+
+

सीमा पारि पुर्‍याएर आफ्नैबाट हत्या, अनुसन्धानमा चुनौती

सीमा क्षेत्रमा आउजाउ गर्नेको विवरण राख्न विज्ञको सुझाव

नेपाल र भारतका नागरिकलाई एकअर्काको मुलुकमा लगेर आफ्नै देशका मानिसले हत्या गर्ने प्रवृत्ति पछिल्लो समय अपराध अनुसन्धानमा चुनौतीका रुपमा देखा पर्दैछ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८० चैत १७ गते १८:५२
चितवनमा बोह्राभित्र भेटिएको भारतीय नागरिकको शव निकाल्दै प्रहरी । फाइल तस्वीर ।

१६ चैत, काठमाडौं । भारत, उत्तर प्रदेशको सिद्धार्थनगरमा १२ मंसिर २०७९ मा हातखुट्टा बाँधेर हत्या गरिएको अवस्थामा एक जना महिलाको शव भेटियो । नेपालसँगको सीमा क्षेत्रबाट केही दूरीमा महिलाको शव भेटिएकाले मोहना थानाका अधिकृतहरुले इलाका प्रहरी कार्यालय, लुम्बिनीसँग अनुसन्धानका लागि समन्वय गरे ।

लुम्बिनीमा त्यसबेला इञ्चार्ज रहेका इन्स्पेक्टर गजेन्द्र रावलका अनुसार, जाँचका क्रममा भारतमा मृत फेला परेकी महिला रुपेन्देहीको मायादेवी-१, धमौलीकी सरोज लोध भएको पुष्टि भयो । अनुसन्धानले हत्यामा उनकै श्रीमान सञ्जय लोध संलग्न रहेको देखायो ।

दुई महिनापछि पक्राउ पर्दा उनले श्रीमती सरोजलाई डफलीपुरमा मेला हेर्न जाउँ भन्दै लगेर हत्या गरेको खुल्यो । प्रहरीका अनुसार, सञ्जय पहिले पनि जेठी श्रीमती हत्या गरेको आरोपमा ८ वर्ष जेल सजाय कटाएर छुटेका थिए ।

‘भारतमा हत्या गर्दा नेपाल प्रहरीले पत्ता लगाउन नसक्ने सोचेर उनी निस्फिक्री हिँडडुल गरिरहेका रहेछन्’, रावल भन्छन्, ‘तर, भारतीय प्रहरीसँगको समन्वयमा पक्राउ गर्न सफल भयौं ।’

सञ्जयले जस्तै अपराध लुकाउन र कारबाहीबाट उम्कन सकिन्छ कि भन्ने सोचेले सीमा पार ल्याएर व्यक्ति हत्या गर्ने शैली तराईका जिल्लामा बढ्दो छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख टेकबहादुर तामाङका अनुसार, सीमा पार गरेर हुने हत्याको अनुसन्धान चुनौतीपूर्ण हुने भएकाले आपराधिक मानसिकताहरुले यो शैलीलाई पछ्याउने क्रम देखिएको छ ।

प्रहरी प्रधान कार्यालयमा गएको ८ माघमा आयोजित अपराध अनुसन्धान समीक्षा गोष्ठीमा समेत तामाङले यो विषय उठाएका थिए । ‘सीमा वारपार आएर हुने हत्याका घटनाहरु तराईका जिल्लाका बढेका छन्, यसलाई रोक्न भारतीय सुरक्षा अधिकृतहरुसँग समन्वय गरेर प्रहरी चनासो हुनुपर्ने देखिन्छ’, उनले भनेका थिए ।

प्रहरी प्रधान कार्यालयका अनुसार, नेपालका नागरिकले भारतमा लगेर र भारतकाले नेपालमा ल्याएर पछिल्लो १० वर्षमा ३२ जनाको हत्या गरेको तथ्यांक छ । कतिपय पहिचान नखुलेका शवको अनुसन्धान अलपत्र भएकाले यो संख्या अझै बढी पनि हुनसक्छ ।

आर्थिक वर्ष २०७०/७१ अहिलेसम्मको अवधिमा २० भारतीय र १२ नेपालीको सीमा पार लगेर हत्या भएको विवरण छ ।

