+
+

सिमेन्ट कम्पनीहरूको सेयर कारोबारमा चलखेल

सर्वोत्तम सूचीकरणपछि सँगसँगै मूल्य बढ्ने आशले शिवम्, घोराही र सोनापुर सिमेन्टको कारोबार उच्च 

कमल नेपाल कमल नेपाल
२०८० चैत ६ गते ९:०३

६ चैत, काठमाडौं । सोमबार सबैभन्दा धेरै रकमको सेयर कारोबार भएका पाँच कम्पनीहरुमा गोर्खाज फाइनान्स, शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, माथिल्लो तामाकोशी र घोराही सिमेन्ट छन् । अर्थात् ३ वटा सिमेन्ट उत्पादन कम्पनी छन् । बजारमा सूचीकृत भएका सिमेन्ट उत्पादन कम्पनी यिनै तीन वटा मात्रै हुन् ।

सोमबार २४३ कम्पनीहरुको कुल २ अर्ब ८८ करोड ५६ लाखको कारोबार भयो । जसमा तीन वटा सिमेन्ट कम्पनीहरुको कुल ४१ करोड १९ लाखको कारोबार भयो । अर्थात् कुल कारोबारमा यी ३ कम्पनीको १४.२ प्रतिशत हिस्सा रह्यो ।

सोमबार मात्रै होइन अघिल्लो दिन आइतबार पनि सबैभन्दा धेरै सेयर कारोबार भएका पाँच कम्पनीहरुमा ३ वटा सिमेन्ट उत्पादन कम्पनीहरु मात्रै परे । शिवम्, सोनापुर र घोराही क्रमशः पहिलो, दोस्रो र चौथो धेरै कारोबार भएका कम्पनीमा थिए ।

यी ३ कम्पनीको कारोबार चुलिनुमा खास कुनै आन्तरिक वित्तीय स्थितिको परिवर्तनले होइन । यी ३ सिमेन्ट कम्पनीहरुको वित्तीय विवरण सन्तोषजनक पनि देखिँदैन । दुई कम्पनी सोनापुर र घोराही चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नोक्सानीमा छन् । शिवम् सिमेन्ट नाफामा रहे पनि पोहोरको तुलनामा ३ गुणाले गिरावट आएको छ ।

कमजोर वित्तीय अवस्थाका बाबजुत एकाएक सिमेन्ट उत्पादन कम्पनीमा किन कारोबार बढिरहेको छ ? यसको प्रमुख कारण – सर्वोत्तम सिमेन्टको सेयर सूचीकरण प्रक्रिया र मूल्य बढ्ने आश। सर्वोत्तमको सेयर सोमबार साँझ सूचीकरण भइसकेको छ । सर्वोत्तमसँगै अन्य सिमेन्ट कम्पनीको पनि मूल्य बढ्ने आशले केही दिनदेखि नै कारोबारसँगै मूल्य बढेको लगानीकर्ता बताउँछन् ।

सेयर बजारका जानकार तथा लगानीकर्ता सुवासचन्द्र ढुंगाना सिमेन्ट कम्पनीहरुको कारोबार बढ्नुमा मुख्य कारण नै सर्वोत्तम सिमेन्ट सूचीकरण तथा कारोबार प्रक्रियामा रहनु रहेको बताउँछन् । ‘यसअघि जसरी हिमालयन रिइन्स्योरेन्स सूचीकरण भएपछि उस्तै प्रकृतिको कम्पनी नेपाल पुनर्बीमाको मूल्य बढ्यो, त्यहीं हिसावले सर्वोत्तम सूचीकरण भएपछि अरु सिमेन्ट कम्पनीहरुको पनि मूल्य बढ्छ र नाफा पाउँला भन्ने आशले तीन वटा कम्पनीको कारोबार बढेको हो’ उनले भने ।

विगतमा हिमालयन रिइन्स्योरेन्स सूचीकरण भइसकेपछि उस्तै प्रकृतिको कम्पनी नेपाल पुनर्बीमाको मूल्य उच्च दरमा बढेको तथ्यांकले  पुष्टि गर्छ । पुस २२ गते हिमालयन रिइन्स्योरेन्स सूचीकृत भएको दिन नेपाल पुनर्बीमाको मूल्य प्रतिकित्ता ६५४ रुपैयाँ थियो । त्यसपछि हिमालयन रि र नेपाल पुनर्बीमाको मूल्य सँगसँगै बढ्न थाल्यो र माघ १६ गते नेपाल पुनर्बीमाको मूल्य ८२६ रुपैयाँसम्म पुग्यो ।

उस्तै अवस्था सिमेन्ट कम्पनीहरुमा पनि देखिने भन्दै बजारमा अनर्गल प्रचार भइरहेको छ। सर्वोत्तम पहिलो पहिलो पटक बुक बिल्डिङ विधिबाट (प्रतिकित्ता सर्वसाधारण मूल्य ३६० रुपैयाँ ९० पैसाका दरले) आईपीओ जारी गरेको कम्पनी हो ।

