+
+

भर्ना प्रक्रिया पारदर्शी बनाउन ३ स्कुललाई शिक्षामन्त्रीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १७:११

१४ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ स्कुलका प्रिन्सिपलहरूलाई आग्रह गरेकी छन् ।

नयाँ शैक्षिक सत्रका लागि भर्ना आह्वान भएका बेला प्रिन्सिपलहरूलाई मन्त्रालयमा बोलाएर मन्त्री श्रेष्ठले विधि र प्रक्रियालाई विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी लिन आग्रह गरेकी हुन् ।

‘तपाईंहरूका विद्यालयले भर्ना खोलेपछि धेरैले भनिदिनु पर्‍यो भनेर दबाब दिइरहनु भएको छ । मलाई जानकारी भएअनुसार मन्त्री, सचिव, महानिर्देशक, जिल्लाका प्रशासक र प्रहरी प्रमुखलगायतको कोटाका आधारमा भर्ना हुन्छ रे’ मन्त्री श्रेष्ठले भनिन्, ‘विगतमा त्यस्तो विकृति थियो भने पनि अब अन्त्य गर्नुपर्छ । भनसुन र पहुँचका आधारमा हुने भर्ना बन्द गर्नुहोला ।’

छलफलमा तीनवटै विद्यालयका प्रिन्सिपलले भर्ना छनोट प्रक्रियाबारे जानकारी गराउँदै विगतमा प्रधानमन्त्रीसम्मको तहबाट दबाब आएको गुनासो गरेका थिए ।

मन्त्री श्रेष्ठले विगतमा जे भए पनि अबदेखि पहुँचका आधारमा भर्ना नलिन र स्थानीय सरकारसँग पनि पर्याप्त समन्वय गर्न आग्रह गरिन् । ‘गरिब र निम्नस्तरका विद्यार्थीलाई प्राथमिकता दिनुहोला,’ मन्त्री श्रेष्ठले भनिन् ।

शिक्षामन्त्री श्रेष्ठले आफ्नो वा मन्त्रालयको नाम दुरुपयोग गरेर कसैले भर्नाका लागि दबाब दिए जानकारी गराउनसमेत आग्रह गरेकी छन् ।

छलफलमा सेन्ट जेभियर्स स्कुलले ४ वर्ष अघिदेखि गोलाप्रथाबाट भर्ना लिन थालेको बताएको छ । सेन्ट मेरिजले अघिल्लो वर्ष अभिभावकसँगको अन्तर्क्रियाका आधारमा भर्ना लिइएको र बूढानीलकण्ठ स्कुलका प्रिन्सिपलले योग्यतामा आधारमा भर्ना लिने गरिएको जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?