जो नेपाल ल्याएर भारतीयबाटै मारिए

६ मंसिर २०८० मा चितवनको भरतपुर महानगरपालिका-१२ मिलनचोकको कल्भर्टमा बोराभित्र महिला र एक पुरुषको शव भेटिएको थियो । आधा सडिसकेको अवस्थामा फेला परेको उक्त शवको लामो समयसम्म पहिचान हुन सकेन ।

क्लोज सर्किट (सीसी) क्यामेरामा साइकलमा बोरा लोड गरेर कल्भर्टमा फालेको दृश्य कैद भएपछि प्रहरी अनुसन्धानले गति लियो । त्यही आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरी हत्या गरिएको घरसम्म प्रहरी पुगेको थियो ।

बोराभित्र भेटिएको शव भारतकै मोतिहारी फूलबारी सुगौलीका १९ वर्षीय  ऋषभकुमार कुशवाह र भारत बिहारको पूर्वी चम्पारणकी ३० वर्षीया अस्मिता भनिने सन्जु देवी भएको खुल्यो ।

दुवैको हत्या सन्जुदेवीका श्रीमान् ३३ वर्षीय अखिलेश भगतले गरेको अनुसन्धानबाट देखियो । भगतले श्रीमती र भतिजबीच प्रेम सम्बन्ध रहेको थाहा पाएपछि २ मंसिरमा हत्या गरेको प्रहरीको भनाइ छ । यद्यपि, भगत भारतमा अर्को मुद्दामा थुनामै रहेकाले उनलाई पक्राउ गर्न प्रहरीले सकेन ।

चितवनको घटना जस्तै भारतीय नागरिकलाई नेपाल ल्याएर भारतीयबाटै अहिलेसम्म २० जनाको हत्या भएको नेपाल प्रहरीको तथ्यांक छ । तथ्यांक अनुसार, सबैभन्दा बढी बारामा पाँच भारतीय नागरिकलाई ल्याएर हत्या गरिएको देखिन्छ ।

बारामा ल्याएर २८ चैत २०७३ मा एक भारतीय व्यक्तिको हत्या गरिएको घटना सार्वजनिक भएको थियो । अझैसम्म यसको अनुसन्धान टुंगोमा पुगेको छैन । ८ पुस २०७९ मा भएको भारतीय नागरिक ४५ वर्षीय शिवपुजन यादवको हत्यामा संलग्न केही आरोपीलाई भने प्रहरीले भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएको थियो ।

पछिल्लो पटक ९ असोज २०८० मा भारतीयलाई भारतीय नागरिकले नै गोली हानी हत्या गरेका थिए, यसमा संलग्न देखिएकाहरुलाई भने प्रहरीले पक्राउ गरेको थियो ।

सर्लाहीमा पछिल्लो एक दशकमा ३ भारतीय नागरिकको हत्या भएको छ । १६ वैशाख २०८० मा सर्लाहीमा ल्याएर भारत, सीतामढीका २७ वर्षीय सिकु कुमारको घाँटी रेटी हत्या गरिएको थियो ।

हत्या आरोपमा भारत सीतामढी सोनवर्षा ग्रामपञ्चायतका २५ वर्षीय मनिष चौधरी र २६ वर्षीय राजेश महतो पक्राउ परेर जेल चलान भएको तत्कालीन एसपी नरेशराज सुवेदी बताउँछन् ।

अपराध गरेर भाग्न, लुक्न सहज हुने, अनुसन्धानलाई जटिल बनाउन सकिने भएकाले सीमा पार लगेर हत्या गर्ने प्रवृत्ति बढ्दै गएको छ।

उनका अनुसार, व्यापारिक कारोबार गर्ने क्रममा एकअर्काबीच अविश्वास भएपछि योजनाबद्ध तरिकाले सर्लाही ल्याएर हत्या गरेको अनुसन्धानबाट खुलेको थियो ।

पर्सामा १० वर्षको अवधिमा ३ भारतीयलाई भारतीय नागरिकले नै हत्या गरेका छन् । २८ असार २०७१ मा एक विद्यार्थी, १६ फागुन २०७६ मा एक नाबालकलाई भारतबाट पर्सा ल्याएर भारतीय नागरिकले नै हत्या गरेका थिए ।

