+
+

किन आलोचित र ट्रोल बनेका छन् हार्दिक ?

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० चैत १४ गते २०:३८

१४ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपील) २०२४ मा मुम्बई इन्डियन्सका कप्तान तथा अलराउन्डर हार्दिक पाण्ड्या निकै चर्चामा छन् । सामाजिक सञ्जालमा उनको ट्रोल बनेको छ भने समर्थक र शुभचिन्तकले आलोचना र गाली गरेका छन् ।

कतिसम्म भने अघिल्लो साता ट्वीटरमा रिप हार्दिक पाण्ड्या टेन्ड्रिङमा थियो । आइतबार राति मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच खेलमा उनी थप ट्रोल बने । गुजरातको घरेलु मैदान अहमदावादमा झण्डै १ लाख दर्शक थिए । यसअघि दुई वर्ष अहमदावादमा समर्थकबाट हाई हाई पाएका हार्दिक आइतबार राति लगातार समर्थकको विरोधमा परे ।

गुजरातविरुद्ध हार्दिकले फिल्डिङ मिलाउने क्रममा औंला देखाउँदै रोहित शर्मालाई पछाडि जान सुझाव दिएका थिए । रोहित मुम्बईको सफल कप्तान र आफूभन्दा वरिष्ठ खेलाडी भएकाले हार्दिकले बिनम्र तरिकाले पनि भन्न सक्थे ।

तर उनले रोहितप्रति गरेको व्यवहार धेरै क्रिकेट समर्थकलाई मन परेन । रोहित आफैं अचम्ममा पर्दै कसलाई भनेको भनेर उल्टै सोधेका थिए । हार्दिकले रोहितलाई कप्तानी सिकाएको र सिनियरको सम्मान नगरेको भन्दै समर्थक थप रुष्ट बनेका थिए ।

विभिन्न चित्रमा उनको ट्रोल बन्नेक्रम रोकिएको छैन । हार्दिकले गुजरातविरुद्ध सुरुवाती दुई ओभर आफैंले बलिङ गरे । जस्प्रित बुमराह, जेराल्ड कोट्जी र ल्यूक वुड जस्ता खेलाडी टोलीमा भएपनि आफैं पहिला बलिङ गरेको भन्दै आलोचना खेपे । आउट हुँदा होस् वा बलिङमा चौका खाँदा, हार्दिकलाई यति बेला केही गरेपनि जस छैन । हरेक कुरामा समर्थकले खुब उडाएका छन् ।

गुजरातविरुद्ध खेलको दौरानमा कुकुर रंगशाला भित्र छिरेको थियो । मैदान वरीपरी कुकुर घुमेर हिँड्दा दर्शकले हार्दिक हार्दिक भनेर चिच्याएका थिए ।

हार्दिक चर्को आलोचनामा पर्नुको मुख्य कारण रोहितको कप्तानी स्थान लिनु हो । अर्को गुजरातको सहमतिबिना मुम्बई फर्किनु थियो ।

मुम्बईका समर्थक दुई धारमा छन् । केही समर्थक मुम्बईले जित्दा भन्दा हार्दा खुसी हुने अवस्था आएको छ । कतै खेलाडी पनि दुई धारमा हुने हुन् कि भन्ने डर पनि छ । पहिलो खेलमा मुम्बई गुजरातसँग ६ रनले पराजित भएको थियो ।

सफल कप्तानको अस्वभाविक परिवर्तन

चेन्नई सुपर किंग्सका महेन्द्रसिंह धोनीपछि मुम्बईका रोहित शर्मा आईपीएलका सर्वाधिक सफल कप्तान हुन् । यी दुबै कप्तानले समान ५ उपाधि जिताएका छन् ।

टिम सफलतामा मुम्बई भन्दा चेन्नई अगाडि छ । सन् २०२२ मा धोनीले कप्तानी छाडेर रवीन्द्र जडेजालाई दिएका थिए । तर जडेजाकै आग्रहमा धोनी प्रतियोगिता बीचमै नेतृत्वमा फर्किएका थिए ।

धोनी आफैंले यस सिजनदेखि ऋतुराज गायकवाडलाई कप्तानको जिम्मेवारी दिएका छन् । ऋतुराज कप्तान भएपनि धोनीले आफ्नो भूमिका छाडेका छैनन् । ऋतुराज भन्दा बढी कप्तानी अहिले पनि धोनीले नै गरेका छन् ।

तर मुम्बईले रोहितसँग राम्रोसँग सल्लाह नगरी कप्तान परिवर्तन गरेको थियो । जस्प्रित बुमराह र सूर्यकुमार यादव लगायत केही खेलाडीहरुले हार्दिकलाई कप्तान बनाएकामा त्यतिबेला नै सांकेतिक रुपमा विरोध गरेका थिए ।

