+
+

निजी क्षेत्रमाथि वित्तीय क्षेत्रको दाबी जीडीपीको १०८ प्रतिशत

कुल गार्हस्थ उत्पादन भन्दा निजी क्षेत्रको दायित्व बढी हुन ओभर फाइनान्सिङ भन्न सकिन्छ : डा. श्रेष्ठ

२०७९ असार मसान्तमा निजी क्षेत्रको कर्जा जीडीपीको १११.९ प्रतिशत पुगेकोमा पछिल्लो समय अर्थतन्त्रमा देखिएको शिथिलतासँगै कर्जा विस्तारमा संकुचन आउँदा उक्त अनुपात घटेको हो ।

विजय पराजुली विजय पराजुली
२०८० चैत ५ गते २०:२०

५ चैत, काठमाडौं । निजी क्षेत्रमाथि वित्तीय क्षेत्र (बैंकिङ क्षेत्र र अन्य गैरबैंकिङ वित्तीय क्षेत्र) को दाबी कुल गार्हस्थ उत्पादन (जीडीपी) को १०७.७ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले गरेको वित्तीय क्षेत्र सर्वेक्षणले उक्त तथ्यांक देखाएको हो ।

२०७९ असार मसान्तमा निजी क्षेत्रको कर्जा जीडीपीको १११.९ प्रतिशत पुगेकोमा पछिल्लो समय अर्थतन्त्रमा देखिएको शिथिलतासँगै कर्जा विस्तारमा संकुचन आउँदा उक्त अनुपात घटेको हो । निजी क्षेत्रमाथि वित्तीय क्षेत्रको दाबी ५७ खर्ब ९४ अर्ब ७६ करोड पुगेको छ ।

निजी क्षेत्रमाथि वित्तीय क्षेत्रको दाबी २०७९ असार मसान्तमा ५५ खर्ब २० अर्ब ९ करोड रहेकोमा आर्थिक वर्ष (आव) २०७९/८० मा ५ प्रतिशतले बढेको हो ।

२०७८ असार मसान्तमा यस्तो दाबी ४८ खर्ब २८ अर्ब ८८ करोड र २०७९ असार मसान्तमा ३८ खर्ब २७ अर्ब १२ करोड थियो ।

राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा वित्तीय गहिराइ मापन गर्न वित्तीय क्षेत्र सर्वेक्षण गर्ने घोषणा गरेको थियो ।

‘वित्तीय गहिराइ मापनका लागि बैंक तथा वित्तीय संस्थाका अतिरिक्त लघुवित्त वित्तीय संस्था, बीमा कम्पनी, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोष लगायत अन्य गैरबैंकिङ वित्तीय संस्थाहरूको वासलात समावेश भएको वित्तीय सर्वेक्षण तयार गरी प्रकाशन गरिने छ,’ मौद्रिक नीति समीक्षामा छ ।

सोही आधारमा वित्तीय क्षेत्र र गैरबैंकिङ वित्तीय क्षेत्रको सर्वेक्षण गरेको राष्ट्र बैंकले निजी क्षेत्रको कर्जा जीडीपीको १ सय १२ प्रतिशतसम्म पुगेर घट्दो क्रममा रहेको तथ्यांक प्रस्तुत गरेको हो ।

यस्तै वित्तीय क्षेत्र र गैरबैंकिङ वित्तीय संस्थाको कुल आन्तरिक दाबी जीडीपीको १२७.३ प्रतिशत पुगेको राष्ट्र बैंकको सर्वेक्षणमा उल्लेख छ ।

२०७९ असार मसान्तमा कुल उत्पादनको १२७.८ प्रतिशत पुगेको कुल आन्तरिक दाबी २०८० असार मसान्तमा जीडीपीसँग तुलना गर्दा केही घटेको हो ।

वित्तीय क्षेत्रको कुल आन्तरिक दाबी ६८ खर्ब ५० अर्ब ३० करोड र गैरबैंकिङ वित्तीय संस्थाको कुल आन्तरिक दाबी १८ खर्ब २७ अर्ब ४६ करोड पुगेको सर्वेक्षणमा उल्लेख छ ।

‘वित्तीय क्षेत्र सर्वेक्षण’ केन्द्रीय बैंक, निक्षेप संकलन गर्ने बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ वित्तीय संस्थाको वासलातका आधारमा यस्ता संस्थाबीचको कारोबार ‘नेटिङ’ गरी एकीकृत रूपमा तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।

कस्तो देखियो वित्तीय क्षेत्र सर्वेक्षण ?

वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २०८० असार मसान्तमा १४ खर्ब ५२ अर्ब ३ करोड पुगेको छ । २०७९ असार मसान्तमा ११ खर्ब ४९ अर्ब ६४ करोड रहेकोमा एक वर्षमा २४.५ प्रतिशतले वृद्धि भएको हो ।

वित्तीय क्षेत्रको यस्तो सम्पत्ति २०७८ असार मसान्तमा १३ खर्ब ७० अर्ब ५२ करोड र २०७७ असार मसान्तमा १३ खर्ब २६ अर्ब ३४ करोड थियो ।

सरकारमाथि वित्तीय क्षेत्रको खुद दाबी २०८० असार मसान्तमा १० खर्ब २३ अर्ब ९ करोड पुगेको छ । २०७९ असार मसान्तमा ७ खर्ब ५३ अर्ब २८ करोड रहेकोमा एक वर्षमा ३५.८ प्रतिशतले वृद्धि भएको हो ।

वित्तीय क्षेत्रको यस्तो दाबी २०७८ असार मसान्तमा ५ खर्ब ९५ अर्ब ३० करोड र २०७७ असार मसान्तमा ४ खर्ब ६५ अर्ब २६ करोड थियो ।

वित्तीय क्षेत्रको सार्वजनिक गैरवित्तीय संस्थान माथिको दाबी ३२ अर्ब ४४ करोड छ । २०७९ असार मसान्तमा ३२ अर्ब ४४ करोड २९ लाख रहेकोमा २०८० असार मसान्तमा स्थिर देखिएको हो । वित्तीय क्षेत्रको यस्तो दाबी २०७८ असार मसान्तमा ३५ अर्ब ८२ करोड र २०७७ असार मसान्तमा ३६ अर्ब ७२ करोड थियो ।

गत आवको वित्तीय क्षेत्रको तरल दायित्व ११.६ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तमा ४८ खर्ब १८ अर्ब ४ करोड रहेको वित्तीय क्षेत्रको तरल दायित्व २०८० असार मसान्तमा ५३ खर्ब ७८ अर्ब ४२ करोड पुगेको सर्वेक्षणमा छ ।

वित्तीय क्षेत्रको यस्तो दायित्व २०७८ असार मसान्तमा ४५ खर्ब ५४ अर्ब १९ करोड र २०७७ असार मसान्तमा ३७ खर्ब ४७ अर्ब ५४ करोड थियो । यस्तै वित्तीय क्षेत्रभन्दा बाहिर चलन चल्तीमा रहेको मुद्रा २०७९ असार मसान्तमा ५ खर्ब २ अर्ब ७६ करोड रहेकोमा २०८० असार मसान्तमा १.१ प्रतिशतले बढेर ५ खर्ब ८ अर्ब ३७ करोड पुगेको छ ।

वित्तीय क्षेत्रभन्दा बाहिर रहेको यस्तो मुद्रा २०७८ असार मसान्तमा ५ खर्ब ६६ अर्ब ९५ करोड र २०७७ असार मसान्तमा ४ खर्ब ८५ अर्ब ६८ करोड थियो ।

यसले हाम्रो वित्तीय क्षेत्रको ‘लिभरेज’ कस्तो छ भनेर विश्लेषण गर्न सकिने राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन् ।

गैरबैंकिङ वित्तीय संस्थाबाट भएको वित्तीय मध्यस्थता सेवाको अवस्था पनि देखाउने श्रेष्ठ बताउँछन् । कुल आन्तरिक दाबी वा निजी क्षेत्रमा प्रवाह भएको कर्जा धेरै छ भन्ने देखाएको श्रेष्ठ बताउँछन् ।

‘बैंक तथा वित्तीय संस्थाको कर्जा नै दक्षिण एसियामा धेरै छ । गैरबैंकिङ वित्तीय संस्थाको समेत गर्दा जीडीपी भन्दा निजी क्षेत्रमा प्रवाह भएको कर्जा बढी भएको देखाउँछ,’ श्रेष्ठ भन्छन् ‘जीडीपी भन्दा निजी क्षेत्रको वित्तीय दायित्व बढी हुनु भनेको निजी क्षेत्र ओभर फाइनान्सिङ छ भन्न सकिन्छ । यसलाई ओभर लिभरेज भन्दा पनि हुन्छ।’

कस्तो देखियो गैरबैंकिङ वित्तीय संस्थाको अवस्था ?

