+
+

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन विधेयक संसदमा दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १९:२८

९ चैत, काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८० प्रतिनिधि सभामा दर्ता भएको छ ।

यसअघि सरकारले बजेट आउनु भन्दा तीन महिना अगाडि नै अर्को आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता संसदमा पेश गर्नुपर्ने गरी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशले संशोधन गरेका र अन्य केही व्यवस्थाहरु समेत संशोधन गर्ने गरी बनेको विधेयक अर्थमन्त्री वर्षमान पुनले विधेयक प्रतिनिधि सभामा दर्ता गरेका हुन् ।

४ माघ २०८० मा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी भएको थियो । जसले जेठ १५ गते बजेट आउनु भन्दा तीन महिना अगावै आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता संसदमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभामा आगामी आर्थिक बर्षको बजेटको प्राथमिकताबारे छलफल सकिइसकेको छ ।

यसअघि सरकारले अध्यादेश २२ माघ २०८० मा प्रतिनिधि सभाको बैठकमा पेश भएको थियो । अध्यादेश संसद शुरु भएको पहिलो दिन पेश गर्नुपर्ने र संसदमा पेश भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर दुवै सदनबाट पास गरेर राष्ट्रपतिबाट समेत प्रमाणीकरण भइसक्नुपर्ने संवैधानिक व्यवस्था (संविधानको धारा ११४ मा ) छ ।

तर, सरकारले प्रतिस्थापन विधेयक नभइ संशोधन विधेयक ल्याएको छ । प्रतिस्थापन विधेयक ल्याएको भए यही चैत २३ गतेभित्र संघीय संसदको दुवै सदनबाट पारित भइसक्नुपर्ने हुन्थ्यो । तर, संशोधन विधेयक भनेर ल्याएपछि यो बाध्यता रहन्न ।

तथापि, यही चैत २३ गतेभित्र विधेयक पारित नभए अध्यादेशले संशोधन गरेका व्यवस्थाहरु भने निष्क्रिय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?