मुम्बईले हार्दिकलाई फर्काउन खोजेको थियो । हार्दिकले कप्तानी पाएमा मात्रै फर्किने शर्त राखेका थिए । त्यसैले रोहितलाई मुम्बईले कप्तानबाट हटाएको थियो । सन् २०१३ मा रिकी पोन्टिङले बीचमै कप्तानी छाडेपछि रोहितले नेतृत्व सम्हाल्लेका थिए । त्यसै वर्ष फाइनलमा चेन्नईलाई २३ रनले हराउँदै मुम्बईले पहिलो पटक उपाधि जितेको थियो ।

त्यसपछि मुम्बईले रोहितको कप्तानीमा सन् २०१५, २०१७, २०१९ र २०२० मा उपाधि जितेको थियो । मुम्बई २०२१ मा पाँचौं स्थान, २०२२ मा पुछार र गतवर्ष प्लेअफबाट बाहिरिएको थियो । सन् २०२२ को मेगा अक्सनपछि मुम्बईले पुनः राम्रो टिम निर्माण गर्न सकेको छैन ।

रोहितको कप्तानीमा मुम्बईले १५८ खेलमा ८७ खेल जितेको छ । उक्त नतिजा धोनीले २२६ खेलमा १३३ जितपछि धेरै हो । मुम्बईको उक्त निर्णयपछि रोहितले आईपीएल नै नखेल्नेसम्म आकलनहरु भएका थिए । तर रोहितले आईपीएल खेलेका छन् ।

पदको लोभमा फसेका हार्दिक

गुजरातको सुरत सहरमा मध्यमवर्गीय परिवारमा जन्मिएका उनलाई हार्दिक बनाउन रोहित र मुम्बई दुबैको भूमिका महत्वपूर्ण छ । गल्ली क्रिकेटमा राम्रो प्रभाव छाडेका उनलाई २०१५ मा मुम्बईले न्यूनतम १० लाख भारुमा किनेको थियो । मुम्बई आउनुअघि उनलाई चिन्ने निकै कम थिए ।

मुम्बईको टोलीमा राम्रो प्रभाव छाडेपछि २०१६ मा अष्ट्रेलियाविरुद्ध टी–२० आई टोलीमा डेब्यू गरेका थिए । त्यसपछि हार्दिकले अलराउन्ड प्रदर्शन गर्दै प्रमुख अलराउन्डर बनेका थिए ।

सन् २०२१ को आईपीएलपछि मेगा अक्सनमा मुम्बईले उनलाई सरप्राइज रुपमा रिलिज (टोलीबाट फुकुवा) गरेको थियो । उनले सन् २०२२ मा गुजरातको कप्तानी गर्दै उपाधि जिताए । डेब्यू कप्तानीमा टिमलाई च्याम्पियन बनाएपछि रोहितले विश्राम पाएका केही खेलहरुमा हार्दिकले नेतृत्व गरेका थिए । सन् २०२३ मा गुजरात फाइनलमा पुगेको थियो ।

त्यसपछि हार्दिक मुम्बईमा फर्किदा कप्तानको लोभमा परे । उनी मैदान छिर्दा सिक्सको आवाज उठाउने समर्थक अहिले रिप लेख्न थालेका छन् । हार्दिक जसको कप्तानीमा हुर्किए र निखारिए पछि उनकै स्थान लिए ।

अर्कोतर्फ रोहित भारतीय टोलीका कप्तानसमेत हुन् । अन्य कुनै खेलाडीले आईपीएलमा राम्रो गर्दा रोहितले टी–२० विश्वकपमा हार्दिकको रिप्लेसमेन्ट भेटिएको ट्रोल पनि यत्रतत्र छ ।

छक्का हान्दा पनि आलोचना

गत अगष्टमा वेस्टइन्डिज भ्रमणमा तेस्रो खेलमा जितको लागि भारतले १६० रनको लक्ष्य पछ्याएको थियो । भारतलाई ८ बलमा १ रन चाहिएको थियो ।

१९ औं ओभरको चौथो बलमा तिलक बर्मा एक रन बटुलेपछि व्यक्तिगत ४९ रनमा पुगेका थिए । पाँचौं बलमा कप्तान हार्दिकले छक्का हान्दै खेल जिताए । तिलकलाई अर्धशतक बनाउन नदिएको भन्दै उनको आलोचना भएको थियो ।

सन् २०१४ को टी–२० विश्वकप सेमिफाइनलमा भारतलाई जितको लागि ७ बलमा १ रन चाहिएको थियो । १९ औं ओभरको अन्तिम बलमा धोनीले सहज बलमा पनि एक रन बटुलेनन् ।

त्यसको मुख्य कारण ६८ रन बनाएका कोहलीलाई फिनिस गर्न दिएका थिए । कप्तान भएपछि धोनी जस्तो हुनुपर्ने भन्दै हार्दिक आलोचित भएका थिए ।

एजेन्सीहरुको सहयोगमा

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?