+
+

सीआईबीले चलाउनेसहित ३ जनालाई पक्राउ गरेर छाडेको खुलासा

'आयोगमा बयान दिन भनेर नेपाल आएका चलाउनेलाई सीआईबीले नै भगायो'

नारायण अधिकारी नारायण अधिकारी
२०८० चैत ५ गते १९:२९

५ चैत, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जीवन चलाउनेसहित तीन जनालाई पक्राउ गरेर छाडेको पाइएको छ ।

सुन तस्करी प्रकरणमा जोडिएपछि चलाउनेसहित तीन जनालाई सीआईबीले पक्राउ गरेर छाडेको सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

आयोगको प्रतिवेदनमा उल्लेख भएअनुसार सीआईबीले अछामका जीवन चलाउनेसँगै नेपाली नागरिक रामकृष्ण थापा र भारतीय नागरिक नन्दुकुमार पाण्डुराम मर्गलेलाई पनि सीआईबीले पक्राउ गरेर छाडेको हो ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा, अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजंग कार्की र गृहमन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी सदस्य रहेको आयोगको प्रतिवेदनमा उल्लेख भए अनुसार नन्दुकुमारका दाजु-भाइ न्यूरोडमा सुन चाँदी पसल गर्छन् ।

उनीहरुले तस्करीको सुन किन्ने गरेको र नेपालदेखि भारतसम्म पुर्याएर बेच्ने गरेको प्रतिवेदनमा उल्लेख छ । यो कुरा भाइले स्वीकार समेत गरेका थिए । तर त्यति हुँदासमेत सीआईबीले नन्दुकुमारलाई छाडेको पाइएको छ ।

पक्राउ गरेर बयान कागज गराउने र पछि सरकारी वकिल समक्ष प्रतिवेदन पेश हुँदा पक्राउ परेको नदेखाई फरार प्रतिवादी बनाएर पेश गरिएको विषय आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ ।

पक्राउ गरेर छाडिएका अर्का व्यक्ति रामकृष्ण थापा भने विमानस्थलमा सेटिङ मिलाउने व्यक्ति रहेको खुलेको छ । विमानस्थलमार्फत हुने सुन तस्करीको सम्पूर्ण सेटिङ मिलाउने र त्यहाँबाट सुन पास भएपछिको व्यवस्था समेत मिलाउने गरेको व्यक्ति रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

थापालाई पनि सुरुमा सीआईबीमा ल्याएर कागज समेत गरेको र पछि फरार बनाएर प्रतिवेदन पेश गरिएको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ ।

‘थापालाई पक्राउ परेका बखत उपस्थित गराउने भन्दै पक्राउ परेका व्यक्तिलाई भगाएर फाइल बुझाइएको खुलेको छ,’ आयोगका एक सदस्यले अनलाइनखबरसँग भने, ‘पक्राउ परेर थुनामा पनि नराख्ने, हाजिरी जमानीमा पनि नछोडी सिधै भगाएर फरार प्रतिवादी बनाइएको छ ।’

त्यसैगरी सुन तस्करीमा रहेर अहिलेसम्म फरार रहेका अर्का प्रतिवादी चलाउनेलाई सीआईबीका प्रमुख तथा एआईजी किरण बज्राचार्यले बिदाको दिन बोलाएर बयान लिएर छाडेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भदौ २० गते कृष्ण जन्माष्टमीको दिन सीआईबीले चलाउनेलाई बोलाएर छाडेको आयोगको प्रतिवेदनमा उल्लेख छ । त्यतिबेला सीआईबीका एआईजी बज्राचार्यसँग चलाउनेले उनकै कार्यकक्षमा आधा घण्टा बिताएको उल्लेख गरिएको छ ।

यसबारे आयोगले एआईजी बज्राचार्यसँग बयान समेत लिएको थियो । तर बयानमा भने एआईजी बज्राचार्यले चलाउने नआएको भनेर ढाँटेको आयोगका एक सदस्यले अनलाइनखबरसँग बताए । ‘एआईजीसाप भएर यस्तो पनि ढाँट्ने ? मलाई त चित्त बुझेन है,’ भनेर त्यतिबेला आयोगका अध्यक्ष आचार्यले समेत भनेको आयोगका ती सदस्यले बताए ।

‘आयोगमा बयान दिन भनेर नेपाल आएका चलाउनेलाई सीआईबीले नै भगायो’

सीआईबीले बयान लिएर छाड्ने मात्रै होइन, जाँचबुझ आयोगलाई बयान दिन विदेशबाट नेपाल आएका बेला समेत सीआईबीले नै चलाउनेलाई भगाएको आयोगका सदस्यले बताएका छन् । चलाउने सुरुमा मलेसियामा थिए । विभिन्न सूत्रमार्फत आयोगले उनलाई सम्पर्कमा ल्याएको थियो ।

जाँचबुझ आयोग ऐन २०२६ मा अनुसन्धानमा सहयोग गरेमा मुद्दा नचल्नेदेखि सजाय छुट हुनेसम्मको व्यवस्था छ ।

सोही अनुसार आयोगले यथार्थ कुरा भनेमा केही मुद्दा नचल्नेदेखि सजाय समेत छुट हुनसक्ने बताएपछि चलाउने बयान दिन र अनुसन्धानमा सहयोग गर्न नेपाल आउन तयार भएका थिए । त्यसपछि उनी मलेसियाबाट नयाँदिल्ली हुँदै नेपालगञ्जसँग जोडिएको भारतीय बजार रुपैडियासम्म आएको खबर आयोगले पाएको थियो ।

‘काठमाडौं आएपछि के गर्ने भनेर पनि चलाउनेसँग कुरा भएको थियो,’ आयोगका एक सदस्यले अनलाइनखबरसँग भने, ‘नागढुंगा नाका नजिकको पातले वन रिसोर्टमा चलाउने ओर्लिने र त्यहाँबाट आयोगको गाडीमा काठमाडौं प्रवेश गर्ने समझदारी भएको थियो । तर उक्त कुरा सीआईबीका अधिकारीले थाहा पाएपछि चलाउनेलाई भगाए ।’

सीआईबीका अधिकारीलाई पनि चलाउनेले आफू दिल्ली नै फर्केको बताएका थिए । तर आयोग स्रोतका अनुसार चलाउने दुई दिनसम्म काठमाडौंमै बसेर तेस्रो दिन मात्रै काठमाडौं छाडेका थिए ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?