त्यसैलाई आधार मान्दै कतिपय लगानीकर्ताले सिमेन्ट कम्पनीहरुको ठूलो मात्रामा सेयर खरिद गरिरहेका छन् भने कतिपयले मूल्य बढेको मौका पारेर बिक्री गरिरहेका छन् । जसले दुई दिनयता तीन वटै कम्पनीको कारोबार उच्च भएको छ । सूचीकृत भइसकेपछि सर्वोत्तमको मूल्य केही दिन बढ्नु स्वभाविक हुन सक्छ । तर उस्तै प्रकृतिका अन्य कम्पनीहरुको मूल्य बढ्ला र पुँजीगत लाभ पाउँला भन्ने आशले धेरै अहिले सिमेन्ट कम्पनीप्रति आकर्षित भएको ढुंगानाको भनाइ छ ।

‘तीन सिमेन्ट कम्पनीहरुको कारोबार बढ्नुमा अन्य खास कारण देखिँदैन, सम्बन्धित कुनै घटनाक्रम हुँदैछ भने बजारले पहिले नै प्रतिक्रिया जनाइसक्छ’ उनले भने । बजारमा लगानीका लागि भन्दा पनि कारोबार गरेर नाफा लिने उद्देश्यले अहिले सिमेन्ट कम्पनीहरुको सेयरमा सक्रियता बढेको ढुंगानाले बताए ।

सिमेन्ट कम्पनीहरुको सेयर कारोबार बढ्नुमा अर्को पनि एउटा बहाना मिलेको छ । ‘अब पूँजीगत खर्च हुने बेला भयो, निर्माण क्षेत्रमा केही चलायमान भएको छ भन्ने विषय पनि बजारमा बढी चर्चामा सुनिन्छन्’ ढुंगानाले भने ‘तर त्यो प्रभाव वित्तीय स्थितिमा देखिन्छ/देखिँदैन आगामी विवरणमा थाहा होला ।’

सिमेन्ट उद्योगीहरू हाल निर्माण क्षेत्रमा रहेको सुस्तता अझै नहटेको बताउँछन् । ‘समग्र अर्थतन्त्र नै शिथिल भएका कारण सिमेन्टको माग अझै बढ्न सकेको छैन’ सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले भने, ‘यद्यपि अब पूँजीगत खर्च गर्नुपर्ने बाध्यताले निर्माणको सिजन सुरु भएको छ, त्यसले केही हदसम्म बिजनेस बढाउने आश छ, तर जबसम्म विगतका वर्षभन्दा माग बढ्दैन, तबसम्म सन्तोष मान्नुपर्ने हुँदैन ।’

विगत १ महिनादेखि नै बढेको थियो मूल्य :

कतिपयले सिमेन्ट कम्पनीहरुको मूल्य अब बढ्ने आशले खरिद गरिरहे पनि कतिपय कारोबारीले भने यी कम्पनीबाट नाफा बुक गरिसकेका छन् । विगत १ महिनालाई हेर्दा सिमेन्ट कम्पनीहरुको मूल्य राम्रै बढेको देखिन्छ । शिवम् सिमेन्टको मूल्य फागुन ६ गते प्रतिकित्ता ४६५ रुपैयाँ १० पैसा रहेकोमा १ महिनापछि करिब १ सय रुपैयाँ बढेर हाल ५६४ रुपैयाँ ६० पैसा छ ।

त्यस्तै सोही १ महिनाको अवधिमा अवधिमा सोनापुरको ४३० रुपैयाँ २० पैसाबाट बढेर ५२३ रुपैयाँ पुगेको छ भने घोराही सिमेन्टको ४६८ रुपैयाँ ४० पैसाबाट बढेर ५६० रुपैयाँ पुगेको छ । सोमबार भने यी तीनै कम्पनीको मूल्य घटेको हो । शिवम्को प्रतिकित्ता ११ रुपैयाँ ६० पैसा, घोराहीको प्रतिकित्ता ११ रुपैयाँ र सोनापुरको ६.२० रुपैयाँ घटेको हो ।

तीन वटै कम्पनीको वित्तीय स्थिति छैन सन्तोषजनक :

तीनै कम्पनीका वित्तीय स्थिति भने सन्तोषजनक देखिँदैन । ‘कारोबारीले वित्तीय स्थितिभन्दा पनि माग र आपूर्ति प्रभाव पर्न सक्ने विषय अध्ययन गर्छन्’ ढुंगानाले भने ‘लगानीकर्ताका लागि भने वित्तीय स्थिति महत्वपूर्ण हो ।’

चालु आर्थिक वर्ष पुस मसान्तसम्म सोनापुर सिमेन्ट कम्पनी १४ करोड ७८ लाख रुपैयाँ नोक्सानीमा गएको छ । नोक्सानीमा गएपछि कम्पनीको प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँ ८१ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा छ ।

घोराही सिमेन्ट पनि पुस मसान्तसम्म ४१ करोड ८४ लाख रुपैयाँ नोक्सानीमा छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ १६ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ ४५ पैसा छ । शिवम् सिमेन्टले ६ महिनामा १४ करोड ८५ लाख कमाएको छ, पोहोर यहीं अवधिमा ४५ करोड ९६ लाख रुपैयाँ थियो । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९१ पैसा छ भने प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ६९ पैसा छ ।

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?