+
+
अभिनेता हरिवंश आचार्यसँग अन्तर्वार्ता :

‘युवा उमेर विदेशलाई, बुढ्यौली देशलाई गरेर देश माथि जाँदैन’

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते ८:३०

काठमाडौं । हरिवंश आचार्य नेपाली समाज र राजनीतिक घुम्तीका साक्षी हुन् । पञ्चायतदेखि बहुदलसम्मको व्यंग्य यात्रामा उनले सामाजिक उतारचढाव र मानवीय मर्मका मिहिन पक्ष केलाए । अभिनय र गायनलाई सँगै अघि बढाइरहेका उनी देश–विदेश घुमेर नेपालीको नाडी छाम्ने सामर्थ्य राख्छन् । जति पनि पात्र बाँचे, ती सबैले उनको अभिनयमा चारित्रिक विविधताको प्राण भरे ।

चैत ९ मा प्रदर्शन तयारीमा रहेको ‘महाजात्रा’मा उनी भ्रष्ट नेताको भूमिकामा छन् । के नेपाली व्यंग्यले समकालीन राजनीति र समाजलाई कटाक्ष गर्न सकेको छ ? यसै सन्दर्भमा अभिनेता आचार्यसँग अनलाइनखबरकर्मी विष्णु शर्मा ले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो महिना तपाईंले देश घुम्नुभयो । मान्छेको मुड कस्तो पाउनुभयो ?

नेपालीसँग एउटा यस्तो शक्ति छ, २०७२ सालमा उथलपुथल हुने गरी ठूलो भूकम्प आयो । तैपनि नेपाली हाँसिराख्या छन् । घर भत्क्या छ, बस्ने ठाउँ छैन, तैपनि नेपाली हाँसिराख्या छन् भनेर अरु देशले नेपालीको मुस्कानको प्रशंसा गरे । मैले देशभित्र जति पनि नेपाली भेटें, सबै गुनासो एउटै छ- काम भएन । ठूला व्यापारी तर्सिराख्या छन् । साना मान्छेलाई रोजगारीको समस्या छ ।

देशमा काम कसरी सिर्जना गर्ने, आर्थिक मन्दीलाई कसरी घटाउने भन्ने कुरामा सबै चिन्तित छन् । बाहिर खुलाउँदैनन् । सबैलाई भ्रष्टाचार र छाडातन्त्रको पनि चिन्ता छ र अर्को आर्थिक मन्दीको पनि । छोराछोरीलाई कसरी देशमा टिकाउने चिन्ता पाएँ ।

यसबीचमा तपाईं डायस्पोरामा पनि पुग्नुभयो ? कस्तो छ त्यहाँको मुड ?

मान्छेको जातलाई कुनै पनि चीजमा सन्तुष्ट हुँदैन । हामीभन्दा धनी देशमा पनि अपराध, लुटपाट त्यत्तिकै छ । स्कुलमा गोली हानेर मान्छे मार्छन् । के नपुग्दो थियो र त्यहाँका मान्छेलाई फ्रस्टेसन आयो ? मान्छेको जातले खोजेको चीज पायो भने अपेक्षा ह्वात्तै बढ्ने रहेछ । असन्तुष्टि हुनेबित्तिकै मान्छेमा फ्रस्टेसन आउने रहेछ ।

नेपालीलाई असन्तुष्टि भनेको राम्रो गाडी चढ्न पाए हुन्थ्यो, राम्रो खान पाए हुन्थ्यो, सबैथोक राम्रो भए हुन्थ्यो, सुकिलोमा बस्न पाए हुन्थ्यो । धुलोधुवाँ नउडे हुन्थ्यो भन्ने छ । अमेरिकामा बस्ने मान्छेलाई यस्तो केही समस्या छैन । तर पनि त्यहाँ असन्तुष्टि छ । राजनीतिक रुपमा पनि नेताहरुलाई गाली गरिराख्या हुन्छन् । यसले देश र समाज बिगार्‍यो भनेर एकले अर्कोलाई गाली गर्छन् । क्राइम उत्तिकै छ । आशा गरेको चीज पाएर मान्छे त्यही कुरामा स्थिर हुन नसक्ने रहेछ ।

निर्देशक प्रदीप भट्टराईसँग धेरै काम गर्नुभयो । अन्यसँग निकै कम । भट्टराईबाहेक अरुसँग आत्मविश्वास नभएर हो कि खुल्न नसकेर कम काम गर्नुभएको हो ?

