+
+

भजन गायनमार्फत भारतमा समेत आफूलाई चिनाइरहेकी सिम्पल खरेल

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १८:३९

काठमाडौं । कमै संगीतकर्मी हुन्छन्, जो एकै समय भिन्न देशमा चर्चित छन् । पछिल्लो पुस्तामा यस्तो विरलै पाइन्छ । गायिका सिम्पल खरेल यसको उदाहरण हुन्, जसले नेपाली भूगोल पार गर्ने प्रयत्न गरेकी छन् । नेपाली संगीतमा उनी जति रुचाइएकी छन्, भारतमा समेत उत्तिकै लोकप्रिय । भक्तपुरकी सिम्पल एकसाथ नेपाली र हिन्दी गीत गाउँछिन् ।

निकट भविष्यमा अंग्रेजी गीतमा पनि सिम्पललाई सुन्न पाइनेछ । गायिका, कम्पोजर, मोडल र गीतकारको रुपमा उनी यतिबेला दर्शकमाझ चिनिएकी हुन् । उनी जोडिएका झण्डै दर्जन गीतलाई एक करोडभन्दा बढी पटक युट्युबमा हेरिएको छ । कमल खत्रीसँगको सहकार्यमा बनेका केही गीत धेरै हेरिने सूचीमा छन् ।

उनको भजन ‘राधा रानी लगे’लाई ८ करोड ९७ लाख पटक सुनिएको छ । उनलाई युट्युबमा सब्सक्राइब गर्नेको संख्या ३४ लाख छ भने इन्स्टाग्राममा १७ लाख फलोअर्स छन् । स्पोटीफाइमा महिनामा ३ लाख ४७ हजार जनाले सुन्छन् ।

यसबाहेक सिम्पल टिकटक, युट्युब र रिल्समा कन्टेन्ट क्रिएटर पनि हुन् । सौन्दर्य प्रशासन, पहिरन र मेकअपबारेका भिडियो उनी पोस्ट गर्छिन् । संगीतकर्म र कन्टेन्ट क्रिएसनले उनलाई डिजिटल प्लाटफर्ममा बेग्लै पहिचान दिलाएको छ ।

आत्मसन्तुष्टिका लागि भजन

सिम्पलको परिवार धर्मकर्ममा आस्था राख्छ । सानैदेखि उनी यो वातावरणमा हुर्किइन् । सानैदेखि भजन सुन्थिन् । धर्मकर्म र भजनले सिम्पलको जीवन र सोचमा यहीअनुसार परिवर्तन ल्यायो । पछिल्लो पुस्ता धर्मकर्म र त्यसमा पनि भजनमा उतिसारो लगाव राख्दैन । सिम्पल यो सोचकी अपवाद हुन् । उनले कम्पोज गरेका केही भजन गीत नेपाल र भारतमा निकै रुचाइएका छन् । ‘राधा रानी लगे’लाई झण्डै ९ करोड पटक हेरिएको छ ।

ओ नमः शिवाय, गोविन्द बोलो हरि गोपाल बोलो, श्रीकृष्ण गोविन्द हरे मुरारे लगायतका उनले स्वर दिएका भजन रुचाइएका छन् । ‘मलाई जे चीजमा धेरै लगाव छ, त्यो म सुन्छु । म पनि त्यस्तै गाउन मन लाग्छ । यसले मलाई आत्मसन्तुष्टि पनि दिन्छ,’ भजन गाउनुको कारणबारे सिम्पल भन्छिन् ।

अहिलेको पुस्तामा धेरै भजन गाउने ट्रेन्ड धेरै छैन । तर अडियन्सले राम्रो प्रतिक्रिया दिएपछि भने भिन्न सन्तुष्टि पाएको र भजन गायनलाई निरन्तरता दिएको सिम्पल बताउँछिन् । ‘गायिका हुनुमा मलाई यतिसारो गर्व कहिल्यै लागेको थिएन । तर भजन गाएपछि मलाई भिन्न खालको सन्तुष्टि भयो र खुसी पनि लाग्यो । अब भजन र अन्य जनराका गीतमा सन्तुष्टि मिलाउने प्रयास गर्दैछु,’ उनी भन्छिन् ।

परिवारको धार्मिक पृष्ठभूमिले आफू भजनतिर आकर्षित भएको सिम्पल बताउँछिन् । ‘सानैदेखि धर्मकर्ममा रुचि राख्छु । अचानक दिमागमा भजन गाऊँ कि भन्ने आयो । हाम्रो रहनसहन पनि सानैदेखि त्यस्तै भयो । ठूलो हुँदै आउँदा मैले यस क्षेत्रतर्फ अझै धेरै बुझ्न थालें । म सबै भगवानलाई मान्छु । देख्दाखेरि श्रीकृष्णको भजन बढी गाएको देखिन्छ,’ उनले भनिन् ।

