+
+

सुन तस्करी आरोपित जीवन चलाउनेको बैंक कर्जा १ अर्ब, धितोबाट असुलिंदै

तीन वाणिज्य बैंकले मस्टा ग्रुप अफ कम्पनीमा गरेको १ अर्बभन्दा बढी कर्जा चलाउनेले नतिरेपछि बैंकहरूले धितो लिलाम गर्न लागेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १९:४६

५ चैत, काठमाडौं । सुन तस्करी आरोपित जीवन चलाउनेको कम्पनीमा लगानी गरेका बैंकहरूको १ अर्बभन्दा बढी रकम समस्यामा परेको छ ।

सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगले मुद्दा चलाउन सिफारिस गरेको चलाउनेले बैंकबाट लिएको १ अर्बभन्दा बढी कर्जाको साँवा तथा ब्याजसमेत नतिरेको पाइएको छ । तीन वाणिज्य बैंकले मस्टा ग्रुप अफ कम्पनीमा गरेको १ अर्बभन्दा बढी कर्जा चलाउनेले नतिरेपछि बैंकहरूले धितो लिलाम गर्न लागेका छन् ।

स्थिर सम्पत्ति धितो भए पनि केही चालु सम्पत्तिको धितोमा समेत लगानी गरेका बैंकहरूलाई धितोले कर्जा असुली हुने हो कि होइन भन्ने अवस्था देखिएको एक बैंकरले बताए ।

चलाउनेले मस्टा ग्रुप प्रालिका नामबाट खाद्यान्न व्यवसाय गर्दै आएका थिए । सुन तस्करी जाँचबुझ आयोगले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नै सुन तस्करीमा अनुसन्धान गर्नुपर्ने चलाउनेलाई भगाएको भन्दै मुद्दा चलाउन सिफारिस गरेको छ ।

उनै चलाउनेको मस्टा ग्रुप अफ कम्पनीले तीन बैंकबाट १ अर्बभन्दा बढी कर्जा लिएको देखिएको स्रोतले जनाएको छ ।

नेपाली सेनालाई खाद्यान्न उपलब्ध गराउने ठेक्का पाएका चलाउनेले खाद्यान्न व्यवसाय गर्दै गर्दा बैंकहरूले कर्जा दिएका थिए ।

चलाउनेलाई प्रभु बैंक (साविकको सेन्चुरी बैंक) ले स्थिर सम्पत्ति र मस्टा ग्रुप प्रालिको स्वामित्वमा रहेको चालु सम्पत्तिको हाइपोथिकेसन सुरक्षण समेतका आधारमा चलाउनेको मस्टा ग्रुपमा कर्जा लगानी गरेको थियो ।

सोही कम्पनीलाई लक्ष्मी सनराइज बैंक (साविकको सनराइज बैंक) र हिमालयन बैंक (साविकको सिभिल) बैंकले समेत कर्जा दिएका छन् ।

मस्टा ग्रुपको स्वामित्वमा रहेको चालु सम्पत्तिको हाइपोथिकेसन सुरक्षण प्रभुसहित लक्ष्मी सनराइज र हिमालयन समेत संयुक्त छ ।

चलाउनको कम्पनी मस्टा ग्रुपले प्रभुलाई तिर्नुपर्ने कर्जा दायित्व ४६ करोड रुपैयाँ रहेको स्रोतको दाबी छ । यस्तै लक्ष्मी सनराइजलाई तिर्नुपर्ने कर्जा दायित्व ३२ करोड रहेको स्रोतले बतायो ।

उक्त कर्जा ब्याजसमेत ४० करोडभन्दा माथि पुगेको बैंक स्रोतले बतायो । यसबाहेक हिमालयनमा समेत उक्त कम्पनीले २० करोडभन्दा ऋण तिर्नुपर्ने दायित्व बाँकी छ । चलाउने सञ्चालक रहेको उक्त कम्पनीमा बैंकहरूले स्थिर सम्पत्ति तथा चालु सम्पत्ति धितोमा लगानी गरेको १ अर्बभन्दा बढी साँवा तथा ब्याज नियमित नभएपछि बैंकहरू लिलामी गर्ने अवस्थामा पुगेका छन् ।

प्रभुले कर्जा नतिरेको भन्दै चलाउने सहित उनको कम्पनीका साझेदाहरू र जमानतकर्ताका रूपमा रहेकी उनकी श्रीमतीलाई कर्जा तिर्ने ३५ दिने सूचना निकालेको म्याद ३० फागुनमा सकिएको छ । त्यपछि धितो लिलामीका लागि योग्य शिलबन्दी बोलपत्र पेस गर्न दिइएको ७ दिनको म्याद ७ चैतमा सकिँदै छ ।

चलाउने सञ्चालक रहेको मस्टा ग्रुपका अन्य सञ्चालकमा जगतबहादुर धामी र श्याम थापा छन् । चलाउने पछिल्लो समय बैंकको सम्पर्कमा नभए पनि धामी र थापा भने बैंकको सम्पर्कमा रहेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आशोक राणा बताउँछन् ।

मस्टा ग्रुप अफ कम्पनीमा लगानी भएको कर्जाको ब्याज अहिलेसम्म नियमित नै रहेको समेत सीईओ राणाले बताए ।

यता, लक्ष्मी सनराइज बैंकको उच्च व्यवस्थापनमा कार्यरत एक अधिकारी भने कम्पनी सञ्चालक र जमानतकर्ता बैंकको सम्पर्कमा नरहेको र कर्जाको साँवा तथा ब्याजसमेत नियमित नरहेको बताउँछन् ।

प्रभु बैंकले भने चलाउनेको मस्टा ग्रुपले कर्जा नतिरेपछि धितो लिलामीमा निकालेको छ ।

जीवन चलाउने बर्दियाका स्थायी बासिन्दा हुन् भने उनको मस्टा ग्रुपको व्यावसायिक साझेदार धामी अछाम र अर्का साझेदार थापा धादिङ नौबिसेका हुन् । चलाउनेले उक्त कर्जा लिन श्रीमती कृतिका उप्रेतीलाई समेत जमानतकर्ताका रूपमा राखेका थिए ।

प्रभु बैंकले उक्त कर्जाका लागि धितोका रूपमा झापा गौरादह नगरपालिकामा १३ कित्तामा ७३ कठ्ठा १५ धुर जग्गा रहेको जनाएको छ । सोही जग्गामा रहेको घर र उक्त घरजग्गाले चर्चेको  लिगलगापात समेत रहेको  बैंकले निकालेको लिलामी सूचनामा उल्लेख छ ।

यस्तै मस्टा  ग्रुपको नाममा दर्ता श्रेष्ता कायम रहेको बारा साविकको भवानीपुर जितपुर गाविसमा पाँच कित्तामा ३ बिघा ५ कठ्ठा जग्गा र उक्त जग्गामा घरसमेत रहेको बैंकले उल्लेख गरेको छ ।

उक्त जग्गा र घरले चर्चेको सम्पूर्ण लिगलगापात समेत लिलामीमा रहेको बैंकले जनाएको छ । मस्टा ग्रुपको नाममा बाराकै पिप्रासिमरामा ४ बिघा जग्गा, घर र उक्त घरले चर्चेको सम्पूर्ण लिगलगापात समेत लिलामीमा निकालेको छ ।

चलाउनेकै नाममा रौतहट साविकको जुडीबेला गाविसमा ५ कित्तामा करिब ३७ कठ्ठा १० धुर जग्गा र उक्त जग्गामा बनेको घर तथा उक्त जग्गाले चर्चेको सम्पूर्ण सम्पत्ति लिलामीमा निकालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?