पछिल्लो पटक ८ मंसिर २०८० मा एक भारतीय महिलालाई पर्सा ल्याएर भारतीयले नै हत्या गरेका थिए । उक्त हत्याकाण्डका आरोपी भारतीय नागरिक अहिलेसम्म प्रहरीको नियन्त्रणमा आउन सकेका छैनन् ।

धनुषामा र चितवनमा २, महोत्तरी, रौतहट, कास्की, बाँके र पश्चिम नवलपरासीमा १/१ जना भारतीय नागरिकको हत्या भएको प्रहरीको तथ्यांक छ । उनीहरुलाई पनि भारतीय नागरिकले नै नेपाल ल्याएर हत्या गरेका थिए ।

नेपालबाटै भारत लगेर मारिएका १२ नेपाली

 भारतीयले भारतीय नागरिकलाई नै नेपाल ल्याएर हत्या गरेजस्तै नेपालीले नै नेपाली नागरिकलाई भारत लगेर हत्या गरिएका घटनाहरु पनि थुप्रै छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार पछिल्लो १० वर्षको अवधिमा १२ नेपाली नागरिकलाई भारत लगेर नेपालीले नै हत्या गरेका छन् ।

१७ भदौ २०७८ मा वेपत्ता भएका सिरहाको गोलबजारका नगरपालिका-४ निपनियाँका ४० वर्षीय दुखरण महराको १९ भदौमा भारतको बिहार मधुवनीको जयनगर बजार नजिक शव फेला परेको थियो । यो घटनामा संलग्नता देखिएपछि उनकै श्रीमती हरिहरदेवी यादव महरा पक्राउ परेकी थिइन् ।

प्रहरी अनुसन्धानका क्रममा उपचारको बहानामा श्रीमानलाई जयनगर पुर्‍याएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको सिरहाका तत्कालीन डीएसपी सुवास बुढाथोकी बताउँछन् ।

दुखरणको जसरी अहिलेसम्म मधेश प्रदेशका १० नेपालीले ज्यान गुमाएका छन् भने लुम्बिनी प्रदेशका २ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी सिरहामा ३ नेपालीलाई भारत लगेर नेपालीले नै हत्या गरेको देखिन्छ ।

साङ्केतिक तस्वीर

सिरहाको धनगढीमाई नगरपालिका-६ का सुभाषकुमार यादवलाई भारतको मधुवनीमा लगेर ८ फागुन २०७५ मा मारिएको थियो । सिरहाको सिरहा नगरपालिका-१५ सुखचैना गाउँकी ३० वर्षीया सञ्जिता यादवको पनि ७ मंसिर २०८० मा यही शैलीमा हत्या भएको थियो ।

यसको दुई दिनपछि हत्यामा संलग्नता देखिएको भन्दै सिरहाको माडरबाट ९ मंसिरमा उनका श्रीमान् ४० वर्षीय देवेन्द्र यादव पक्राउ परेका थिए ।

पर्सा र बाराका २ नेपालीलाई भारत पुर्‍याएर नेपालीले नै हत्या गरेको प्रहरीको तथ्यांक छ । रौतहट, धनुषा, सर्लाही, बाँके र रुपन्देहीका १/१ नेपालीलाई भारत पुर्‍याएर हत्या गरेको प्रहरीको रेकर्ड छ ।

नेपालीलाई भारत लगेर नेपालीले हत्या गर्नुमा आपसी रिसइबी र अपहरणपछि फिरौती माग्ने उद्देश्य मुख्य कारण देखिने एआईजी तामाङ बताउँछन् । नेपाल प्रहरीका पूर्वएआईजी बमबहादुर भण्डारी पनि अपराध गरेर भाग्न, लुक्न सहज हुने, अनुसन्धानलाई जटिल बनाउन सकिने भएकाले सीमा पार हत्याका घटनाहरु हुने गरेको बताउँछन् ।

‘पहिला सीमा वारी-पारीका अपराधीबीच वा तस्करबीच द्वन्द्व हुँदा सीमा पार हत्या हुन्थे, अहिले त्यस्तो सुनिँदैन’, प्रहरीको विशेष ब्यूरोमा लामो समय बसेर अवकाश पाएका भण्डारी भन्छन्, ‘अहिले विशेष गरी व्यक्तिगत रिसइबी र अपराध लुकाउने मनसायले सीमा पार हत्या भएको देखिन्छ ।’

