ। उनमा युनाइटेड स्टेट्सको लागि (राष्ट्रपति हुन)चाहिने क्यारेक्टर छैन।’
त्यसको बावजुद, ट्रम्पले जनवरी २०१७ को आफ्नो राष्ट्रपतीय उद्घाटन कार्यक्रममा मस्कलाई निमन्त्रणा गरे। त्यसपछि, व्यापारिक सल्लाहकार सभाको सदस्य पनि बनाए। तर, २०१७ को जून महिनामा पेरिसमा भएको क्लाइमेट चेन्ज एग्रिमेन्टबाट अमेरिका निस्किएपछि, इलन मस्कले त्यसमा चित्त नबुझेर एड्भाइजरी काउन्सिलबाट नै राजीनामा गरेका थिए र तत्कालीन ट्विटर, हालको ‘एक्स’मा लेखेका थिए– ‘(म)प्रेसिडेन्सियल काउन्सिल छोड्दैछु। जलवायु परिवर्तन सत्य हो। पेरिस छाड्नु अमेरिका वा विश्वकै लागि राम्रो होइन।’ त्यो पोस्ट अझै एक्समा देख्न सकिन्छ (https://x.com/elonmusk/status/870369915894546432)
मस्कले मात्रै होइन, ट्रम्पले पनि मस्कलाई पहिले मन पराएको देखिन्न। सन् २०२२ जुलाई ११ मा अलास्काको अंकरेजमा भएको फ्री स्पिच र्यालीमा ट्रम्पले मस्कलाई ‘एनोदर बुल** आर्टिस्ट’ जस्तो गालीयुक्त शब्द प्रयोग गरेका थिए। त्यतिबेला इलन मस्क सामाजिक सञ्जाल, तत्कालीन ‘ट्विटर’, हालको ‘एक्स’ किन्ने तरखरमा थिए। ट्रम्पलाई तत्कालीन ट्विटरले सन् २०२१ जनवरी ८ मा उनको खाता बन्द गरिदिएको थियो; त्यसो गर्नुको कारण, ट्रम्पले जनवरी ६ को दिन आफ्ना समर्थकहरूको भीडले युएस क्यापिटल छिरेर गरेको हमलालाई ‘राष्ट्रवाद’को नाम दिएका थिए। पहिले त ट्विटरले ट्रम्पलाई १२ घन्टा मात्रै अकाउन्ट निलम्बनमा राखेको थियो, पछि फेरि ट्रम्पले हिंसात्मक अभिव्यक्ति दिएको कारणले पूरै बन्द गरिदियो।
तर, इलन मस्कले तत्कालीन ट्विटर कम्पनी किनेपछि, डोनाल्ड ट्रम्पको खाता पुनर्स्थापन गरिदिए। सन् २००८ देखि २०२० सम्म डेमोक्र्याटिक पार्टीको समर्थनमा रहेका मस्क सन् २०२४ को चुनावमा ट्रम्पको पक्षमा गए र ट्रम्पलाई २८८ मिलियन डलर डोनेसन दिए। जसको कारण ट्रम्प र इलन मस्कको दोस्ती यति कसिलो भएको छ कि, सन् २००२ मा अमेरिकी नागरिक बनेका एक आप्रवासीले संसारको अर्थव्यवस्थादेखि नीतिनिर्माणसम्ममा आफ्नो स्वामित्व कायम गरेका छन्। त्यसैले, विश्वको कुनै कुनामा पनि सत्ताको लागि पैसाले ठूलो भूमिका खेल्दोरहेछ। सायद, ‘ओलिगार्की’को स्थापत्य यसैगरी हुँदै जान्छ।
‘ओलिगार्की’ अर्थात् एउटा सानो समूह जसले सरकार, देश, संस्था चलाएर आफ्नो हालीमुहालीमा राज गर्नु। हुनत, नेपालमा पनि यस्तै समूह जताततै हावी नभएको होइन, के अन्यत्रको कुरा गर्नु !
 
                









 
             
                             
                        
                     
                             
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4