+
+

ट्रक व्यवसायीले रोके ओभरलोड भारतीय ट्रक, निर्देशिका लागू गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १९:५०

९ चैत,बुटवल । ओभरलोड सामान बोकेका भारतीय मालवाहक ट्रकलाई सरकारी निकायले नियमन नगरेको भन्दै ट्रक व्यवसायीले गन्तव्‍यमा पुग्नबाट रोकेका छन् ।

भारतबाट मार्बललगायत सामान बोकेर बेलहिया नाका हुंदै काठमाडौं र पोखरा जान हिंडेका ४ वटा ट्रकलाई रुपन्देहीका ट्रक व्यवसायीले भैरहवा भन्सार कार्यालय नजिकै गए रातिदेखि रोकेर राखेका हुन् । रुपन्देहीमा रहेका दुई वटा ट्रक समितिमा आवद्ध व्यवसायी रातभर सडकमै सुतेर भारतीय ट्रकलाई रोकेका हुन् ।

भारवाहन नियमन सम्बन्धी निर्देशिका २०७४ पूर्ण रुपमा कार्यान्वयन गर्नेबारे जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा गत पुस १२ गते सहमति भए पनि बेवास्ता गरेको भन्‍दै सडकमा आएर रोक्‍नु परेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष टिकाराम गौतमले बताए ।

उनले भने, ‘भारतीय ट्रकलाई १५ सय जरिवनाका भरमा देशभर ओभरलोड बोक्न दिने हो भने नेपालका ४५ हजार ट्रक व्यवसायीको लगानी डुब्छ, हजारौं मजदुर बेरोजगार हुन्छन् । त्यसकारण हामीले भारतीय ट्रकलाई रोकेका हौं।’

भन्सार र जिल्ला प्रशासन कार्यालयले निर्देशिका कार्यान्वयन नगरेसम्म ओभरलोड भारतीय ट्रकलाई रोक्ने उनको भनाइ छ। उनले भने, ‘चैत १३ गतेदेखि भन्सार नाकामा धर्ना बस्छौं।’

व्यवसायीका अनुसार भैरहवाबाट दैनिक डेढ सय ट्रकले काठमाडौं र पोखरा लगायतका जिल्लामा सामान ढुवानी गर्दा भारतीय ट्रक सयको हाराहारी र नेपाली ट्रकको संख्या ५० मात्र रहेको छ ।

निर्देशिका अनुसार क्षमताभन्दा बढी भार बोक्ने सवारी साधलाई भन्सार बिन्दुमै तौल जांच गरी बढी तौलका सामान झार्नुपर्ने व्यवस्था छ । निर्देशिकाको बुँदा नम्बर १० मा पनि तोकिएको भारवाहन क्षमता भन्दा बढी भार बोकी आएका मालवाहक सवारीसाधनले प्रचलित कानुनअनुसारको जरिवाना गर्नुको साथै बढी भएको सामान झारी सवारीधनीले नै त्यस्तो सामानको भण्डारणको व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ ।

तर ओभरलोड बोकेका भारतीय ट्रकबाट मोटो रकम लिएर आर्थिक प्रलोभनमा तौल पुल निर्देशिका कार्यान्वयनमा बेवास्ता भएको ट्रक व्यवसायी समिति लुम्बिनी प्रदेश अध्यक्ष यमप्रसाद पाण्डेले बताए ।

नेपालमा ३० टन भन्दा बढी भार बोक्न पाइदैन । नेपालका सडक र पुलको क्षमता अनुसार यो मापदण्ड निर्धारण गरिए पनि भारतीय मालबाहक यस्ता सवारी साधनले आफ्नो क्षमता भन्दा दोब्बर बढी भार बोक्ने गर्दा नेपाली व्यवसायी मारमा पर्नुका साथै सडक र पुलमा क्षति पुगेको पाण्डेले बताए ।

यातायात सम्बन्धी प्रचलित कानुन अनुसार ६ चक्के ट्रकले ९ दशमलव ६ टन, १० चक्के ट्रकले १६ दशमलव २ टन, १२ चक्के ट्रकले २१ टन र १४ चक्के ट्रकले २५ टन भन्दा र १८ चक्केले ३० टन भन्दा बढी भार बोक्न पाउँदैनन् ।

९६ टनसम्म बोकेका भारतीय ट्रकलाई ट्राफिक प्रहरीले १ हजार ५ सय जरिवाना लिएर नेपालभरि प्रवेशको स्वीकृति दिंदा व्यवसायीहरु ढुवानीको काम नपाएर संकटमा परेको लुम्बिनी ट्रक समितिका महासचिव रुमाखर गौतमले बताए ।

व्यवसायीले शुक्रबारै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेलाई भेटेर भारवाहन नियमन निर्देशिका कार्यान्वयनमा सहयोग गर्न माग गरे । व्यवसायीका समस्या सुनेपछि गृहमन्त्री पाण्डेले यसबारे आफूले संघीय मन्त्रालयमा समस्या अवगत गराई जिल्ला प्रशासन र भन्सार कार्यालयलाई निर्देशनका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?