+
+

बागमतीमा एमालेले भन्यो : कर्मचारी देखाएर सरकारले राजनीतिक बेइमानी गर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १९:२९

१५ माघ, हेटौंडा । नेकपा एमालेले आफ्ना प्रदेशसभा सदस्यको योजना बजेटमा समावेश नगरेर बागमती सरकारले राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ ।

मंगलबार बसेको बागमती प्रदेशसभा बैठकमा बोल्दै एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारले विपक्षी दलहरुसँग सांसदका योजना बजेटमा समावेश गर्ने सहमति गरेर पछि बेइमानी गरेको आरोप लगाएका हुन् ।

आफ्ना सांसदहरुको योजना बजेटमा समावेश गर्ने सहमति गरेर बजेट पारित गरिएको तर ७ महिनापछि धोका दिइएको थपलियाले बताए । `यति ठूलो राजनीतिक बेइमानी हुन्छ भनेर ठानेकै थिएनौं’, उनले भने ।

सरकार कर्मचारीलाई देखाएर दलहरुबीच भएको सहमति कार्यान्वयनबाट भागिरहेको एमाले नेता थपलियाले बताए ।

जनताका अपेक्षाअनुसारका योजना छुटेकाले प्रतिपक्षले समेट्न खोज्दा सरकारले भिख मागेको जस्तो व्यवहार गरेको उनको भनाइ छ । बजेटमा असमानताका कारण आफ्ना सांसदहरुले दुर्व्यवहार भोग्नुपरेको भन्दै थपलियाले राज्यको ढुकुटी एकलौटी बाँड्न नपाइने जिकिर गरे ।

उनले अझै दलहरुबीचको सहमति कार्यान्वयनको सम्भावना बाँकी नै रहेको भन्दै पालना गराएरै छाड्ने बताए ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमा आफूहरुको योजना नपरेको भन्दै एमाले र राप्रपाले प्रदेशसभा बैठक अवरोध गरेका थिए ।

त्यसपछि दलहरुबीच सांसदहरुको योजना बजेटमा समावेश गर्ने र बजेट पास गर्ने सहमति भएको थियो । तर सहमति अनुसार सांसदहरुको योजना बजेटमा समावेश नगरिएको भन्दै एमाले र राप्रपाले सरकारको विरोध गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?