विनोद पौडेल (भूठान निर्देशक) पनि मैले चिनेको मान्छे होइन नि । उहाँसँग बोल्या त रहेछु, तर बिर्सिसक्या थिएँ । मलाई पहिले पनि भेट्नुभएको रहेछ । यसबारे मलाई केही पनि थाहा छैन । के याद छ भने उहाँको ‘बुलबुल’ फिल्म हेरेको छु । ‘बुलबुल’ निर्देशक भन्नेबित्तिकै यसले राम्रो फिल्म बनाउँछ भन्ने लाग्यो । त्यो कुराले मलाई आकर्षित गर्‍यो । स्क्रिप्ट पनि मनपर्‍यो । मैले खेलेपछि राम्रै बन्छ भनेर हात हालेको हो । मलाई कतिले फिल्म खेल्दिनुस् भन्नुहुन्छ, एक-दुईवटा कुरा पनि भएको छ । खेल्छु पनि होला । ‘शत्रुगते’पछि दीपकराज गिरीसँग पनि फिल्म गर्ने तयारी छ ।

म ‘भूठान’मा व्यस्त भएकाले अष्ट्रेलियामा गर्ने भनिएको फिल्म पनि पोस्टपोन्ड भयो । टिम राम्रो भएका अरुले पनि स्क्रिप्ट दिनुभएको थियो । रामबाबु गुरुङले पनि प्रस्ताव राख्नुभएको थियो । मैल भर्खरै ‘महापुरुष’ खेल्या थिएँ । त्यस्तै प्याटर्नको कथामा खेल्दा उस्तै-उस्तै हुन्छ कि भनेर पछि गरुँला भनें । म उहाँसँग काम गर्न लालयित थिएँ । प्रदीपसँग शत्रुगते, महापुरुष र महाजात्रासहित तीनवटा हुन्छ । महसञ्चारमा हामीले बीसौं वर्षदेखि सहकार्य गर्‍यौं । त्यतिबेलादेखि नै यो मान्छेले राम्रो काम गर्छ भन्ने विश्वास छ ।

तपाईंको जुन सामाजिक र राजनीतिक चेतना छ नि त्यसलाई आधार मान्दा तपाईंले जस्ता पात्र चित्रण गर्नुभएको छ, यो पर्याप्त छ जस्तो लाग्छ ? वा आफ्नो बौद्धिक स्तरबाट समाज र राष्ट्रका लागि अझ रोचक पात्र सिर्जना गर्नुपर्छ जस्तो लाग्छ ?

मान्छेले जहिले पनि अगाडि बढ्ने उद्देश्य लिएर हिंड्नुपर्छ । मैले त केही पनि गर्न सक्या छैन जस्तो लाग्छ । म जुन माटोमा उभिएको छु, त्यही माटोमै छु म । ठूलो काम गर्न सकेको जस्तो महसुस कहिल्यै गर्दिनँ । मलाई जहिले पनि भविष्यसँग चिन्ता लाग्छ कि मैले यो भन्दा बिग्रिने काम गर्नुहुँदैन । यो भन्दा राम्रो काम गर्ने कोसिस गर्नुपर्छ । म जहिले पनि महत्वाकांक्षा बोकेरै हिंड्छु । त्यो अनुसार जति गरें, त्यतिमै ठीक छ भन्ने कदापि होइन । मान्छे जहिले पनि प्रगतिशील हुन्छ, ऊ अगाडि बढ्नैपर्छ ।

तपाईंले ‘महाजात्रा’मा जुन चरित्र निर्वाह गर्नुभयो । यसका लागि तपाईंले समकालीन राजनीतिको कुन पात्र र इभेन्टलाई सम्झिनुभयो ?

