+
+

महरालाई फोन गरेर प्रचण्डले मागे राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १२:२८

६ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष कृष्णबहादुर महराबारे छलफल गर्न बसेको माओवादी केन्द्रको बैठक अनिर्णित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान बसेको माओवादी पदाधिकारी बैठकमा महरालाई निलम्बन गर्ने नगर्नेबारे छलफल भएको थियो ।

एक पदाधिकारीका अनुसार माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले बैठक स्थलबाटै महरालाई फोन गरेका थिए । ‘राजीनामा दिनुहुन्छ कि के गर्ने भनेर महरालाई सोध्नुभएको थियो,’ ती पदाधिकारी भन्छन्, ‘उताबाट सोचेर भन्छु भन्नुभयो जस्तो छ ।’

महराले समय मागेपछि बैठक स्थगित भएको छ । प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रमका लागि संसदमा जाने र फर्किएर आएपछि निर्णय गर्ने अर्का एक पदाधिकारीले बताए । महराले राजीनामा दिने, नभए निलम्बन गर्ने माओवादीको तयारी छ ।

बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले छिट्टै अर्को बैठक बसेर निर्णयमा पुग्ने बताए । ‘हरेक पाटा पक्षमा हामीले गम्भीरतापूर्वक छलफल गरेका छौं, छलफल जारी छ । छिटोभन्दा छिटो निष्कर्षमा पुग्छौं,’ प्रवक्ता सापकोटाले भने ।

सोमबार कपिलवस्तुबाट पक्राउ परेका महरालाई सोही दिन भैरहवा विमानस्थल हुँदै काठमाडौं ल्याइएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को नियन्त्रणमा रहेका उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले चार दिनको म्याद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?