+
+

धार्मिक पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले सहकार्य गर्छ : चन्द्र ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १७:०१

४ वैशाख, गलकोट (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धार्मिक तथा सांस्कृतिक क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन् ।

उनले धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्रमा पछिल्लो समय निजी क्षेत्रले लगानी बढाएको दृष्टान्त पेस गर्दै मुलुकका धार्मिक तथा सांस्कृतिक धरोहरहरु पर्यटनको प्रचुर सम्भावनायुक्त क्षेत्र रहेकाले तिनको विकास र विस्तारमा सरकार, व्यवस्थापन समिति तथा स्थानीयहरुसँग सहकार्य गरी अघि बढ्न निजी क्षेत्र तयार रहेको बताएका हुन् ।

धार्मिक आस्थाका धरोहरहरुको विकास र विस्तारका लागि ती क्षेत्रमा पर्यटन पूर्वाधार बन्न आवश्यक रहेको भन्दै अध्यक्ष ढकालले आफूहरुले बुटवलको कामाख्यादेवी र गैंडाकोटको मौलाकालीमा केबलकार निर्माण गरिसकेको र कैलालीको जाल्पादेवी र ताप्लेजुङको पाथीभरामा निर्माण प्रक्रिया सुरु भएको जानकारी पनि दिए ।

‘मुलकका धार्मिक तथा सांस्कृतिक आस्थाका धरोहरहरुमा पर्यटन पूर्वाधार बन्नु भनेको ती सम्पदाको संरक्षण र प्रवद्र्धनका साथै भक्तजनहरुलाई पनि सहजता प्राप्त हुनु हो’, मंगलबार बागलुङको चैते दसैं मेलाको उद्घाटन गर्दै उनले भने, ‘त्यसैले जहिले पनि निजी क्षेत्रले पूर्वाधारमार्फत पर्यटन प्रवद्र्धनमा जोड दिने गरेको छ ।’

उनले विश्वका हिन्दू तथा बौद्धमार्गीहरुको साझा तीर्थस्थल मुक्तिनाथ जाने प्रवेशद्वार बागलुङ र पर्वत रहेकाले त्यहाँ जाने मार्गका साथै कालीकण्डकी कोरिडोर र मध्यपहाडी लोकमार्गको पूर्णता र कोरला नाकाको पूर्ण क्षमतामा सञ्चालनबाट यस क्षेत्रमा समृद्धि प्राप्त हुने बताए ।

कालिका मन्दिरको इतिहाससँग जोडिएको चैते दसैं मेला बागलुङमा ३ सय वर्ष पुरानो रहेको बताइन्छ । यसै अवसरमा आयोजित मेलाको आज औपचारिक उद्घाटन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?