+
+

जब सोमपाल आफैंले ह्याट्रिक लिएको थाहा पाएनन्

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० चैत १३ गते २०:५१

१३ चैत, काठमाडौं । नेपालले मंगलबार दोस्रो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ए लाई ७१ रनले हराउँदै दुई खेलको सिरिज जित्न सफल भयो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो ।
गुल्सन झाले ३२ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाए । कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्का हान्दै ३४ रन जोडेपछि नेपाल २ सय रन नजिक पुगेको थियो ।

१९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ए १८.३ ओभरमा १२७ रनमा अल आउट हुन पुग्यो । नेपालका सोमपाल कामी र कुशल मल्लले ३–३ विकेट लिए ।

सोमपाल कामीले १९ औं ओभरको पहिलो बलमा लियाम म्याकार्थीलाई बोल्ड र अर्को बलमा बेन ह्वाइटलाई २ रनमा कट एण्ड बोल्ड आउट गरे । तेस्रो बलमा ग्यारेथ डेलानी नन स्ट्राइकमा १५ रनमा रन आउट हुन पुगेपछि आयरल्यान्ड अल आउट भएको थियो । त्यसैले धेरैले टिम ह्याट्रिक सोचे ।

तर खेलमा सोमपालले ह्याट्रिक नै लिएका थिए । त्यो धेरैले चाल पाउन सकेनन् । स्वयं सोमपाल र टोलीका अन्य खेलाडीलाई थाहा थिएन । खेल सकिएपछि खेलाडीहरु समर्थकलाई धन्यवाद दिन मैदान परिक्रमा गरे ।

सोमपाल र करण केसी आपसमा कुराकानी गर्दै थिए । त्यसैक्रममा मिडिया बक्सबाट रवि तिमिल्सिनाले सोमपाललाई ह्याट्रिक लिएको भन्दै बधाई दिए । तर उनले सुरुमा पत्याएनन् र टिम ह्याट्रिक भएको जवाफ दिए ।

तर त्यसअघिको ओभरमा पनि विकेट लिएको बताएपछि बल्ल उनले आफूले ह्याट्रिक लिएको थाहा पाएका थिए । त्यतिबेला खेल सकिएको एक घण्टा भन्दा बढी समय भइसकेको थियो ।

‘मलाई त रवि दाइले भनेपछि मात्रै ह्याट्रिक लिएको थाहा पाएको थिएँ । त्यसअघि थाहा नै थिएन’, सोमपालले भने ।

सोमपालले पाँचौं ओभरको अन्तिम बलमा स्टेफन डोनेहीलाई क्याच आउट गरेका थिए । त्यसपछि उनी १९ औं ओभरमा मात्रै बलिङमा फर्किएका थिए । पाँचौं ओभरको अन्तिम बल, १९ औं ओभरको पहिलो र दोस्रो बलमा लगातार विकेट लिएकाले खेलमा सोमपालको ह्याट्रिक पूरा भएको थियो ।

मंगलबार बिहानदेखि नै त्रिवि मैदानको मौसम खुलेको थिएन । अधिकांश समय आकाश बादलले ढाकेको हुँदा बर्षाको डर निरन्तर थियो ।

बलियो लक्ष्य पछ्याएको आयरल्याण्ड ए ले सुरुवाती १० ओभरमा ७५ रन बनाउँदा नै नेपालको जित लगभग पक्कापक्की भएको थियो ।
आयरल्यान्ड ए ले सुरुवात भने उत्कृष्ट गरेको थियो । उसले ४ ओभरमा कुनै विकेट नगुमाई ४२ रन जोडेको थियो ।

दोस्रो ओभरमा सोमपालले १६ रन खर्चेका थिए । त्यसपछि पाचौं ओभरमा आएका उनले १ रन खर्चेर एक विकेट लिए ।

ओपनर स्टेफन डोहेनी सोमपालको पाँचौं ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेलबाट २६ रनमा क्याच आउट भए । छैटौं ओभरको दोस्रो बलमा रस आदिर १७ रनमा आउट भएपछि आयरल्याण्डको ब्याटिङ अल्छीलाग्दो हुन थालेको थियो ।

दुई युवा ब्याटर मोर्गन टिप्लिङ र केड कर्माकाइलले नेपाली बलर सामु निकै सुस्त ब्याटिङ गरेका थिए । त्यसैले कप्तान रोहित पौडेलले आफ्ना प्रमुख बलर सोमपाल कामीलाई बलिङमा ल्याउन आवश्यक ठानेनन् ।

१९ औं ओभरमा लगातार दुई विकेट लिएपछि सोमपालको ह्याट्रिक पूरा गरेका थिए ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?