बहिक्षेत्रीय अधिकारले नेपालबाटै मुद्दा

मुलुकी फौजदारी अपराध संहिता २०७४ जारी हुनुभन्दा पहिला विदेशमा नेपाली नागरिकले नेपालीलाई नै हत्या गरे पनि नेपाल प्रहरीले अनुसन्धान गरेर मुद्दा चलाउन सक्ने प्रावधान थिएन । सम्बन्धित देशले मात्रै अनुसन्धान गरेर मुद्दा चलाउन सक्थ्यो ।

१ भदौ २०७५ मा लागू भएको अपराध संहिताभन्दा अघि भारतमै नेपालीले नेपालीलाई हत्या गरे पनि भारतीय प्रहरीले अनुसन्धान गरेर मुद्दा चलाउनुबाहेक उक्त घटनामा नेपाल प्रहरीले केही गर्न सक्ने अवस्था थिएन ।

१ भदौ २०७५ भन्दा अघि सीमा पार गरी भारत लगेर नेपालीबाट नेपालीको हत्या भएको घटनामा भारतबाटै मुद्दा चल्दै आएको थियो । तर अपराध संहितामा भने प्रहरीले बहिक्षेत्रीय अधिकार प्रयोग गर्नसक्ने प्रावधान राखेपछि अहिले भारतमा नेपालीबाट नेपालीकै हत्या भएका घटनामा नेपाल प्रहरीले अनुसन्ध्ाान गरेर नेपालमै मुद्दा चलाउँदै आएको छ ।

अपराध संहिताको परिच्छेद १ को दफा २ मा ‘कुनै नागरिकले नेपालबाहिर कुनै कसुर गरेमा नेपालभित्रै गरे सरह मानेर कारबाही गरिने’ उल्लेख छ । भनिएको छ, ‘कुनै नेपाली नागरिकले नेपालबाहिर रहेको कुनै नेपाली नागरिकविरुद्ध ज्यान लिए, ज्यान मार्ने उद्योग गरे, षड्यन्त्र गरे, अंगभंग गरे, अपहरण शरीर बन्धक तथा गैरकानूनी थुनामा राखे, बलात्कार गरेमा नेपालभित्रै गरे सरह मानेर कारबाही गरिने छ ।’

तराईका जिल्लाबाट सीमा पार गरी भारत पुर्‍याएर भएका नेपालीबाट नेपालीकै हत्या घटनामा प्रहरीले यही अधिकार प्रयोग गर्दै अहिले मुद्दा चलाइरहेको छ ।

सीमा पारे गरेर हत्या गरेर उम्कन खोज्नेलाई कानूनी दायरामा ल्याउन अपराध संहितामा यो दफा महत्वपूर्ण साबित हुँदै आएको अधिकृतहरु बताउँछन् । यही प्रावधानका आधारमा मलेसियामा नेपालीले नेपालीलाई नै गरेका हत्या घटनामा समेत जिल्ला प्रहरी परिसर काठमाडौंले एक जनालाई समातेर मुद्दा चलाएको थियो ।

यस्ता अपराध रोक्न सीमामा खटिने युनिटले नियमत रुपमा भारतीय पक्षसँग समन्वय गर्नु जरुरी हुने पूर्वएआईजी बमबहादुर भण्डारी बताउँछन् । ‘सीमामा खटिने दुई देशका प्रहरी, भन्सार, अध्यागमन, सशस्त्र, कर्मचारी, स्थानीयसँग समन्वय नगरी यस्ता घटनाको न्यूनकिरण र सफल अनुसन्ध्ाान हुन सक्दैन’, उनी भन्छन् ।

नेपाल प्रहरीका पूर्वडीआईजी पिताम्बर अधिकारी भण्डारीको कुरामा सहमत छन् । भन्छन्, ‘सीमामा स्क्रीनिङ गरेर आउने जानेको पूर्ण विवरण राख्ने र निश्चित ठाउँहरुबाट मात्रै आउजाउका व्यवस्था गर्नु गरेर यस्ता अपराध नियन्त्रण र अनुसन्धानमा सहज हुन्छ ।’

नेपाल-भारतबीच सुपुर्दगी सन्धि समेत नभएको अवस्थामा यस्ता अपराधविरुद्ध लड्न दुवै मुलुकले आपसी समन्वयलाई बलियो बनाउनको विकल्प नहुने उनी बताउँछन् ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?