+
+

जापान टुर गरी फर्किएका रामकृष्ण : ‘कोमागानेका जापानीले नेपाली बोलेको सुन्दा गर्व लाग्यो’

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १३:३४

काठमाडौं । गायक रामकृष्ण ढकाल दुई साता लामो जापानको सांगीतिक टुर गरी स्वदेश फर्किएका छन् । त्यहाँ उनले पोखरासँग भगिनी सम्बन्ध रहेको जापानी सहर कोमागाने नगरपालिकाले आयोजना गरेको ‘नेपाल डे’ कार्यक्रममा सांगीतिक प्रस्तुति दिए । उनीसँगै नेपालबाट गायिका मलिका कार्कीसमेत सहभागी थिइन् ।

गत मार्च २ मा आयोजित कार्यक्रममा गायक ढकालले बिहान उठ्ने बित्तिकै, मन पराउने हजार भेटिन्छन्, ओराली लागेको, माया जदौ लगायत लोकप्रिय गीतमार्फत नेपालीसहित जापानी दर्शकलाई मन्त्रमुग्ध बनाए ।

‘कोमागानेका तीन हजार घरका १०० भन्दा बढी जापानीले नेपाली भाषा बोल्ने रहेछन् । त्यो देख्दा निकै गर्व महसुस भयो । मेरो आफ्नै पनि त्यहाँ राम्रो फ्यान फलोइङ रहेछ खुसी लाग्यो,’ जापानमा फर्किएपछि ढकालले अनलाइनखबरसँग भने,’ यो कार्यक्रमले नेपाल र जापानको आपसी सम्बन्ध प्रगाढ बनाउन र पर्यटन प्रवरद्धनमा पनि सहयोग पुर्‍याउने आशा लिएको छु । जापानको सरकारी तवरबाटै भएको कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको छ ।  यस्तो कार्यक्रम आयोजनामा समन्वयकारी भूमिका खेल्नुभएकोमा जापानका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई पनि धन्यवाद दिन चाहन्छु, जो साहित्यकार समेत हुनुहुन्छ ।’

नेपालको पोखराकै जस्तो प्राकृतिक वातावरण र हावापानी समेत रहेको कोमागाने जापानको नागानो प्रिफेक्चरमा रहेको सानो सहर हो । त्यहाँको जनसंख्या करिब ३५ हजार छ । आफूहरुले पोखराको शिक्षालगायत क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको मेयर युजो इटोले बताए ।

गायक ढकालले जापान र नेपालको रहनसहन र जीवनशैलीमा पनि समानता रहेको बताए । ‘जापानीहरुले नेपाललाई धेरै माया गर्ने गर्छन् । इलामे सहर, रेशम फिरीरीका साथै मेरो गीत पनि गाएको सुनें, खुसी लाग्यो,’ उनले भने ।

कार्यक्रममा मलिकाले पनि आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरेकी थिइन् भने जापानमै रहेको नेपाल मगर संघको सांस्कृतिक समूहका कलाकारले नृत्यसमेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपालबाट जापानीहरुले नै किनेर लगेका हस्तकलाका सामग्री बिक्रीसमेत गरिएको थियो । त्यसबाट प्राप्त रकमलाई नेपालको शिक्षामा सहयोग गर्ने जनाइएको छ ।

त्यसपछि योकोहामास्थित नेपाली समाजले गरेको कार्यक्रममा पनि गायक ढकाल र गायिका कार्कीले प्रस्तुति दिएका थिए । उक्त कार्यक्रमको सुरुवातमा भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यप्रति श्रद्धाञ्जलीस्वरुप गायक ढकालले ‘जहाँ छन् बुद्धका आँखा’ गीत गाएका थिए । कार्यक्रममा पूर्वमन्त्री पद्मा अर्याल, राजदूत डा. सुवेदी लगायत पनि सहभागी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?