पर्सनल तोकेर भन्न मिल्दैन । यो पात्र, त्यो पात्र भनेर मिल्दैन । देशलाई नराम्रो गर्ने नेताहरु सबैलाई मिल्छ । जसको नाम दिएर बोलाए हुन्छ त्यस्ता पात्रलाई । देश अघि बढ्न नसकेको इभेन्ट नै हो, अहिले । नेपाली राजनीतिको सबैभन्दा कमजोर पक्ष भनेको नेताले देश बनाउने महत्वाकांक्षाभन्दा पनि आफू बन्ने महत्वाकांक्षा, परिवारको मोह र देशको छाडातन्त्र हुन् । हामीले भोगेको पीडा यही हो । यसकै प्रतिनिधित्व गरेको छ ‘महाजात्रा’ फिल्मले ।

तपाईंलाई अहिलेको नेपाली राजनीतिमा कस्तो जात्रा चलिरहेजस्तो लाग्छ ?

भद्रगोलतन्त्र भैराख्या छ यहाँ । रेल लिकबाट बाहिर हिंड्दा के हुन्छ ? हाम्रो राजनीति पनि लिकबाट बाहिर निस्केला भन्ने डर भयो । अनियन्त्रित हुन्छ नि यस्तो भयो भने । जे चीज पनि अनुशासनमा हुनुपर्छ । जस्तो गीत-संगीतमा नोटेसनभन्दा बाहिर गयो भने बेसुरा हुन्छ । सुनिनसक्नु हुन्छ । रेल लिकबाट बाहिर गयो भने पल्टिन्छ । हाम्रो राजनीति पनि बेसुरा र लिकबाट बाहिर नजाओस् भन्ने हो । रेल चलाउने चालक पोख्त नभएजस्तो देखिन्छ अहिले ।

नेपाली फिल्मले वर्तमान नेपाली समाजको चरित्रलाई व्यंग्य गर्न सकेको छ जस्तो लाग्छ ?

सबै फिल्मले गर्नुपर्दैन । राजनीतिक परिवेश बोकेका फिल्मले वर्तमान परिवेशलाई व्यंग्य गर्न सक्नु त्यो खुबीको कुरा हो । कसैले प्रेमकथामा फिल्म बनाउलान् । सन्तान बाहिर गएका छन्, घरमा बाउआमा मात्र छन् । वृद्धपुस्ता मात्र देशमा हुने भए भनेर चिन्तित पनि छन् । यो कथामा धेरै फिल्म बनेका छन् । राजनीतिक रुपमा ‘काँडेतार’ले आत्मसम्मान, थिचोमिचो विषयमा आवाज उठाएको छ । सबै फिल्मले एउटै सन्देश दिंदैनन् ।

महाजात्रा’ले नेपाली राजनीति र समाजलाई कसरी कटाक्ष गर्छ ?

काम भएन भने मान्छे गलत बाटोमा हिंड्छन् । मान्छे ड्रगिस्ट बन्छन्, अपराध गर्छन् । लुट्छन्, चोर्छन् । बेरोजगार युवाको कथा हो । अहिले हामी विदेशमा मान्छे गए भन्छौं । नगए देशको स्थिति कति भयावह हुन्थ्यो होला त । उनीहरु गएर नेपाल बचिराख्या जस्तो लाग्छ मलाई । आर्थिक आधारको कुरा पनि भयो ।

लाखौं बेरोजगार युवा नेपालमै भएको भए कति क्राइम हुन्थ्यो होला जस्तो लाग्छ । यसकारण क्राइम घटाउन पनि विदेशीले काम दिइराख्या छन् हामीलाई, तर विकल्प त्यो होइन । विकल्प भनेको हाम्रा युवाले हाम्रै देश बनाउनुपर्छ । युवा उमेर विदेशलाई, बुढ्यौली देशलाई गरेर त देश माथि जाँदैन । यसकारण युवा पलायनको स्थिति रोक्न देशमै रोजगारी सिर्जना र नीति बनाउनुपर्छ ।

अहिले सर्लाहीमा जानुस् ५-१० रुपैयाँमा गोलभेंडा पाइन्छ । भाउ नपाएर किसानले तरकारी सडकमा फाल्या छन् । भारतबाट खुलेआम कृषि उपज भित्रिएको छ । अस्ति दूध पोखे किसानले भन्ने समाचार सुनियो । दूध पोख्नुको कारण बजार नियन्त्रित भएर हो । भारतबाट दूध आउँछ । पोखरीमा माछा पाल्छन् । तर नकुहिने औषधि राखेर ल्याइएका माछा सस्तोमा पाउँछौं । राज्यले गर्ने भनेको नीति निर्माण हो । हाम्रो उत्पादनलाई कसरी संरक्षण दिने भन्ने हो । जुम्लामा कोल्ड स्टोर भएको भए किसानले उत्पादन त्यहाँ राख्थे होलान् । त्यहाँ पाँच रुपैयाँ किलोमा स्याउ पाइन्छ रे । यहाँ ४००-५०० किलो पर्छ । देशले नीति बनाउनुपर्छ ।

एक कार्यक्रममा हिटलरको भूमिका गर्न मन छ भन्नुभयो । यो पात्र लिएर आफूले फिल्म निर्माण र निर्देशन गर्न मन छैन ?

