+
+

बागमती सरकारमा फर्कियो एमाले, थपलिया बने आर्थिक मामिलामन्त्री

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८० चैत १७ गते १८:५६

१७ चैत, हेटौंडा । नेकपा एमाले बागमती प्रदेश सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शनिबार आर्थिक मामिला मन्त्रीमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई नियुक्त गरेका छन् ।

थपलियाले शनिबार साँझ नै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । थपलिया यसअघि २६ पुस २०७९ मा जम्कट्टेल मन्त्रिपरिषदमा आर्थिक मामिला मन्त्री थिए ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले छाडेर कांग्रेससँग सहकार्य गरेपछि बागमतीमा पनि एमालेका मन्त्रीहरुले साढे दुई महिनामै राजीनामा दिएका थिए । १० चैत २०७९ मा राजीनामा दिएर सरकारबाट बाहिरिएका थपलियाले गठबन्धन फेरबदलकै कारण फेरि मन्त्री बन्ने अवसर पाए ।

चितवनका थपलिया बागमती प्रदेशसभाको पहिलो कार्यकालमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका प्रमुख राजनीतिक सल्लाहकार थिए ।

मुख्यमन्त्री जम्कट्टेलले सत्ता समीकरणमा फेरबदल आएपछि दोस्रो पटक सरकार विस्तार गरेका हुन् । यसअघि १५ चैतमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गरेका थिए । अब भने १९ चैतमा विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।

नेकपा एमालेले नेपाली कांग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये ५ वटामा दाबी गरेको छ । रिक्त ६ वटा मन्त्रालयमध्ये एउटा हाम्रो नेपाली पार्टीका बज्राचार्यले लिइसकेका छन् । १२ सदस्यीय मन्त्रिपरिषदमा माओवादी केन्द्रले मुख्यमन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूवार्धार विकास मन्त्रालय र सामाजिक विकास गरी ४ वटा मन्त्रालय सम्हालिरहेको छ ।

नेकपा (एकीकृत समाजवादी)ले श्रम, रोजगार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिएको छ । अब बाँकी ४ वटा मन्त्रालयमा एमालेले दाबी गरेको एक सांसदले जानकारी दिए । कांग्रेसले सरकार छाडेपछि उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खानेपानी, उर्जा तथा सिचाईं मन्त्रालय र स्वास्थ्य मन्त्रालय मुख्यमन्त्री जम्कट्टेलसँग छ ।

प्रदेशमा झर्दा हात लाग्यो मन्त्री

थपलिया ४ मंसिर २०७९ मा भएको निर्वाचनमा चितवन-१ को प्रदेश क्षेत्र (१) बाट निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारमा दाबी गरेका उनले सुरेन्द्र पाण्डेले टिकट पाएपछि प्रदेशसभामा झरेका थिए ।

प्रदेशसभामा चुनाव जितेपछि उनले एकै कार्यकालमा दुई पटक मन्त्री हुने अवसर पाएका छन् । २० साउन २०१३ मा जन्मिएका थपलियाले २०२८ सालदेखि राजनीति सुरु गरेका थिए ।

दोलखाको खिमावती माविको स्ववियु सचिव बनेका थपलिया २०३२ सालसम्म कोअर्डिनेशन केन्द्रमा आबद्ध भइसकेका थिए । उनी २०३६ सालमा मीनभवन क्याम्पसको स्ववियु सभापति बनेका थिए ।

थपलिया २०३९ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को केन्द्रीय सचिव भए । ०४० सालदेखि ४ वर्षसम्म जेल जीवन बिताएका उनले लामो समय शिक्षण पेशामा बिताए । २०६५ सालदेखि २ वर्षसम्म उनी चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पसको प्रमुख थिए । थपलियाले व्यवस्थापन संकायमा स्नातकोत्तरसम्म अध्ययन पूरा गरेका छन् ।

लामो समय नेकपा एमाले चितवन जिल्ला कमिटीमा रहेर काम गरेका उनी २०७० देखि २०७४ सम्म ४ वर्ष एमाले जिल्ला कमिटी अध्यक्ष भएर काम गरे ।

१४ पुस २०७९ मा थपलिया नेकपा एमाले बागमती प्रदेश संसदीय दलकाे नेता चयन भएका थिए । थपलिया हाल नेकपा एमालेको केन्द्रीय सदस्य, भरतपुर महानगर पालिका इन्चार्ज एवं पार्टीको केन्द्रीय शिक्षा विभाग उप–प्रमुख छन् ।

लेखकको बारेमा
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?