+
+

बागमतीमा हाम्रो नेपाली पार्टीले फिर्ता लियो  सरकारलाई दिएको समर्थन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते २०:१८

१३ चैत, हेटौंडा । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

९ चैतमा समर्थन फिर्ताको पत्र तयार गरेर संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले मंगलबार बिहानमात्रै प्रदेश प्रमुख कार्यालयमा इमेलमार्फत पत्र पठाएका छन् । बज्राचार्यले पठाएको पत्र प्रदेश प्रमुख कार्यालयमा मंगलबार दर्ता नभएको कार्यालय स्रोतले जानकारी दिएको छ ।

सत्ता समीकरणमा फेरबदल आएसँगै सरकार गठनमा निर्णायक बनेको हाम्रो नेपाली पार्टीले समर्थन फिर्ता लिएको हो । नेता बज्राचार्यले पत्र अगाडि नै तयार भए पनि इमेलमार्फत मंगलबार पत्र पठाएको जानकारी दिए । उनले मुख्यमन्त्रीमा आफ्नै दाबी रहेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए । ‘हाम्रो मुख्यमन्त्रीमा दाबी छ । हामीले कसैलाई पनि समर्थन नगर्ने र प्रतिपक्षमा बस्ने निर्णय लिएका छौं’, उनले भने ।

माओवादी नेता शालिकराम जम्कट्टेलको नेतृत्वमा २५ पुस २०७९ मा सरकार गठन हुँदा हाम्रो नेपाली पार्टीले समर्थन गरेको थियो । तत्कालीन एमाले र राप्रपाबीचको गठबन्धन भत्किएर नयाँ समीकरणमा कांग्रेससहितको सरकार बन्दा पनि हाम्रो नेपाली पार्टीले जम्कट्टेल दोस्रो पटक विश्वासको मत दिएको थियो ।

सरकारलाई गत २३ फागुनमा नेपाली कांग्रेसका ६ मन्त्रीले राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिनुपर्ने अवस्थामा थिए ।

मुख्यमन्त्री जम्कट्टेल नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई फकाएर बहुमत जुटाउने कसरतमा छन् ।

११० सदस्यीय प्रदेशसभामा सरकारले बहुमत सिद्ध गर्न ५६ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३ (सभामुखसहित), एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीका २ प्रदेशसभा सदस्य छन् ।

हेर्नुहोस् हाम्रो नेपाली पार्टीले प्रदेश प्रमुख कार्यालयमा पठाएको पत्र 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?