आफूलाई एक्स्प्लोर गर्न हिन्दी भाषा

सिम्पललाई लाग्छ, संगीतकर्मीका लागि भाषा महत्वपूर्ण कुरा हो । उनी जति धाराप्रवाह ढंगले नेपाली र हिन्दी बोल्छिन्, उत्तिकै अंग्रेजी पनि । नेपालीबाहेकका अरु भाषामा ‘स्वीच’ हुनुमा आफू कुनै एक विधामा मात्र सीमित नरहने स्वभावलाई उनी कारण मान्छिन् । ‘नेपालमा मात्र नगाउनुको कारण के भने म म्युजिक, एक्टिङदेखि कम्पोज सबै आफैं गरिराखेकी हुन्छु । केही हदसम्म संगीत क्षेत्र एक्सप्लोर पनि गरेकी हुँ,’ उनी भन्छिन् ।

संगीत क्षेत्रलाई बुझ्ने र अध्ययन गर्ने सिलसिलामा आफूले भिन्न भाषामा गीत गाएको उनी बताउँछिन् । ‘मैले कतिसम्म गर्न सक्छु भनेर एस्क्प्लोर गरेकी हुँ । मलाई बाहिरबाट दबाब छैन । जुन क्षेत्रमा जान मन लाग्यो, आफ्नो मर्जीले गरिराख्या छु,’ सिम्पल भन्छिन्, ‘भोलि गएर अर्को भाषामा पनि गाउन सक्छु । भविष्यमा अंग्रेजी पनि गाउन सक्ने सम्भावना छ ।’

सानैदेखि भाषा सिक्न रुचि राख्ने स्वभावले पनि आफूलाई संगीतकर्ममा अघि बढ्न मद्दत मिलेको उनको भनाइ छ । ‘हिन्दी मात्र होइन, मलाई अरु भाषा पनि आउँछ । म सानैदेखि हिन्दीमा फ्लुएन्ट थिएँ,’ उनले भनिन् ।

भारतीय अडियन्सले आफूलाई राम्रो स्वीकार्यता दिएको उनी बताउँछिन् । ‘इण्डियाबाट जुन एसेप्टेन्स मैले पाएकी थिएँ । जुन मैले आशा गरेकी थिइनँ । उसै पनि इण्डियामा स्वीकार्यता पाउन मुस्किल छ,’ सिम्पल भन्छिन्, ‘जति माया नेपालमा दिनुहुन्छ, संगीतमा भारतबाट त्यत्तिकै तहको माया दिनुभएको छ । अहिले नेपाल र भारतमा मेरा अडियन्स उत्तिकै हुनुहुन्छ ।’

अनि आफै कम्पोज गर्न थालिन्

सिम्पलको कुरा सुन्दा लाग्छ उनी ‘एक्सिडेन्ट्ली’ संगीतकर्मी हुन् । कोभिड लकडाउनपछि मात्र उनले संगीतलाई गम्भीरतासँग लिन थालेकी हुन् । ‘त्यो टाइममा कम्पोजमा हात हालेकी थिइनँ । एक दुई प्याराग्राफ गीत लेख्थें । लकडाउनपछि प्रयास गर्दा सक्ने रहेछु भन्ने लाग्यो,’ उनी सुनाउँछिन्, ‘म आफ्नो कामका लागि आफूमा निर्भर हुने स्वभावकी छु ।’

यही स्वभावले उनलाई गाउन र संगीत भर्न मात्र होइन, गीत पनि आफैं लेख्न प्रेरित गर्‍यो । ‘मलाई बाहिर घुलमिल हुन र काम गर्न अप्ठेरै छ । फोन लिएर बसें भने कम्पोज लिरिक्स आफैं आइरहेको हुन्छ । अरुलाई ब्लेम गर्नभन्दा आफैं किन नगर्ने भनेर गर्न खोजेकी हुँ,’ उनले भनिन् ।

सिम्पल टिकटक पनि चलाउँछिन् । उनका लागि टिकटक ‘कन्टेन्ट क्रिएसन’का लागि राम्रो प्लाटफर्म पनि हो । तर सरकारले बन्द गरेपछि भने उनलाई केही असर पर्ने नै भयो । ‘धेरै प्रभाव त परेन । एकतिर बन्द भएपनि अन्यतिर निरन्तर छ,’ उनी भन्छिन्, ‘प्रभाव पर्‍यो तर पर्सनल्ली प्रभाव परेन ।’

पछिल्लो समय नेपाली श्रोता निकै स्मार्ट भएको उनको अनुभव छ । धेरै विकल्प हुँदा यसले संगीतकर्मी र श्रोता दुवैलाई फाइदा गरिरहेको उनको बुझाइ छ । यसले आफूलाई ‘एक्स्प्लोर’ गर्ने मौका पनि दिएको सिम्पल बताउँछिन् ।

‘धेरै अप्सन हुँदा अडियन्सले स्वीकार्ने क्रम बढेकाले भविष्यमा अझै राम्रो हुन्छ होला । संगीतकर्मीको लागि मैले आफूलाई बुझ्ने र सिक्ने क्रम पनि जारी छ,’ उनी भन्छिन् । फिल्म गायनमा आउने उनको योजना छैन । सानोमा अभिनयमा रुचि रहेपनि यतिबेला नभएको उनी बताउँछिन् । अबको पाँच-छ वर्षसम्म संगीतमै ध्यान दिने सिम्पलको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?