+
+

पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटे

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १३:५०

९ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाडिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि उनलाई छाडिएको हो ।

सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले महरालाई हाजिरी जमानतमा छाडिएको अनलाइनखबरसँग पुष्टि गरे ।

महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन सीआईबीले सरकारी वकिलसँग अनुमति मागेको थियो ।

प्रहरी कपिलवस्तुबाट महरालाई ५ चैतमा पक्राउ गरेर काठमाडौं ल्याएको थियो । अदालतमा म्याद थप गर्न हाजिर भएका बेला उनको स्वास्थ्य स्थितिलाई ख्याल गर्दै अस्पतालमा राख्न आदेश भएको थियो ।

सरकारी वकिल मार्फत प्रहरीले उनलाई ७ दिन हिरासतमा राख्न अनुमति मागे पनि अदालतले ४ दिन मात्र स्वीकृति दिएको थियो ।

अदालतले चार दिन म्याद थप गर्न दिएको अनुमति सम्बन्धी आदेशमा उनलाई टीबी, युरिक एसिड, प्रोस्टेटको समस्या रहेको उल्लेख छ । अनुसन्धान अधिकृतहरुका अनुसार, कमजोर स्वास्थ्यका कारण उनलाई बयानका लागि ल्याउन, लैजान पनि कठिनाइ भएको थियो ।

स्वास्थ्य अवस्थालाई ख्याल गर्दै बयान भइसकेकाले बाहिरै राखेर पनि थप अनुसन्धान गर्न मिल्ने सन्दर्भमा उनलाई छाडिएको प्रहरीले जनाएको छ ।

महराको चिनियाँ तस्कर गिरोहका एक मुख्य पात्र दावोजिन वाङसँग सम्बन्ध देखिएको थियो । उनले विमानस्थल भन्सारले नियन्त्रणमा लिएको सुन सहितको विद्युतीय सिगरेट (भेप) छुटाउनलाई भन्सार कर्मचारीलाई दबाब दिएको समेत खुलेको थियो ।

उनका छोरा राहुल महरा यही मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । महरालाई भने सीआईबीले यसअघि प्रतिवादी बनाएको थिएन । पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित सुन आयोगले उनलाई पनि मुद्दा चलाउन सिफारिस गरेपछि महरा पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?