+
+

जब एभरेष्टकी लिबरो मैदानमै रुन थालिन् …

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० चैत १० गते २१:१४

१० चैत, काठमाडौं । आरबीबी आठौं एनभीए भलिबल च्याम्पियनसिपमा महिलातर्फको फाइनल खेलमा शनिबार एभरेष्ट भलिबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै थियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा एभरेष्टले पहिलो सेट १९–२५ ले गुमायो । भारतीय राष्ट्रिय टोलीबाट खेल्ने अनुश्री, सूर्या र जेन्सी जोनसन सम्मिलित एभरेष्टले पहिलो सेट अपेक्षा अनुसार खेल्न सकेको थिएन ।

पहिलो सेटमा हारपछि १६ वर्षीया खेलाडी तथा लिबरो ऋचा थापा रुन थालिन् । उनलाई सम्झाउन अन्य खेलाडीलाई गाह्रो परेको थियो । दोस्रो सेटको लागि कोर्ट प्रवेश गर्न लाग्दा उनी रोएरै बसिरहिन् ।

उनको ठाउँमा खेल्ने एभरेष्टसँग अर्को खेलाडी थिएन । त्यसैले खेलाडीहरु र प्रशिक्षक अर्जुन घिमिरेले सम्झाईबुझाई उनलाई कोर्टमा प्रवेश गराए ।

पहिलो सेटमा एभरेष्ट १९–२२ को स्थितिमा हुँदा पुलिसकी युवा स्पाइकर उषा भण्डारीले गरेको लगातार तीन सर्भिस ऋचाले उठाउन सकेकी थिइनन् ।

‘अन्तिममा मैले लस्करै बिगारेको थिएँ । मैले बिगारे खेल लो हुँदै जान्छ भन्ने कुरा मनमा खेलेपछि म रुन थालेँ’, च्याम्पियन बनेपछि ऋचा थापाले भनिन् ।

पहिलो सेट गुमाएपछि एभरेष्टले लगातार तीन सेट २५–२२, २५–१८ र २५–१९ ले जित्दै च्याम्पियन बनेको थियो । पुलिसका खेलाडीले सर्भिस गर्दा लगातार ऋचालाई नै लक्षित गर्थ्यो ।  ती बलहरु उनले लगातारजसो उठाउन सकेकी थिइनन् ।

ऋचाले राष्ट्रियस्तरको प्रतियोगिता पहिलो पटक खेलेकी थिइन् । त्यसमा पनि कभर्डहलमा भरिभराउ दर्शक सामु उनी नर्भस देखिन्थिन् ।लगातार रिसिभमा चुकेपछि अरु खेलाडीले उनको स्थान कभर गर्दै खेल्न थाले । त्यसमा एभरेष्ट केही सफल पनि भएको थियो । टिमका सहकर्मीहरुले उनलाई लगातार सम्झाइराखेका थिए ।

‘केही छैन, ५ सेट खेल्नु छ भनेर सम्झाइ राख्नुभएको थियो । म पहिलो पटक खेलिराख्दा अलिकति गाह्रो भएको थियो । अब म लिन्छु भनेर खेलेको थिएँ । तर लगातार चुक्दा एकदमै नराम्रो लागेको थियो’, ऋचाले भनिन् ।

टिमले जितेपछि सबै खेलाडी कोर्टमा जितको खुशियाली मनाउन थाले । जितपछि पनि ऋचा त्यति खुशी देखिइनन् ।

‘जितपछि म मनैदेखि खुसी भएको थिइनँ । किनभने मैले राम्रो खेलेको थिइनँ’, उनले भनिन् । यसअघि बुटवलमा स्थानीय प्रतियोगिताहरुमा ऋचा स्पाइकर थिइन् । तर ठूलो प्रतियोगितामा एकै पटक लिबरोको भूमिकामा खेल्दा उनलाई अप्ठेरो भएको थियो । रोल निर्वाह गर्नुपरेको थियो ।

‘गल्ती हुँदैमा आत्तिनु पर्दैन, खेल्ने तिमीले नै हो । मैले गएर खेल्न मिल्दैन, गल्तीलाई सम्झिरहने होइन, अब नयाँ कुरा सोच भनेर सम्झाएँ’, एभरेष्टका प्रशिक्षक अर्जुन घिमिरेले भने ।

पुलिसका खेलाडीले गरेको आफूलक्षित सर्भिस र स्पाइकमध्ये अधिकांशमा उनी चुकेकी थिइन् । तर एभरेष्टले उनलाई नै निरन्तर खेलाएको थियो । ‘उसले एउटा बल बिगारे पनि अर्को सुधार्नेमा मलाई विश्वास थियो । ऊ लिबरो पनि होइन । रिसिभ र डिफेन्स दुबैमा कमजोर देखिएपछि अन्य खेलाडीलाई छोपेर खेल्न सुझाव पनि दिएको थिएँ’, घिमिरेले भने ।

एभेरष्टले इतिहासमा पहिलो पटक राष्ट्रियस्तरको उपाधि जितेको हो । उपाधि जिताउन तीन भारतीय खेलाडीको योगदान महत्वपूर्ण रह्यो ।

‘हामी पहिलो पटक च्याम्पियन बनेपछि बुटबल क्षेत्रमा भलिबलमा पनि लगानी बढाउन ऊर्जा थपिन्छ जस्तो लाग्छ । विदेशी खेलाडीहरुसँग खेल्दा नेपालीहरुको पनि प्रदर्शन राम्रो हुन्छ र केही सिक्ने मौका पाउँछन्’, प्रशिक्षक घिमिरेले भने ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?