+
+

हरिवंशलाई प्रश्न : भ्रष्ट नेताको भूमिका गर्न किन तयार हुनुभयो ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते १२:५७

काठमाडौँ । हरिवंश आचार्य ‘भर्सटाइल’ अभिनेता मानिन्छन् । गतसाता उनले चरित्र चित्रणमा विविधता किन महत्वपूर्ण छ भन्नेबारे अभिव्यक्ति दिए । आफू हिटलरको रुपमा फिल्म खेल्न चाहेको उनको इच्छा थियो ।

प्रदर्शन तयारीमा रहेको फिल्म ‘महाजात्रा’मा उनी भ्रष्ट नेताको भूमिकामा छन् । ‘यदि आफूलाई फरक रुपमा प्रस्तुत गरिनँ भने मेरो डाउनफल सुरु हुन्छ,’ हरिवंशको यो अभिव्यक्तिभित्र अभिनयको मर्म लुकेको छ ।

अघिल्लो फिल्म ‘महाजात्रा’बाट आचार्यले सर्वश्रेष्ठ अभिनेता विधामा राष्ट्रिय चलचित्र पुरस्कार जिते । उक्त सोसल-ड्रामामा उनी एकल पुरुषको भूमिकामा थिए । यो फिल्मले समाजमा खुसी हुन संघर्ष गरिरहेका एकल पुरुषको कथालाई मर्मस्पर्शी रुपमा चित्रण गरेको थियो । अभिनेता आचार्यसँग यिनै विषयमा केन्द्रित रहेर अनलाइनखबरले कुराकानी गरेको छ ।

भ्रष्ट नेताको चरित्रमा अभिनय गर्न तपाईंलाई केले प्रेरित गर्‍यो ?

म आफूले निर्वाह गर्दै आएको भन्दा भिन्न गरौं भन्ने सोच राख्छु । सोही कारण नयाँ र फरक भूमिका मेरो प्राथमिकतामा पर्छ । नकारात्मक भूमिकाले पर्दामार्फत सकारात्मक सन्देश प्रवाह गर्छ । यस्तो कार्य वा गतिविधि गर्न हुँदैन भन्ने यसले मनोरञ्जनात्मक शैलीमा ज्ञान समेत दिन्छ । यही कारण पनि म यस भूमिकालाई निर्वाह गर्न सहमत भएको हुँ ।

प्रदीप भट्टराईले निर्देशन गरेकै कारण विश्वास बढेको हो ?

एउटा कारण प्रदीप पनि हुन् । उनले हामीसँग महसञ्चारमा लामो समय मुख्य सहायक निर्देशक र निर्देशक भएर काम गरे । उनीसँग दुई फिल्ममा पनि काम गरिसकेको हुँदा म उनको कामप्रति ढुक्क छु । पात्रबारे उनले सुनाएपछि मैले सहमति जनाएँ । किनकि उनले कस्तो काम गर्छन् भन्ने मलाई दुई दशकदेखि थाहा छ । फिल्म गर्छु भन्दा पूर्णरुपमा स्क्रिप्ट पढेको थिइनँ । किनकि उनका कथाले समाजलाई मनोरञ्जनसँगै सन्देश दिइराखेका हुन्छन् । प्रदीपले फिल्म प्रस्ताव गर्दा नाइँ भन्ने सायदै होलान् जस्तो पनि लाग्छ ।

महापुरुष’पछि दर्शकको अपेक्षा तपाईंप्रति बढेको छ, त्यसलाई यसले पूरा गर्छ ?

अवश्य गर्छ । किनकि फिल्मको सम्पूर्ण कुरा जोडिएको पात्र म नै हुँ । मेरो नकारात्मक भूमिका दर्शकलाई नयाँ पनि हुनेछ । फिल्ममा महाजात्रा नै मेरो कारणले हुन्छ । प्रस्ताव गर्दा नै महाजात्रा गराउन तपाईं चाहिन्छ भन्नुभएको थियो । भूमिका त्यही अनुरुप छ ।

तपाईंले बुझ्नुभएको ‘महाजात्रा’ के हो ?

जात्राकै शृङ्खला हो । यो रमाइलो छ । यसमा बेरोजगार युवाको समस्या, रोजीरोटीका लागि गरिने सङ्घर्ष, देशमा केही गरौं भन्ने युवाको दैनिकी, राजनीतिज्ञले युवालाई दिलाउन नसकेको विश्वास लगायतका पक्ष छन् । उल्लेखित कुरा गम्भीर छन् जसलाई मनोरञ्जनात्मक प्रस्तुतिमार्फत पर्दामा ल्याइएको छ । बेरोजगार युवाले सर्टकट खोज्दा भोग्ने परिस्थिति पनि छ । गम्भीर विषयको यो रमाइलो प्रस्तुति हो ।

तपाईंलाई कुनै भूमिका प्रस्ताव हुँदा के कुरामा बढी ध्यान दिनुहुन्छ ?

विषयवस्तु हेर्छु । त्यसपछि भूमिकाको कथाको आवश्यकतालाई हेर्छु । अनि निर्माताको टिमले पछिल्ला काम कस्तो गर्नुभएको छ र मलाई कुन किसिमको प्रस्तुतीकरणमार्फत कसरी प्रस्तुत गर्दै हुनुहुन्छ, ती सबै हेरेर मैले फिल्म गर्ने वा नगर्न निर्णय लिन्छु । यो प्रदीप भट्टराईमा भने लागू हुँदैन, किनकि उनीसँग दुई दर्शक बढी काम गरेकाले म हरेक पाटोमा विश्वस्त हुन्छु ।

फिल्ममा अभिनय गरिरहनुभएको छ, निर्माणको योजना के छ ?

अहिले फिल्म निर्माण भन्दा पनि अभिनयमै केन्द्रित छु । राम्रो निर्माण समूहसँग काम गर्ने योजनाअनुसार अभिनयमै केन्द्रित छु । त्यसैले अहिले निर्माणमा केही समय लाग्छ । अहिले मलाई अभिनेताकै रुपमा पाउनु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?