राष्ट्र बैंकले मौद्रिक नीतिको व्यवस्था अनुसार वित्तीय क्षेत्र सर्वेक्षण सार्वजनिक गरेको हो । साथै, सम्झौतित बचत परिचालन गर्ने बीमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल पूर्वाधार विकास बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, लघुवित्त वित्तीय संस्थाजस्ता गैरबैंकिङ वित्तीय संस्थाका वासलात एकीकृत गरेर अन्य वित्तीय संस्था सर्वेक्षण समेत छुट्टै सार्वजनिक गरेको छ ।

सर्वेक्षण अनुसार गैरबैंकिङ वित्तीय संस्थाको कुल आन्तरिक दाबी एक वर्षमा ७.६ प्रतिशतले बढेको छ । गैरबैंकिङ अन्य वित्तीय संस्थाको आन्तरिक दाबी २०७९ असार मसान्तमा १६ खर्ब ९८ अर्ब ५३ करोड रहेकोमा २०८० असार मसान्तमा १८ खर्ब २७ अर्ब ४६ करोड पुगेको छ ।

अन्य वित्तीय संस्थाको यस्तो दाबी २०७८ असार मसान्तमा १४ खर्ब ५५ अर्ब ५९ करोड र २०७७ असार मसान्तमा ११ खर्ब ८३ अर्ब १९ करोड थियो ।

२०८० असार मसान्तमा अन्य वित्तीय संस्थाको खुद वैदेशिक सम्पत्ति ५ अर्ब ५२ करोडले ऋणात्मक छ । २०७९ असार मसान्तमा १ अर्ब ७० करोडले ऋणात्मक थियो । अन्य वित्तीय संस्थाको यस्तो सम्पत्ति २०७८ असार मसान्तमा १ अर्ब १८ करोड र २०७७ असार मसान्तमा २ अर्ब १ करोडले ऋणात्मक थियो ।

२०८० असार मसान्तमा अन्य वित्तीय संस्थाको नेपाल सरकारमाथिको खुद दाबी ११ अर्ब १७ करोड पुगेको छ । २०७९ असार मसान्तमा ६ अर्ब ११ करोड रहेकोमा एक वर्षमा ८२.८ प्रतिशतले वृद्धि भएको सर्वेक्षणले देखाएको छ ।

गैरबैंकिङ वित्तीय क्षेत्रको यस्तो दाबी २०७८ असार मसान्तमा ६ अर्ब ४३ करोड र २०७७ असार मसान्तमा ३ अर्ब ८६ करोड थियो ।

अन्य वित्तीय संस्थाको सार्वजनिक गैरवित्तीय संस्थान माथिको दाबी २८ अर्ब ७९ करोड पुगेको छ । २०७९ असार मसान्तमा २८ अर्ब ६६ करोड रहेकोमा ०.५ प्रतिशतले बढेको हो ।

वित्तीय क्षेत्रको यस्तो दाबी २०७८ असार मसान्तमा २८ अर्ब ३१ करोड र २०७७ असार मसान्तमा २८ अर्ब २ करोड थियो । अन्य वित्तीय संस्थाको निजी क्षेत्रमाथिको दाबी २०७९ असार मसान्तमा ८ खर्ब ३१ अर्ब ९ करोड रहेकोमा ७.३ प्रतिशतले बढेर २०८० असार मसान्तमा ८ खर्ब ९१ अर्ब ४१ करोड पुगेको छ ।

अन्य वित्तीय संस्थाको यस्तो दाबी २०७८ असार मसान्तमा ६ खर्ब ८२ अर्ब ३३ करोड र २०७७ असार मसान्तमा ५ खर्ब ५० अर्ब २३ करोड थियो ।

अन्य वित्तीय संस्थाको केन्द्रीय बैंक र निक्षेप परिचालन गर्ने बैंक तथा वित्तीय संस्थामाथिको दाबी (नगद, माग तथा अन्य निक्षेप र अन्य लगानी लगायतका दाबीसमेत) २०७९ असार मसान्तमा ८ खर्ब ३२ अर्ब ६७ करोड रहेकोमा ७.२ प्रतिशतले बढेर २०८० असार मसान्तमा ८ खर्ब ९६ अर्ब ९ करोड पुगेको छ ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?