मैले त्यत्रो बोझ बोक्न सक्दिन जस्तो लाग्छ । उमेरको कुरा पनि भयो । फिल्म भनेको असाध्यै धेरै खट्नुपर्ने पेशा हो । मलाई फिल्म निर्माण विवाहजस्तै लाग्छ । घरमा विवाह हुँदा हामीलाई सबै कुराको व्यवस्थापन गर्न एक महिना लाग्छ । तर फिल्मलाई एक वर्ष । एक वर्ष खटे पनि त्यो फिल्म कस्तो हुन्छ भन्ने चिन्ता हुन्छ । यसकारण मैले त्यो चिन्ता तुरुन्तै बोक्ने पक्षमा छैन । यस्ता फिल्ममा काम पाइराख्या छु, हिंड्या छु । कुनैबेला राम्रो विषय फुर्‍यो भने अवश्य गर्छु ।

तपाईंमा हिटलर प्रवृत्ति छ कि छैन ?

छैन । म अपराधी मान्छे होइन । मान्छे नमारीकन राष्ट्रनायक बन्या भए हुन्थ्यो । देश भनेकै मान्छे त हो नि । मान्छे नभई देश हुँदैन नि !

यसको अर्थ नेपाली राजनीतिमा हिटलरको उदय हुँदैछ भन्ने संकेत दिनुभएको हो ?

होइन । हाम्रो देशमा हिटलरको उदय हुँदैन । अब विश्वले पहिलो र दोस्रो विश्वयुद्ध जस्ता ठूला युद्धको सामना गर्नु नपरोस् । हाम्रो देशमा विश्वयुद्धभन्दा धेरै साना युद्ध देख्यौं । त्यत्तिले नै हामी तर्सिसक्यौं । युद्धले केही पनि प्राप्त हुँदैन ।

तपाईंले ‘महाजात्रा’मा जुन भ्रष्ट नेताको चरित्र निर्वाह गर्नुभएको छ । उक्त पात्रसँग तपाईंको सादृश्यता के छ ?

अभिनय । म चोर भएर पनि खेल्या छु । हरिबहादुर भन्ने चोर । कतिवटा फिल्ममा नेगेटिभ काम गर्‍या छु । तर म मान्छे नेगेटिभ होइन । त्यो त मेरो एक्टिङ हो । यसमा पनि मेरो अभिनय हो ।

तपाईंले हालै एउटा मर्मस्पर्शी अभिव्यक्ति दिनुभएको थियो । यदि मैले फरक चरित्रमा काम गरिन भने ‘डाउनफल’ सुरु हुन्छ भन्नुभयो । यो कुरा कतातिर लक्षित गर्न खोज्नुभएको ?

परिवर्तन चाहिन्छ । हरेक फिल्ममा हरेक परिवर्तन चाहिन्छ भन्न खोजेको होइन । चार्ली च्याप्लिनले आफूलाई कहिले चेन्ज गर्नुभयो र ? उहाँ सधैं एउटै चरित्र र एउटै गेटअपमा देखिनुभयो । तर लेखन, निर्देशन र प्रस्तुतिमा चेन्ज छ । प्रस्तुति एकनास भयो भने अहिलेको स्थितिमा टिक्न सकिंदैन । यो कामले भन्दा त्यो कामले जित्नुपर्‍यो । अभिनय र फिल्म निर्माण भर्‍याङको खुड्किलो जस्तै हुन्छ । खुड्किलो उक्लिएपछि फेरि अर्को खुड्किलो उक्लिनुपर्छ । अनि मात्रै शिखरमा पुग्ने हो । समथर ठाउँमा उत्साह हुँदैन । अर्को फिल्ममा त्यो उत्साह हुनुपर्छजस्तो लाग्छ मलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?